एसईईपछि के गर्ने ? यो अन्यौलता शहरका नानीहरूमा भन्दा ग्रामीण भेगका नानीहरूमा बढी हुने गरेको छ । भिभावकलाई पनि के पढाउने भन्ने विषयमा अनभिज्ञता हुनु र विद्यार्थी आफैं पनि के पढ्ने भन्ने निश्चय गर्न नसक्ने अवस्था भएकाले केही अन्यौल हुनु स्वाभाविक पनि हो । कतिपयले यस्तै अन्यौलताका बीच साथीभाइको लहैलहैमा लागेर विषय छानी पढ्नेहरू धेरै छन्, ग्रामीण क्षेत्रमा ।

अहिले ग्रामीण भेगका धेरै विद्यार्थीको रोजाइ व्यवस्थापन नै हुने गरेको छ । तर, यस्ता विषयहरू पनि छन् जुन विषय पढी नसक्दै जागिरको सुनिश्चितता हुन्छ । त्यस्ता विषयमा विद्यार्थीहरूको ध्यान भने गइरहेको हुँदैन । शहरमा अभिभावकहरू पनि प्रायः आफ्ना नानीको करियर कता लाने भन्ने निश्चित गरिसकेका हुन्छन् । त्यहीअनुसार विषय छनोट गर्न लगाइ पढाइमा खर्च गर्छन् । नानीहरूमा पनि एसईईपछि यो विषय पढ्ने भन्ने ज्ञान पछिल्लो समय आइसकेको हुन्छ शहरी क्षेत्रमा । विज्ञान र प्रविधिको यो रफ्तारका कारण पनि शहरी क्षेत्रमा पढ्ने र पढाउने विषयमा अन्यौलता कमै भएको पाइन्छ । धेरै विद्यार्थीहरू यस्ता हुन्छन् जो, साथीभाइको सङ्गतमा लागेर आफ्नो चाहना र इच्छाभन्दा फरक विषय अध्ययन गरिरहेका हुन्छन् । जसले गर्दा उनीहरू सफल बन्न सक्दैनन् । आफूले चाहेको विषयमा पढ्ने हो भने त्यसमा ‘प्यासन’ हुन्छ । त्यही ‘प्यासन’ ले एउटा निश्चित गन्तव्यमा पु¥याउँछ । त्यसैलेआफूले रोजेको विषयमै ध्यान दिनु अति उत्तम हुन्छ ।

के पढ्ने ? भन्ने निश्चित नहुँदा आफ्नो चाहनालाई बुझ्न जरुरी छ । के बन्ने ? त्यो गन्तव्य एसईईपछि निश्चित गरिएन भने भोलिका दिनमा पछुताउनुबाहेक केही हुँदैन । त्यसैले विद्यार्थी भाइबहिनीहरूले आफूलाई मन पर्ने विषयमा उच्च शिक्षातर्फ पाइला हाल्नु अहिलेको सन्दर्भमा उपयुक्त हुन्छ किनकि हिजो र आज धेरै फरक भइसकेको छ । हिजो सीमित प्रतिस्पर्धा थियो । अहिले राष्ट्रिय हैन, अन्तर्राष्ट्रिय स्तरको स्पर्धा शुरु भइसकेको छ ।

अब देशका लागि मात्रै हैन, विदेशमा पनि योग्य जनशक्तिको आवश्यकता पर्दै गएको छ । यस सन्दर्भमा आफूलाई उपयुक्त विषय पढ्नेतर्फ ध्यान दिनु पहिलो कर्तव्य हुनेछ । अभिभावकहरूलाई पनि आफूले पढ्न चाहेको विषयको बारेमा जानकारी गराउन आवश्यक छ । कहिले काहीँ अभिभावक र छोराछोरीबीच तालमेल नमिल्दा पनि पढाइ निरन्तर अगाडि नबढ्न वा विषय फरक पर्न सक्छ, जसले विद्यार्थीको पढाइलाई प्रभाव पार्छ नै । त्यसैले अभिभावकले पनि नानीहरूको इच्छाअनुसार नै विषय छनौट गर्न आग्रह गर्नुपर्छ ।

सूचना, प्रविधिको यस युगमा हाम्रा नानीहरू यो विषय पढ्ने कि त्यो विषय पढ्ने भन्नेमा अन्यौल हुनु हुँदैन । प्राविधिक शिक्षा अहिलेको युगको अपरिहार्य आवश्यकता बनिसकेको छ । प्राविधिक शिक्षा नै एकमात्र उत्तम विकल्प हुन सक्छ । त्यसैले आफ्नो एसईईपछिको जिपिएको आधारमा प्राविधिक विषय छनौट गर्नु अति उत्तम हुन्छ । खाद्य प्रविधि, पोषण तथा आहार विज्ञान, डेरी प्रविधि अहिले नेपालमा सबैभन्दा बढी माग भएको शिक्षा हो । तर, यसका लागि कति प्रतिशत अर्थात् कति जिपिए ल्याउँदा मात्रै पढ्न पाउँछन् भन्ने विषयमा विद्यार्थीहरू अन्यौलमा हुन सक्छन् । त्यो अन्यौलतालाई हामी चिर्ने प्रयास गर्दैछौँ ।

यदि तपाईंसँग १ दशमलव ६ जिपिएभन्दा माथि आएको अवस्था छ भने माथिका विषयहरू छनौट गर्न सक्नुहुनेछ । जसमा गणित, विज्ञान तथा अङ्ग्रेजीमध्ये दुईवटा विषयमा कम्तीमा ‘सी’ ल्याएको हुनुपर्नेछ । एउटा विषयमा ‘डी’ ल्याए पनि हुन्छ । यदि आफूलाई माथि दिएका विषय पढ्ने रहर भएमा सिटिइभिटीले खुलाएको प्रवेश परीक्षा उत्र्तीण गर्नुपर्छ । यो सिटिइभिटीको हकमा लागु हुन्छ । उत्र्तीण गरेपछि नेपालमा दुई स्थानमा डिप्लोमा इन पोषण तथा आहार विज्ञान, खाद्य प्रविधि तथा डेरी पढ्न पाइन्छ । धरान–१६ को नास्ट कलेजले यी विषय पढ्ने सुविधा प्रदान गरेको छ भने काठमाडौंको क्याफोडार्ट कलेजले पनि त्यो सुविधा प्रदान गरेको छ । सीमित कोटा हुन्छ । ६ सेमेस्टरको कोर्ष पूरा गरेपछि स्नात्तक तहको खाद्य प्रविधि तथा डेरी, पोषण तथा आहार विज्ञान पढ्न पाइन्छ ।

यता प्लस टु उत्र्तीण गरी स्नात्तक तहको खाद्य प्रविधि र पोषण तथा आहार विज्ञान पढ्न चाहनेको हकमा भने कम्तीमा पनि एसईईमा सी प्लस ल्याएको हुनुपर्छ । प्राक्टिकल विषयमा ए प्लस ल्याएको खण्डमा, सैद्धान्तिक विषयमा डी भए पनि खाद्य प्रविधिका लागि योग्य मानिन्छ । तर, विज्ञान विषय लिएर प्लस टु उत्र्तीण गरेकाहरू यो विषय पढ्नका लागि प्राथमिकतामा पर्छन् । अहिले खाद्य प्रविधि तथा पोषणविद्को माग बढ्दो छ ।

नेपालजस्ता विकासोन्मुख देशहरूमा खाद्य प्रविधितर्फ उतिसारो ध्यान दिएको पाईंदैन । केही गैरसरकारी संस्था तथा उद्योगहरूले मात्रै जनशक्ति खपत गरिरहेका छन् । अहिले देश सङ्घीयतामा प्रवेश गरेको सन्दर्भमा ७ सय ५३ वटा स्थानीय तहमा खाद्य प्रविधि तथा पोषणविद् राख्नुपर्ने अवस्था सिर्जना भएमा पक्कै पनि भोलिका दिनमा यस्ता विषय सबैको रोजाइमा पर्न सक्छन् । तर, अहिले लोकसेवा आयोगले पनि यस्ता विषयका विज्ञ जनशक्तिहरू माग नगरेको अवस्थाले यस्ता जनशक्ति पलायन हुने खतरा पनि छ । ‘गाउँपालिका तथा नगरपालिकामा एक–एक जना पोषणविद् तथा खाद्य प्राविधिक राख्ने भन्ने कुरा छ । यो गर्न सकेमा यस्तो जनशक्ति चाँडै र धेरै खपत हुने थिए ।’ प्राध्यापक पशुपति मिश्र भन्छन् ।

एसईईपछि धेरै विद्यार्थीहरूको रोजाइमा पर्न सक्ने यो विषयमा सीमित कोटा गरिदिएका कारण पनि ती विषय पढ्न चाहने विद्यार्थीहरूले पढ्न सक्दैनन् । राज्यको ध्यान यसतर्फ गएको छैन । फलामे ढोकाको रूपमा परिचित एसईई पछि धेरै विद्यार्थीको इच्छा प्राविधिक विषय पढ्ने नै हुन्छ । तर, पर्याप्त कोटा नहुँदा भने विद्यार्थीहरू आफूलाई मन नपरेको वा इच्छाविपरीत अन्य विषयहरू पढ्न बाध्य हुन्छन् । जसले गर्दा अनुत्पादक क्षेत्रमा ती जनशक्तिहरू पलायन हुन्छन् । राज्यको नीति र कार्यान्वयनको अवस्थाका कारण पनि एसईईपछि धेरै विद्यार्थीहरू फरक क्षेत्रमा पुग्न बाध्य हुन्छन् । त्यसको सम्पूर्ण दोष राज्यको नीति नै हो । राज्यले एकातिर प्राविधिक शिक्षालाई जोड दिने भन्दै ‘हुइयाँ’ फुकिरहेको छ । तर, व्यवहारतः लागू गर्न सकेको अवस्था छैन । यसले गर्दा पनि अदक्ष जनशक्ति उत्पादन भइरहेको छ ।

खाद्य प्रविधि तथा पोषण विज्ञान किन पढ्ने ?
खाद्य प्रविधि र पोषण विज्ञान अहिलेको आवश्यकता हो । दैनिक जीवनमा खाद्यप्रविधिसम्बन्धी जानकारी अतिआवश्कीय बनिसकेको छ । जसरी हामी खाना खान्छौं त्यस खानाबाट त्यसरी नै हामीलाई शक्ति प्राप्त हुन्छ । खाना हामी कस्तो खाइरहेका छौँ ? स्वस्थकर छ कि छैन ? पुष्ट र स्वस्थ रहन कस्तो खाना खाने ? लगायतका विषयमा यसले जानकारी दिने काम गर्छ । हाम्रो शरीरमा भिटामिन, मिनरल, प्रोटिन, कार्बोहाइडेट, आइरनलगायतका वस्तुहरू चाहिन्छन् । त्यसको मात्रा मिलाएर खान सके मात्रै हाम्रो शरीरले चाहिँदो ऊर्जा प्राप्त गर्न सक्छ । ती सबै पोषक खानेकुराको मिलावट हुन नसकेमा हाम्रो शरीरमा काम गर्ने सामथ्र्य र प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जान्छ । शरीर शक्तिहीन हुन्छ । हामीलाई विभिन्न रोगले आक्रमण गर्न थाल्छन् ।

पोषणका विषयमा जान्नका लागि पनि यो विषय पढ्न आवश्यक छ । जनशक्ति मागको हिसाबले पनि यो विषयमा एकदमै धेरै अवसर भएको ठान्छन् केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्रमुख धनबहादुर कार्की । उनका अनुसार खाद्य प्रविधिको स्नात्तक उर्तीण गरिसकेपछि खाद्य उद्योगमा, विदेशका खाद्य उद्योगहरूमा काम गर्ने अवसर पाइन्छ । त्यस्तै सरकारी स्वामित्वका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, दुग्ध संस्थानहरूमा पनि अवसर प्राप्त भइहाल्छ । खाद्य प्रविधिमा अवसरै अवसर छ । पोषण विज्ञान नयाँ विषय भएकाले अहिले सरकारी स्तरबाटै रोजगारको अवसर सिर्जना गर्न सकेको छैन । तर, पोषणमा पनि अहिले जिल्ला अस्पताल तथा निजी अस्पतालहरूले पोषणविद् राख्न थालेका छन् । जनशक्ति हस्पिटलहरूमा खपत हुन थालेको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि अवसर खुलाउने हो भने स्थानीय तहमा पनि रोजगारको सिर्जना हुन सक्ने देखिन्छ ।