ताप्लेजुङको खोक्लिङ गाविसमा जन्मिए पनि उनले थाहा पाउँदा सुनसरीको महेन्द्रनगर गाविस ६ नम्बर वडाको देवीघाटमा थिए । सानैमा उनलाई डोकोमा हालेर बुबा रत्नबहादुर कार्कीले मधेश ल्याए । रत्नबहादुरले पहाडको उकाली–ओरालीमा आफूले पाएको कष्ट छोराछोरीलाई दिन चाहँदैन थिए । सोही क्रममा दाजुसहितको ७ जनाको परिवारलाई मधेश झारे ।
त्यसैले पनि धनबहादुर मधेशको सुगमता, सहजतालाई मात्रै चिन्दछन् । प्रशस्तै उब्जनी हुने खेतीबारीको मात्रै उनलाई अनुभव छ । बुबा रत्नबहादुर राजनीतिक प्राणी भएकाले पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान थियो । त्यही ज्ञानकै कारण सायद रत्नबहादुरले छोराछोरी मधेश झरे होलान्, त्यसैले त धनबहादुरले ६–७ वर्षको उमेरबाटै औपचारिक शिक्षाको थालनी गरे । कखराको जग बस्यो । त्यही जगलाई टेकेर उनी कक्षामा पनि दोस्रोसम्म भए ।
२०२२ सालमा कक्षा टेक्दा उनको हातमा कालोपाटी र खरी साथमा हुन्थ्यो । उनीमात्रै हैन, अधिकांश साथीहरूको हातमा कालोपाटी र चक हुन्थ्यो । त्यो कालोपाटी चम्काउने प्रतिस्पर्धा हुन्थ्यो । कहिलेकाहीँ त कालोपाटी चम्काउन ब्याट्रीका कारण हातभरि कालो लाग्थ्यो । पोसाक हेरिनसक्नु हुन्थ्यो । हातमा झुण्डाएर स्कुल जाँदा सर्टको एकापट्टिको भागकालै हुन्थ्यो । आमालाई लुगा धुनमा सास्ती । ‘दैनिक गाली खाइने, आमाले लुगा धुँदा गाह्रो हुन्थ्यो क्यार,’ उनी भन्छन् ।
ती दिन रमाइला थिए । सिसु र कक्षा १ सम्म कालोपाटीकै साहारामा उनले कखरा, दुआई, अक्षर छिचोले । त्यसपछि भने हातमा कापी र सीसाकलम पर्यो । आमाका सास्तीका दिन केही कम भए । अक्षारम्भको जग वसन्तऋतु प्रावि हो । कक्षा–५ सम्म त्यही पढे । त्यसपछि भने महेन्द्र मावि । हरेक वर्ष बर्खाको बेलामा स्कुल छुट्टी हुन्थ्यो । उनी साथी भाइसँग गाईबस्तु हेर्न पुग्थे । त्यही सङ्गतका कारण कुनै बेला एक ढेड महिनासम्म स्कुल ‘बङ्क’ गर्न पुग्थे । ‘बुबा राजनीतिकर्मी भएकाले राजनीति गर्दै ठीक हुने, आमालाई छोराछोरी कता गए भन्ने पत्तै नहुने,’ – उनी भन्छन्, ‘पछि स्कुलका हेडसरले बुबालाई भनेपछि भने थाहा पाउनुभयो ।’
स्कुल बङ्कका ती दिनहरू अहिले पनि उनको मनमा ताजै छ । तर, त्यही बङ्क नै उनको स्कुले जीवनका लागि युटर्न बन्यो । उनी अहिले पनि ती प्रअ (पर्शुराम बजगाईं) लाई भुल्दैनन् । जसले स्कुलप्रतिको मोह जगाइदिए । ‘नत्र म त स्कुलबाट आउने बित्तिकै झोला थपक्कै फाल्यो, साथीभाइसँग पौडी खेल्न गयो, दिनभरि स्कुल बङ्क गर्यो ।’ उनी भन्छन् । त्यही क्रममा स्कुलका अन्य साथीहरूलाई प्रअले लिन पठाएछन् । उनी खेलिरहेका । उनी भाग्ने प्रयास त गरे, तर के जोड चल्थ्यो र । धेरै भएकाले पक्डिछाडे । झ्याँइकुटी पार्दै स्कुल पु¥याए । उनी पुग्दा प्रअका अगाडि औलियाका १ दर्जन लट्ठी । त्यसपछि केरकार शुरु भयो । ‘स्कुल छाडिस् भने यी बाह्रैवटा लट्ठी भाच्छु भन्नुभयो,’ उनी भन्छन्, ‘त्यसपछि त स्कुल के छाड्थें र ।’
त्यसपछिमात्रै उनको असली पढाइ शुरु भयो । कक्षा ५ मा उनी दोस्रा भए । त्यसपछि निमावि, माविमा पुग्दा पनि उनी दोस्रो, तेस्रो विद्यार्थी भइरहे । एसएलसीमा पनि दोस्रो श्रेणीमा उत्र्तीण भए । १४ जनामध्ये १४ नै उत्तीर्ण । त्यो बेला महेन्द्र माविमा एसएलसीको सेन्टर थिएन, धरानको शिक्षा सदन आइपुग्नु पर्ने । २०३३ सालको एसएलसी ब्याच उनी । दोस्रो श्रेणी त्यो बेलाको विशिष्ट श्रेणीभन्दा माथि । जुनसुकै विषय पनि पढ्न पाइने । उनी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार आइपुगे । ‘हात्तीसार आउने पनि कारण थियो । हामी एसएलसी दिँदा हात्तीसारका विद्यार्थीहरू पनि हामी बसेकै घरमा बस्दा रहेछन् । उनीहरूले कुरा गर्थे । पढ्न पनि पाइने, पैसा पनि पाइने । त्यही बेला त्यो कुरा मेरो मनमा छाप परेको थियो,’ उनी भन्छन् ।
२०२८ सालदेखि शुरु भएको आइटेक २०३६ सालमा हट्यो । २०३४ सालदेखि उनी दुई वर्षमा आइटेक पूरा गरे । सामान्य परिवारका उनले आइटेकपछि गाउँभन्दा केही तल रहेको जनक निमाविमा २२ महिना शिक्षकका रूपमा काम गरे । २०३८ सालदेखि बिटेक गर्न थाले । किनकि हात्तीसार मै २०३६ सालदेखि बिटेक पढाइ शुरु भएको थियो । चार वर्षे बिटेक कोर्ष गरेका उनी त्यो बेलाको ‘टपर’ विद्यार्थी हुन् । २०४२ सालमा उनले बिटेक पूरा गरे । परीक्षा दिएको ५–६ महिनापछि मात्रै रिजल्ट आउथ्यो । त्यो अवधिमा उनी आफू पढेको महेन्द्र माविमै शिक्षक भएर काम गरे । परीक्षाफल आउने बित्तिकै उनी चौधरी ग्रुपको वाइवाइ कम्पनीमा काम गर्ने सोच पालेका थिए । केही समय काम गरे ।
जब रिजल्ट आयो । त्यसपछि उनी महेन्द्र मावि छाडेर काठमाडौं जान धरान आइपुगे । आफू पढेकै कलेज हात्तीसारको होस्टेलमा एक रात बसे । तर, उनलाई तात्कालीन क्याम्पस प्रमुख जगतबहादुर केसीबाट बोलावट भयो । वाइवाइ कम्पनीमा काम गर्ने भनेर हिंडेका धनबहादुरलाई हात्तीसारमै पढाउने अफर आयो । ‘पढाउने मान्छे खाँचो छ, तुरुन्तै नियुक्ति लिनु भनेर सरले भन्नुभयो,’ उनी भन्छन्, ‘सरका अगाडि उभिन पनि डराउने मान्छे, सरले त्यसो भनेपछि वाइवाइ कम्पनीमा जाने सपना चकानुचुर भयो ।’
‘त्यस कुराले आमा विष्णुमाया कार्की खुशी भए पनि बुबा भने सन्तुष्ट हुनुभएन ।’ उनी थप्छन्, ‘पढाउनु थियो भने महेन्द्रमै पढाएको भए पनि हुन्थ्यो नि भन्ने बुबाको सोच थियो । बाहिर जाने भएपछि बाहिरै जाओस् भन्ने रहेछ ।’ त्यसपछि शुरु भयो कलेजको प्राध्यापन । २०४७ सालसम्म निरन्तर पढाए । त्यसबेलासम्म स्थायी नियुक्त पाउने कुनै छेकछन्द थिएन । त्यही रन्कोमा उनी मोरङको सुगरमिलमा काम गर्न पुगे ।
करिब ६ महिनाभन्दा बढी काम गरिसकेका थिए । एक वर्ष पढाएकालाई स्थायी गरिने भन्ने हल्ला आयो डिन कार्यालयबाट । ६ महिना कटिसके पनि क्याम्पसले हाजिर मिलाइदिएपछि उनी स्थायी भए । त्यस यता उनी निरन्तर हात्तीसारमै अध्यापन गराइरहेका छन् । २०५० सालमा उनी जर्मन सरकारको छात्रवृत्तिमा एआइटी पढ्नका लागि थाइल्याण्ड पुगे । त्यहाँ पनि उनलाई ठूलै अवसर आएको थियो । तर, ड्राइभिङ नआउने कारण उनले पाएको सुनौलो अवसर त्यसै खेर गयो ।
स्नातकोत्तर सकेर नेपाल आए । फेरि २०५४ सालमा फुड प्रोसेसिङको ६ महिने तालिमका लागि नेदरल्याण्ड पुगे । विभिन्न देशको अनुभवबाट अन्ततः प्राध्यापनमै अहोरात्र खटिएका उनले २०६८ सालमा विद्यावारिधि गरे । खाद्य प्रविधि केन्द्रीय विभागबाटै विद्यावारिधि गरेका धनबहादुर २०७१ सालदेखि क्याम्पस प्रमुखका रूपमा छन् । यो उनको दोस्रो कार्यकाल हो । उनले अध्ययन गर्न थाल्दा रात छर्लङ्गै उज्यालो बनाउँथे ।
पुस्तकालयमा नपढेको पुस्तक थिएन । शिक्षकले पढाउन थाल्दा नै उनलाई कुन पुस्तकको कुन पेज भन्ने ज्ञान हुन्थ्यो । अहिलेका विद्यार्थीहरूमा पुस्तक पढ्ने बानी छैन । जसले गर्दा अहिलेका विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता शून्य देख्छन् उनी । उनको एउटै मूलमन्त्र छ,’ जो विद्यार्थी पुस्तकालय जाँदैन । पुस्तकको विषयमा ज्ञान छैन भने त्यो कामै लाग्दैन ।’