बिर्तामोड । समयमै बजेट उपलब्ध नगराएका कारण झापामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अपेक्षित प्रभावकारी नहुने भएको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिम समयमा मात्र बजेट उपलब्ध गराएका कारण यो कार्यक्रमले लिएको अपेक्षा पूरा नहुने देखिएको हो । जेठ १५ गतेमात्र रकम उपलब्ध भएका कारण कामदारलाई तोकिएको १ सय दिन काम लगाउन नसकिने भएको हो ।

केही स्थानीय तहलाई छोड्ने हो भने झापामा लगभग एक महिना बाँकी छँदासमेत सरोकारवालाले कामदार छनोट गर्न सकेका छैनन् । केहीले भने कामदार छनोट गरेर सम्बन्धित क्षेत्रमा परिचालन गरिसकेको बताएका छन् । काम शुरु भइसकेको भद्रपुर नगरपालिकामा पनि विनियोजित बजेट खर्च नहुने देखिएको छ । लगातार एक महिनासम्म काममा लगाए पनि भद्रपुरको २३ लाख रुपैयाँ खर्च हुने देखिन्छ भने अरू स्थानीय तहले भने त्यो पनि शुरु गर्न नसकेको पाइएको छ । उनीहरूले सशर्त पाएको अनुदानको ठूलो हिस्सा फ्रिज भएर जाने लगभग निश्चित छ ।

अधिकांश स्थानीय तहले भने अनुदानको रकम ‘बाँडफाँड गर्ने मेलो’ मात्र गरेको जस्तो देखिन्छ । युवालाई विकासका काममा परिचालन गर्नुपर्ने भए पनि वृक्षरोपण, शहर सरसफाई र झाडी फाँड्नका लागि परिचालन गर्ने तयारी गरेका छन् । वृक्षरोपणको सिजन भएका कारण अधिकांश स्थानीय तहले त्यस क्षेत्रमा परिचालन गर्न लागेका हुन् । उत्पादकभन्दा अनुत्पादक क्षेत्रमा युवा परिचालन र खर्च गरिने भएका कारण कार्यक्रमले लिएको लक्ष्य पूरा नहुने देखिएको हो । झापाका १५ स्थानीय तहमा ३ करोड ९८ लाख रुपैयाँ सशर्त अनुदान प्राप्त भएको छ । अनुदानको रकममध्ये आधामात्र खर्च गर्न सकिने गाउँपालिकाका एकजना प्रशासकीय अधिकृतले बताएका छन् ।

झापाको बिर्तामोड नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ सय ९० जनालाई रोजगार दिने भएको छ । नगरपालिकाले जेठको अन्तिम हप्तादेखि रोजगारी प्रदान गर्ने जनाएको छ । रोजगारीका १ हजार ६ सय ३७ जनाको आवेदन परेको रोजगार संयोजक होमनाथ भट्टराईले बताए । उनले छनोटमा परेका श्रमिकलाई श्रमसम्बन्धी विभिन्न विधामा तालिम दिएर काम लगाउने जानकारी दिए । छनोटमा परेका कामदारको परिचय–पत्र बनाउने काम भइरहेको भट्टराईको भनाइ छ ।

शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ४४ जनालाई रोजगार दिने भएको छ । नगरपालिकाले आसारको पहिलो हप्ताभित्रमा रोजगारी प्रदान गर्ने जनाएको छ । रोजगारीका लागि नगरभित्रबाट १६ सय आवेदन परेको थियो । जसमा १ सय ४४ जना छनोट भएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । छनोटमा परेका श्रमिकले नगरका वडा कार्यालय र नगरपालिका जोड्ने सडक मर्मत गर्ने, बजार क्षेत्र सरसफाई, तटबन्धन गरिएको स्थानमा वृक्षरोपण गर्ने, पर्यटकीय तथा सार्वजनिक स्थलहरुका झाडी–फोहोर सरसफाई गर्ने, सार्वजनिक भवनको रङरोगन कार्य गर्ने नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिकाले १ सय ७६ जनालाई रोजगार दिने जनाएको छ । दमकमा ३९ लाख रुपैयाँ सशर्त अनुदान प्राप्त भएको नगरपालिकाका रोजगार संयोजक राजेन्द्र खनालले बताए । सरकारले प्राथमिकताको क्षेत्रमा राखेका समुदायबाट कामदार छनोट गरिएको बताए । नगरले सरसफाई, वृक्षरोपण, विद्यालयको भवन मर्मतमा काम लगाउने योजना बनाएको छ । गौरादह नगरपालिकाले १ सय १७ जनालाई रोजगार दिने जनाएको छ । रोजगारीका लागि २ हजार ५ सय जनाले आवेदन भरेको रोजगार संयोजक पुष्प भण्डारीले बताए । चालु आर्थिक वर्षमा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारबाट २६ लाख रुपैयाँ सशर्त अनुदान बजेट प्राप्त गरेको बताएको छ ।

अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षमा २ सय ७० जनालाई रोजगारी दिने जनाएको छ । ३ हजार १ सय ४१ जनाले आवेदन भरेको रोजगार संयोजक केशव ढुङ्गेलले बताए । सञ्चालन गर्न नेपाल सरकारबाट ३० लाख रुपैयाँ प्राप्त भएको ढुङ्गेलको भनाइ छ । मेचीनगर नगरपालिकामा ४ हजार १ सय ६५ जनाले आवेदन दिएका छन् । झापाका अन्य स्थानीय तहभन्दा मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै बजेट प्राप्त भए पनि काम सुस्त छ ।

मेचीनगरमा कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारबाट ५६ लाख रुपैयाँ सशर्त अनुदान बजेट प्राप्त भएको रोजगार संयोजक कृपा रेग्मीले बताइन् । कनकाई नगरपालिकामा ९ सय १० जनाले आवेदन दिएका थिए । नगरपालिकाले कामदार छनोट गरिनसकेको रोजगार संयोजक सरोज मैनालीले जानकारी दिए । उनले वृक्षरोपण, पार्क तथा कुलो बनाउन श्रमिक परिचालन गर्ने बताए । नगरपालिकालाई कार्यक्रम सञ्चालन गर्न २० लाख रुपैयाँ सशर्त अनुदान आएको उनले बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा उक्त रकम खर्च गरिसक्ने योजना बनाएको उनले सुनाए ।
हल्दिबारी गाउँपालिकामा ४ सय ८० जनाले दरखास्त बुझाएका छन् । दरखास्त दिनेमध्ये ६३ जनालाई रोजगारी दिने हल्दिबारी गाउँपालिकाका रोजगार संयोजक सपना न्यौपानेले बताइन् । छनोटमा परेकालाई पहिलो चरणमा वृक्षरोपण र सामुदायिक विद्यालयमा रङरोगन गर्ने कार्यमा परिचालित गरिने गाउँपालिकाले जनाएको छ । बाह्रदशी गाउँपालिकामा लगभग १ हजार १ सय जनाले रोजगारका लागि आवेदन गरेका छन् । आवेदन गरेकामध्ये ७२ जनालाई रोजगारी दिने संयोजक सुजाता शाहले बताइन् । १२ लाख रुपैयाँ सशर्त अनुदान आएको बाह्रदशी गाउँपालिकाले वृक्षरोपण, सरसफाई र सडक निर्माणमा कामदार परिचालन गर्ने बताएको छ ।

झापा गाउँपालिकाले ७२ जनालाई चालु आर्थिक वर्षमा रोजगारी दिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सशर्त अनुदानमा प्राप्त भएको १६ लाख रुपैयाँले ७२ जनालाई रोजगारी दिने गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । उनले सडक मर्मत, बजार सरसफाई, वृक्षरोपण तथा बाँसको पुल निर्माण कार्यमा कामदारलाई परिचालन गर्ने जानकारी दिए । कमल गाउँपालिकामा १ हजार ३ सयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन गरेका थिए । २२ लाख सशर्त अनुदान प्राप्त भएको कमल गाउँपालिकाले १ सय जनालाई रोजगारी दिने तयारी गरेको अध्यक्ष मेनका काफ्लेले बताइन् । उनले सडक मर्मत, पालिका भवनको कम्पाउण्ड वाल लगाउने काममा परिचालन गर्ने जानकारी दिइन् । कमल गाउँपालिकामा बर्खेधान मरेको हुनाले जेटिएसँग समन्वय गराएर उनीहरूलाई कृषि प्रविधिमा दक्ष बनाउने प्रयास गर्ने बताइन् ।

गौरीगञ्ज गाउँपालिकामा १ हजार ८ सयले फर्म भरेको रोजगार संयोजक बेगम राईले जानकारी दिइन् । चालु आर्थिक वर्षका लागि १६ लाख सशर्त अनुदान पाएको गाउँपालिकाले प्राथमिकता क्षेत्रको आधारमा ७२ जना कामदार छनोट गर्ने जानकारी दिइन् । गौरीगञ्जले पनि सडक निर्माण, तारजाली बनाउन, सरसफाई र वृक्षरोपण गर्न कामदार परिचालन गर्ने बताएको छ । बुद्धशान्ति गाउँपालिकालमा २१ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । १ हजार ३ सय आवेदन दर्ता भएको बुद्धशान्ति गाउँपालिकाले ९५ जनालाई छनोट गरेर रोजगार दिने बताएको छ । बुद्धशान्तिले पार्क निर्माण, गाउँपालिका भवनमा रङरोगन, झाडी सरसफाइमा कामदार परिचालन गर्ने तयारी गरेको रोजगार संयोजक दिपा पोखरेलले जानकारी दिइन् ।

कचनकबल गाउँपालिकामा १९ लाख रुपैयाँ प्राप्त भएको छ । कचनकबलले अहिलेसम्म निवेदन समेत जम्मा गरिनसकेको कारण सङ्ख्या बताउन नसकिने अध्यक्ष अञ्जार आलमले बताए । उनले १ हजार ५ निवेदन परेको हुनसक्ने जानकारी दिए । निवेदनमध्ये ७२ जनालाई छनोट गरेर रोजगारमा लगाइने बताए । कचनकबलले झिल सफा गर्ने, सडक बनाउने, रङरोगन गर्ने र वृक्षरोपण गर्ने काममा कामदार परिचालन गर्ने तयारी गरेको आलमले बताए ।

झापाका प्राय सबै स्थानीय तहमा जस्तै वृक्षरोपण, सरसफाई, तटबन्धनलगायतमा कामदार परिचालन गर्ने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत झण्डै २७ हजार जनाले फर्म भरेको भए पनि चालु आर्थिक वर्षमा लगभग २ हजारले रोजगारी प्राप्त गर्ने निश्चित भएको छ । चालु आर्थिक वर्षमा समय अभाव भए पनि अर्काे वर्ष शुरुवातदेखि नै कामदार परिचालन गर्न सके कार्यक्रम उपलब्धीमुलक हुने देखिन्छ ।