उदयपुर/ छुवाछुत र विभेदको सामना गर्दै आएका दुई जोडीले अढाई दशकपछि सम्मानित हुने अवसर पाएका छन् ।
लिम्चुङ्बुङ गाउँपालिका–१ की ५१ वर्षीय रत्न विक र ५२ वर्षीया हीरा राई (विक) साथै ३९ वर्षीय कमल परियार र ३५ वर्षीया सम्झना तामाङ सम्मानित बनेका हुन् । जातीय छुवाछुत अन्त्यका लागि सचेतना कार्यक्रमका क्रममा सम्मानित हुने अवसर पाएका हुन् । तर, सम्मानित जोडीका आ–आफ्नै पीडा व्यथा छन् ।
अन्तरजातीय विवाह गरेकै कारण माइती र आफन्त इष्टमित्रसमेत गुमाएका थिए । एकै गाउँका राई र विकबीच प्रेम बस्यो । प्रेमले न जात भन्यो, न रङ । २०५१ सालमा भागीविवाह गरे । त्यो विवाहकै कारण गाउँ छाड्नु पर्ने अवस्था आएको विक बताउँछन् । भारत पलायन भएर डेढ वर्ष बिताई गाउँ फर्किए पनि परिवारको साथ नपाएपछि गाउँ छाड्न बाध्य भएको उनी बताउँछन् । अहिले ससुरालीसँग पनि राम्रो सम्बन्ध छ । दलितसँग विवाह गरेकै कारण केही वर्ष माइती गुमाउनु परेको राई बताउँछिन् । समाजको विभेद त छँदैछ परिवारको पनि विभेदको शिकारमा उनी परिन् ।
रोजगारीको सिलसिलामा २०६० सालमा सिन्धुली पुगेका परियारको त्यहीँ तामाङसँग प्रेम अङ्कुरायो । प्रेम अङ्कुराउन थालेको एक वर्ष नबित्दै विहे गरेको उनीहरू बताउँछन् । आफ्नो जातभन्दा ठूलो जात विवाह गरेको भनेर घरपरिवारले साथ नदिएपछि करिब ५ वर्ष सिन्धुलीतिरै काम गरेर बसेको परियार बताउँछन् ।
दलितसँग विवाह गरेकै कारण हालसम्म उनी माइती पुग्न सकेकी छैनन् । प्रेम र विहेलाई अहिले पनि सम्झनाको परिवारले अपराध ठानेर माइती पक्षले हालसम्म स्वीकारेका छैनन् । माइती पक्ष अहिले केही लचिलो बनेको हो कि उनलाई यस्तै लागेको छ । यहीबीचमा पाएको सम्मानले उनीहरूमा खुशी मिलेको छ । विभेदको अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने उनको बुझाइ छ । तर, अझै पनि पूर्ण अन्त्य हुन केही समय लाग्ने उनीहरूको बुझाइ छ ।