धरान/ कुनै बेला धरानको रङ्गकर्म निक्कै सक्रिय थियो । तर विचमा सुस्तायो । रङ्गकर्म गर्ने संस्थाहरुका गतिविधि लगभग शुन्य थिए । कतिपय संस्थाको त नाम निशान थिएन् । धराने रङ्गमञ्चमा खडेरी परेको यहि बेला सम्भावना बोकेर उदाए, विष्णु मोक्तान ।

केही वर्षअघि सुनसान धराने रङ्गमञ्चमा उनले ‘अब टाउको कहिले हल्लिन्छ ?’ नाटक प्रदर्शन गरे । लामो समय नाटक नभएको त्यो अवस्थामा नाटक प्रदर्शन चूनौतिपूर्ण थियो । उनले पुरानापुस्ताका रङ्गकर्मी प्रेम सुब्बा, कुलचन्द्र न्यौपानेदेखि नयाँपुस्ताका कलाकारलाई समेटेर तीन दिनसम्म प्रदर्शन गरेको त्यो नाटकले धराने रङ्गमञ्चमा एउटा तरङ्ग सृजना गर्यो ।

त्यसपछि सुस्ताए नाट्य संस्थाहरुपनि पुनर्जागृत भए र नाटक प्रदर्शन गर्न थाले । गत वर्ष उनकै नेतृत्वमा नाटक ‘इङ्घङ’ २२ दिन प्रदर्शन भयो । लिम्बु संस्कृतिमा आधारित इङ्घङ हेर्न टिकट काटेर दर्शकहरु सभागृहसम्म पुगे । यसले विष्णुलाई धरानले रङ्गमञ्चमा स्थापित गरायो ।

करिब सात वर्षअघि विष्णुकै सक्रियतामा धरान ९ मा ‘रङ्गभूमी एकेडेमी’ शुरु भयो । त्यसमा अभिनय, नृत्य र संगीतको प्रशिक्षण सञ्चालन हुन्छ । रङ्गभूमी स्थापना पछि त्यहि प्रशिक्षण लिएका विद्यार्थीहरुलाई समेटेर उनले नाटक प्रदर्शन गर्न थाले । त्यसैमार्फत सडक नाटकहरु गरे । तर रङ्गमञ्चमा नयाँपुस्ता नआउँदा उनी चिन्तित छन् ।

नयाँपुस्तालाई रङ्गकर्ममा आकर्षित गर्न उनी अहिले बालबालिकालाई प्रशिक्षण सञ्चालन गर्ने तयारीमा छन् । तीन महिनासम्म सञ्चालन हुने नाट्यकार्यशालामा बालबालिका र अन्य गरी दुई प्रकारका प्रशिक्षण दिने र त्यसपछि नयाँ नाटक प्रदर्शन गर्ने उनको सोंच छ । भन्छन्, ‘धरानमा चिल्ड्रेन थिएटर शुरु गर्ने र नयाँपुस्तालाई आकर्षित गरेर यहाँको रङ्गमञ्चलाई सक्रिय बनाउन चाहान्छु ।’

विष्णुले सानैमा संखुवासभामा पढ्दा सडक नाटकमा अभिनय गरेका थिए । त्यसपछि उनले नाटक त गरेनन् तर धरानमा रेडियो गणतन्त्रले आयोजना गरेको पत्रकारिता तालिममा उनको भागमा पर्यो रेडियो नाटक । रेडियोमा २ एपिसोडसम्म नाटक गरेर छाडेका उनको मनमा सानैदेखिको नाटकप्रतिको लगाव बाँकी नै थियो । धरानका कलाकार किशोर सम्बाहाङ्फे लगायतले एउटा फिल्मको कार्यशाला चलाएका थिए, विष्णु त्यहिं पुगे ।

सुवास थापा, राजेन्द्र रिमाल लगायतले प्रशिक्षण दिएको कार्यशालाले उनलाई अभिनयको भोक झनै जगायो । त्यसपछि कलाकार वीरेन्द्र हमालको एम आर्ट थिएटरमा पुगे प्रशिक्षण लिन । उतै नाटक ‘माया’मा अभिनय गरे । धरानको रङ्गमञ्च सुस्ताएको त्यो बेला उनी काठमाडौंबाट धरान आए र सुरु गरे । आर्थिक रुपमा उनले अहिलेसम्म घाटा नै बेहोरिरहेका छन् । ‘मासिक २० हजार रुपैयाँ भाडा, अन्य खर्च गोजीबाटै तिर्नु परेको छ ।’ उनी भन्छन्, ‘तर कसैसँग गुनासो पनि छैन, यहि क्षेत्रले चिनाएको छ । आफ्नै रुचिले लागेकाले गुनासो गर्नुपनि हुँदैन ।’