उदयपुृर/ बारीमा छरेको मकै खडेरीले सुकेपछि उदयपुरको पहाडी भेगका कृषकहरु चिन्तामा परेका छन् ।
सुनकोशी किनार आसपास र माथिल्लो भेगका गाउँहरुमा लामो समयदेखि पानी नपरेपछि बारिका मकै सुकेका छन् । चैत्र–बैशाखमा पनि खण्ड बृष्टि भई राम्रोसँग पानी नपरेकाले मकै छरेपनि विरुवामै सुकेको स्थानिय कृषकहरु बताउँछन् । फागुन–चैत्रमा पनि पानी नपरेका सुनकोशी आसपासका गाउँहरुमा यतिबेला खानेपानी र गाईबस्तुलाई घाँसको समस्या भएको स्थानियहरुले बताएका छन् ।
जिल्लाको विकट पहाडी गाउँपालिकाहरुका कृषकहरु खडेरीको चपेटामा परेका छन् । रौतामाई गाउँपालिकाको आदामारा, चण्ढौटे, सोरखु, बेलबोटे, हलिन्टार, लाफागाउँ, आँटार, कालिमाटी, पोखरी, फोक्सिन्टार, विमिरे, साल्घारी, पाकाना लगायतका गाउँहरुमा मकै बारिमै सुकेका छन् भने लिम्चुङ्बुङ गाउँपालिकाका बाँसबोटे, लाक्कु, बलम्ता, ताम्लिछा, अँधेरी र ताप्लि गाउँपालिकाको थानागाउँ, थुम्कि, रामपुर, रुपाटार, कटहरे लगायतका गाउँहरुमा खडेरीले मकै सुकेको स्थानिय कृषकहरुले बताएका छन् ।
उदयपुरका यि गाउँदेखि पारी पर्ने छिमेकी जिल्ला खोटाङको मुलाबारी, राजापानी, मावे लगायतका गाउँहरुमा समेत पानी नपर्ने समस्याले कमै मरेको स्थानीयहरुले बताएका छन् ।
पहाडी भेगका मुख्य खाद्यान्नको रुपमा रहेको मकै खडेरीले कतै विरुवामा त कतै धानचमर आउन लाग्दा सुकेपछि के खाने के गर्ने टुङ्गो नभएको कृषक टेकबहादुर मगरले बताए । ‘खाउँला भनेर छरेको मकै बारिमै सुकेर सेताम्य भयो, अब के खाने हो टुङ्गो छैन ।’ कृषक मगरले भने ।
डाँडा पाखा र खेत बारीमा हरियाली छाउनु पर्ने समयमा फागुन–चैत जस्तो धुलो उडेर उजाड बनेपछि वन जंगलमा गाईवस्तुलाई घाँस पाइन छाडेको मगरले बताए । उनले भने ‘मान्छे कसरी बाँच्ने र गाई वस्तुलाई कसरी बचाउँ भन्ने बारेमा सोच्नु पर्ने बेला आएको छ ।’
फागुनदेखि खानेपानीको समस्या झेल्दै आएका रौतामाईका गाउँहरुमा मकै विरुवामै मरे । खानेपानी लिन घण्टौँको बाटो धाएर कोशी जानु पर्ने र गाई वस्तुलाई बचाउन समेत गाह्रो भएको स्थानिय कुमार कार्कीले बताए ।
सुनकोशी किनार आसपासको गाउँमा मात्रै नभई माथिल्लो भेगका गाउँहरुमा समेत खडेरीले सताएको छ । माथिल्लो भेगका गाउँघरमा समेत खडेरीले मकै मर्न थालेको स्थानिय कार्कीले बताए । ‘धारामा पानी नआएको करिब ६ महिना भयो, बारीमा धुलो उडेको छ, अव अरु कुनै विकल्प छैन।’ उनले गुनासो गरे ।
खडेरीकै कारण गाउँ छाडी पानीको श्रोत भएको ठाउँमा बसाई सर्नेको संख्या बढ्न थालेको स्थानिय कार्कीले बताए । कोशी धमीलो हुने भएकाले पानी पिउनलाई घैटामा राख्नु पर्ने, थिग्रियाएको पानीले पनि छाला, झाडापखाला जस्ता रोग लाग्ने गरेको उनले बताए ।
खोलामा रोपेको धान पानी नभएकाले खेतमै मरेको छ भने बारीमा छरेको मकै विरुवामै सेताम्य भएको स्थानिय कार्कीले बताए । खानेपानीको समस्या भएदेखि नै स्थानिय सरकारलाई पटक पटक मौखिक तथा लिखित जानकारी गराएको भएपनि कुनै चासो नलिएको स्थानियको गुनासो छ ।
धेरै पहिले यस्तो खडेरी लागेको भएनि यति लामो समयसम्म खडेरी नलागेको स्थानीय बुढापाकाहरु बताउँछन् । कोशी नजिक भएका विद्यालयहरुका विद्यार्थीहरु कोशीमा पानी खान जाने, मान्छे, गाई वस्तु कोशीकै भरमा बाँचेको स्थानियहरु बताउँछन् ।
माथिल्लो भेगका गाउँ बस्तीको खानेपानीका मुहान सक्न थालेपछि घण्टौँको बाटो धाएर खानेपानी गाग्री र डोकोमा पानी बोक्नु पर्ने समस्या आएको स्थानिय कृष्ण मगरले बताए । करेसा बारीमा लगाएका हरियो सागसब्जि मरेकाले तरकारी पनि खान नपाइएको उनले बताए ।
असारको आधा विति सकेकाले अव पानी परेपनि बारीमा सुकेका मकै नर्फिने, फिरे पनि फल दिन नसक्ने स्थानिय मगरले बताए । मकै, कोदो र धान बाहेक अन्य खाद्य वस्तु उत्पादन नहुने भएकाले यसपटक ठुलो अनिकाल लाग्ने उनले बताए । ‘आफु बाँच्ने कि घरमा पालेका वस्तु भाउ बचाउने भन्नेमा चिन्ता छ ।’ स्थानिय मगरले बताए ।