एसईईको नतिजा सार्वजनिक भएपछि अभिभावकको पहिलो चिन्ता हुन्छ आफ्ना छोराछोरीलाई कुन विषय पढाउने ? कहाँ पढाउने ? एसईई पछिको कक्षा ११ र १२ मा पढ्ने विषयले विद्यार्थीको भविष्य निर्धारण गर्छ । यस्तो समयमा अभिभावकहरू समेत सचेत हुन जरुरी हुन्छ । अन्यथा छोराछोरीको भविष्य माथि अभिभावकहरूबाट नै खेलवाड भैरहेको हुनसक्छ ।
यसरी छोराछोरीको चाहनाभन्दा अभिभावकको चाहानालाई पूरा गर्ने खालको विषय अध्ययन गराउँदा विद्यार्थीको मनोविज्ञानमा गम्भीर असर पर्न सक्ने मनोविद्हरू बताउँछन् । सामान्यतया पहिलेको परीक्षा प्रणाली र अहिलेको जिपीए प्रणालीमा सवैभन्दा बढी प्रतिशत तथा जिपीए ल्याउने विद्यार्थीलाई साइन्स पढाउने अभिभावकको परिपाटी छ ।
तर, यसरी विद्यार्थीको चाहना विपरीत अभिभावकले यस्ता विषय पढाउन खोज्दा यसबाट उचित प्रतिफल आउन नसक्ने शिक्षा क्षेत्रका परार्मशदाता राजेन्द्र पन्त बताउँछन् । सबैभन्दा पहिले अभिभावकले छोराछोरीको कुन विषयमा चासो छ भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको पन्तको भनाइ छ ।
‘सबैभन्दा पहिलो कुरा त छोराछोरीको कुन विषयमा बढी लगाव छ भन्ने बुझ्नु जरुरी हुन्छ ।’ पन्तले भने, ‘यसका लागि अभिभावकले छोराछोरीसँग खुलेर कुराकानी गर्नुपर्छ । अनिमात्र उनीहरूको चाहना बुझ्न सकिन्छ ।’ तर भर्खर एसईई दिएका बालबालिकाहरूले कुन विषय पढ्दा त्यसको क्षेत्र के हो भन्नेबारे थाहा नपाउने भएकाले परामर्शदाता तथा अभिभावकहरूले स्पष्टसँग जानकारी दिनुपर्ने पन्त बताउँछन् ।
‘पढाई सकिएपछि त्यस विषयको रोजगारक्षेत्र (स्कोप) कस्तो हुन सक्छ त्यसको आँकलन गरी विद्यार्थीलाई त्यस विषयमा प्रेरित गर्न सकिन्छ ।’ अहिले ग्रामीण भेगका अभिभावकहरूमा आफ्ना छोरीलाई प्राविधिक शिक्षाका रूपमा स्टाफ नर्स पढाउने लहर चलेका बताउँदै उनले अहिले स्टाफनर्सहरू नेपाली बजारमा धेरै उत्पादन भइसकेकाले भविष्यमा रोजगारीको सम्भावना कम हुनसक्छ ।
त्यसैले अहिले नै भोलिको श्रमबजारलाई अनुमान गरी विद्यार्थीलाई त्यसतर्फ अग्रसर गराउनु पर्नेमा उनले जोड दिए । विद्यार्थीलाई पनि उच्च शिक्षाका लागि नेपालको परिवेशमा सुहाउँदो विषय छान्न उनी सल्लाह दिन्छन् । कतिपय परामर्शदाताहरूले विद्यार्थीलाई विदेशमा पढ्नको लागि सल्लाह दिने गरेका छन् । सकेसम्म परामर्शदाताहरूले विदेशमा जानका लागि त्यती धेरै प्रोत्साहन भने गर्न नहुने पन्तको तर्क छ । तर, विदेशमा पढेर नेपालमै आएर सेवा गर्छु भन्छ भने त्यो सकारात्मक पक्ष हो ।’ पन्तले भने ।
अभिभावकहरूको जबरजस्तीका कारणले विद्यार्थीको भविष्य बर्बाद भइरहेको प्राध्यापक डिल्लीरमण बराल बताउँछन् । ताप्लेजुङका ग्रामीण भेगका अभिभावकहरूलाई समेत कुन विषय पढ्दा के हुन्छ भन्ने विषयमा जानकारी कम भएकाले शिक्षकहरूसँग परामर्श लिनु सबैभन्दा उत्तम हुने बरालको सुझाव छ । कुनै पनि विषय आफैंमा नराम्रो नहुने बराल बताउँछन् ।
अभिभावकले प्रायः बच्चाहरूलाई तिमीले ए प्लस ल्याएका छौ, साइन्स पढ्नुपर्छ भनेर दबाब दिने गरेको गुनासो आफूले सुनेको उनले बताए । बराल भन्छन्, ‘अभिभावकले के बुझ्नुपर्छ भने राम्रो प्रतिशत ल्याएको छ भने उसले भाषा पढ्यो भने गजब हुन्छ । भोलि त्यो ठूलो भाषाविद् भएर निस्कन सक्छ । त्यस्तै राजनैतिक विज्ञान (पोलिटिकल साइन्स) पढेर राम्रो राजनीतिज्ञ, अर्थशास्त्र, वाणिज्यशास्त्र पढेर अर्थविद् बने भने देशलाई ठूलो सहयोग हुन्छ ।
भन्नुको अर्थ जे विषय लिए पनि आफ्नो विषयमा नम्बर एक भएर निस्किनु प¥यो ।’ कक्षा १० को परीक्षामा गणित विषयबाहेक अन्य विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुने भएकाले र त्यसमा शिक्षकहरूले कम्तिमा पनि २४ अङ्क दिने गरेकाले पनि विद्यार्थीको जिपीए माथि आएको हुन सक्छ । त्यसैले आफ्नो स्तरले भ्याउने खालको विषयमात्र छनौट गर्नुपर्ने बरालको सुझाव छ ।
भड्किलो प्रचारशैलीको पछि नलागौँ
एसईईको रिजल्ट आउने बित्तिकै कक्षा ११ को लागि नयाँ भर्ना खुल्छ । प्सल टुहरूले विद्यार्थी र अभिभावकलार्ई आकर्षित गर्न भड्किलो प्रचारबाजी गर्ने आरोप पनि लाग्ने गरेको छ । देशभरका करिब ३ हजार ७ सय प्लस टुमध्ये १ हजार ५० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित छन् । निजि क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरूले यस्ता किसिमका भड्किलो प्रचारशैली नाफा कमाउने उद्देश्यले अपनाउने गरेको ताप्लेजुङका अग्रज पत्रकार तथा भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर राई बताउँछन् ।
‘खास गरेर निजी विद्यालय र कलेजहरूले भड्किलो प्रचारशैली अपनाएर विद्यार्थी तथा अभिभावकलाई आपूmतिर आर्कषित गर्ने गरेका छन् ।’ राईले भने ‘त्यस्तो प्रचारको पछि लाग्नु हुँदैन । शैक्षिक संस्थाको गुणस्तर र त्यस भित्रका शैक्षिक वातावारणको सबैभन्दा पहिले अध्ययन गरेर मात्र छोराछोरीको भर्ना गर्नुपर्छ ।’ अभिभावकले त्यो संस्थाको रेकर्ड र कति पछिसम्म त्यसले इतिहास धान्नसक्छ भनेर हेर्नुपर्ने राई बताउँछन् । आफूले बालबच्चालाई पढाउन खोजेको कलेजको शैक्षिक उपलब्धिलाई समेत ध्यानमा राख्नुपर्ने उनको सुझाव छ ।