धरान / पूर्वको पर्यटकीय हवको रुपमा चिनिएको धरान उपमाहानगरपालिकामा अझ धरानलाई चिनाउन थप पर्यटकीय गन्तव्यहरु थपिएका छन् । हाल धरानमा भएका गन्तव्यहरुबाट पर्यटकहरुलाई धेरै दिनसम्म राख्ने अवस्था थिएन । तर यि नयाँ गन्तव्यको पूर्वाधार विकास गर्दा धरान आउने पाहुनालाई २/४ दिनसम्म राख्न सकिने भएको छ । धार्मिक गन्तव्यको रुपमा परिचित धरान उपमहानगरलाई नयाँ गन्तव्यले प्राकृतिक, साहसिक खेल पर्यटकीय गन्तव्यको रुपमा चिनाएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य

picc
धरानलाई बाहिरबाट चिन्दा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । विजयपुरको बुढासुब्वा दन्तकाली र पिण्डेश्वर र विष्ण्ुापादुका मन्दिरले धरानको परिचय दिइरहेको थियो । तर अव यि वाहेकका गन्तव्यले धरानको थप परिचय मात्र होइन धरान आउने पाहुनाहरु २/४ दिन थप बसेर धरानबारे बुझन सक्छन् । विगतमा धरान आउने पर्यटकहरु विहान ६ बजे आए भने १०/११ बजे सबै घुमेर फर्कन्र्थे । पर्यटनलाई आर्थिक सम्वृद्धिसँग जोडेर हेर्दा धरानका गहना आगन्तुकहरुले एकै छिनमा घुमेर घर फर्कदा धरानको सम्वृद्धि मान्न सकिदैंन । यि बाहेकका धरानमा घुम्ने लायक अन्य क्षेत्र पनि छन् । जो प्रचार प्रसार र पूर्वाधार अभावमा ओझेलमा परेका छन् । ती गन्तव्यहरुलाई पूर्वाधार विकास गरि प्रचार प्रसारमा ल्याई धरान आउने पर्यटकहरुलाई थप एक /दुई दिन राख्न सकिने गरि स्थानीय सरकारले योजना अघि बढाएको छ ।

तराई र धरान हेर्न दानाबारी/हर्दिया

danabari
धरानदेखि पुर्वी उत्तरमा रहेको अग्लो डाँडा जसलाई दानाबारी भनिन्छ । यसको उचाई झण्डै १५ सय छ । नजिकै हर्दिया छ । धरानमा आउने बेसार, अदुवा, अमलिसोलगायत आग्र्यानिक तरकारी यही स्थानबाट आयत भएका हुन । दानाबारीको छुट्टै डाँडा, जसलाई स्थानीयले गढी थुम्का भन्छन् । त्यहाँ सिंहदेवी थान छ । यो धरानको समग्र बजार दृष्यालोकन गर्ने स्थान पनि हो । तराईका सुन्दर फाट, धरानलाई निहाल्न यहाँसम्मको यात्रा गर्न धरान बजारदेखि १० किमीको दुरी तय गर्नु पर्दछ । यसको पूर्वाधार विकासका लागि प्रदेश सरकारले लगानी गरेको छ । १ करोड बजेटमा बाटो निर्माण कार्य भइरहेको छ । दानाबारीको डाँडामा ढेड करोड लगानीमा भ्यु टावरसमेत निर्माण भईरहेको निर्माण समितिका सचिव लक्ष्मी बाँनियाले जानकारी दिए । मनमोहन स्मृति पार्कको अवधारण बनाई एक करोड ३० लाख लगानीमा पार्कसमेत बनाउने तयारी भइरहेको छ । पार्क निर्माण, भ्यू टावर निर्माण सडक विस्तारले धरानदेखि यहाँको दुरी अझ नजिक बनाई दिएको ४ नं. का वडा अध्यक्ष मानबहादुर राईले बताए । यहाँ होम स्टेको पनि अवधारण ल्याई व्यवस्थापन गर्न थालिएको धरान उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारीले बताइन । भेडेटार धनकुटा जिल्लामा पर्दछ । पर्यटकीय गन्तव्य भेडेटारबाट भएको आर्थिक आम्दानी धरानलाई नहुने हुदा दानाबारी र हर्दियालाई भेडेटारको विकल्पमा विकास गर्न स्थानीय सरकारको ध्यानाकर्षण भएको कार्यवहाक मेयर भण्डारीले बताई ।
यहाँबाट नाम्जे हुदैं धनकुटाको बुधबारेसम्म पुग्ने सडकसमेत विस्तारको क्रममा छ । भेडेटार–रवि राँके सडक निर्माण पछि हर्दिया व्यापारिक केन्द्र समेत बन्ने धरान उपमहानगरपालिकाका ४ नं. वडा अध्यक्ष मानबहादुर राई बताउछन् ।
पद मार्ग रुट

treaking & home stay, pic 1
धरान उपमहानगर पर्यटन समितिका सदस्य एलिना मगरका अनुसार यो पदमार्गको रुट पनि हो । धरानदेखि अग्र्यानिक गाउँ बसन्तटार, दानाबारी, हर्दिया, सेर्गे, भेडेटार हुँदै गाडीबाट धरान फर्कने वा साँगुरीगढी पुगेर पुरानो धरान–धनकुटा पैदल मार्ग हुँदै धरान झर्न सकिन्छ । यो रुटमा दानाबारीसम्मको १ दिनको हाइकिङ गर्न सकिने छ भने पूरा रुटमा २ दिन एक रात वा ३ दिन २ रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ ।

रक क्लाम्बिङ र क्यानोनिङ
थप पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाले सम्भावित नयाँ गन्तव्यको रुपमा वडा नं ४ र २० मा रक क्लाम्बिङ र क्यानोनिङको पहिचान गरेको छ । ती गन्तव्यको विकासको लागि यस आर्थिक बर्षमा उपमहानगरले डिपिआर तयार गर्न बजेट छुट्याएको छ ।
धरानको वडा नं २० ठूलो खैरेस्थित तारेभिरमा रक क्लाम्बिङको पुर्वसम्भाव्यता अध्ययन गरिएको छ । यस्तै, धरानको वडा नं ४ स्थित सेर्गेमा क्यानोनिङको स्थलगत अध्ययन भएको यि क्षेत्रको विकासको लागि डिपिआर तयार गरिने धरान उपमहानगरकी कार्यवहाक मेयर मञ्जु भण्डारीले जानकारी दिइन ।
यस्तै धरान साइकिलिङका लागि पनि उत्कृष्ट गन्तव्य मानिएको छ । विजयपुर परिसरमा सुनसरी साइकिलिङ संघले रुटसमेत तयार गरेको छ । धरान, चिण्डेडाँडा, सागुरी गढी, भेडेटार, नाम्जे हुदैं सेर्गे, दानावारी, पाचकन्या धरानको रुट पहिचान गर्ने काम भइरहेको उपमहानगरले जनाएको छ ।

para
यस्तै साहासिक खेल पर्यटन अन्तर्गत पाराग्लाइडिङका लागि विष्णुपादुको माछामारा, चिण्डेडाँडा र भेडेटारको छोटी मोरङबाट ३ बर्ष अघिदेखि रोशन अधिकारी र लेखराज जीमिको सकृयतामा उडान गदै आएका छन् । यसको थप विकासका लागि प्रदेश सरकारले ५ लाख बजेटसमेत धरानलाई दिएको छ । लेखराज जिमीको सकृयतामा पाइलट उत्पादनका लागि उदयपुरको मैनामैनीमा प्रशिक्षणसमेज भइरहेको पाराग्लाईडिङका प्रशिक्षक देशवीर जिमीले बताए ।
देवीथान होम स्टे

devi than धरानमा आउने पर्यटकलाई बाँस बसाउन होम स्टे शुरु गरिएको छ । भेडेटार नपुग्दै करिब ८ सय मिटर पर धरान ४ स्थित देवीथान गाउँ पर्छ । कोशी राजमार्ग छोडेर करिब ५० मिटर उक्लिए पछि यहाँ पुगिन्छ । यहाँ ५ घरमा होम स्टे सेवा शुरु भएको छ ।
धरानको दृष्यावलोकन दिनमा त छदैछ, अझ रातमा झिलिमिल दृष्य यहाँबाट देख्न सकिन्छ । यहाँबाट सुर्यास्तको मनोरम दृष्य पनि देखिन्छ । देवीथान भेडेटारको उचाईमा भएको र त्यहाँबाट दक्षिणतिर खुला ठाउँ भएकोले धरानसँगै तराईको फाँट, सप्तकोशी नदि पनि नियाल्न सकिने स्थानीय गोरसमान आलेमगरले बताए । करिब ३ किलोमिटरको दुरीमा शिवजट्टा झरना छ । त्यहाँसम्म बिहानै पदयात्रामा पनि जान सकिन्छ ।
होम स्टे सञ्चालकहरुले पाहुनालाई अग्र्यानिक खाना र खाजा खुवाउने गर्छन । ढिडो, गुन्द्रुकको अचार, तामाको अचार, खानासँग लोकल कुखुराको सुप खुवाइन्छ । खाजामा बिहान चियासँगै फापरको रोटी, सिजनमा भुई स्याउँ, उसिनेको आलुसँग खोर्सानी र टमाटरको अचार यहाँका डिस हुन । पिउने लत भएकाहरुका लागि कोदोको जाँड र कोदोको घरेलु रक्सी पनि यहाँ खुवाउने गरेका छन् ।
आफ्नो घरमा होम स्टेसमेत शुरु गरेका वडा नं ४ का गोरसमान आलेमगरले कोरियन प्रविधिको इको प्यानलबाट घर बनाएका छन । एट्याच ट्वाइलेट र बाथरुम सुविधा छ । अर्का युवा गणेश थापाले २० लाख लगानीमा देवीथान भिलेज कटेज शुरु गरेका थिए । त्यसलाई होम स्टेको रुपमा प्रयोग गरेका छन् । कुल ५ घरमा २० जनाको क्षमता रहेको छ ।

कोकाहा होम स्टे

kokaha home stay
धरान २० कोकाहस्थित मानेडाँडामा स्थानीय महिलाहरुको अगुवाईमा कोकाहा कृषि सामुदायिक होम स्टेको सुरुवात गरिएको छ । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले स्थानीय ९ वटा घरमा शुरु गरिएको होम स्टेको उद्घाटन गरेकी थिइन । यहाँको मुख्य विशेषता भनेको तामाङ बाहुल्यता भएकाले तामाङ सँस्कृति, रहनसहन एवं ग्रामिण जनजीवनलाई प्रत्यक्ष देख्न, महसुस गर्न सकिन्छ ।
कोकाहा होम स्टे धरान बजारबाट करिब १० किलोमिटर दुरीमा उत्तर पश्चिममा रहेको छ । त्यहाँसम्म पुग्न ग्राभेल बाटो छ । मोटरसाइकल, टेम्पो वा अन्य चार पांग्रे गाडीबाट सहज रुपमा पुग्न सकिन्छ । नजिकै पौराणिक महत्वको विष्णुपादुका मन्दिर पनि छ । यो होम स्टेसम्म पुग्न विष्णुपादुकाको भञ्ज्याङ हुदै पुग्न सकिन्छ । यहाँ चिण्डे डाँडा हुदैँ पनि जान सकिन्छ । यहाँबाट तराई तथा धरान बजारको पुरा क्षेत्र देख्न तथा तस्विर लिन सकिन्छ ।

arganic khana
कोकाहा कृर्षी सामुदायिक होम स्टेकी अध्यक्ष जुनुमति तामाङका अनुसार ९ घरमा हाल ३५ जनासम्म पाहुना राख्न सक्ने क्षमता छ । विस्तारै अन्य घरमा पनि हो स्टे विस्तार गरेर एक रातमा सय जनासम्म राख्न सक्ने क्षमता पु¥याउने तयारी रहेको सुनाइन । यहाँ पनि गाउँमा उत्पादन भएका अग्र्यानिक खानेकुराहरु खुवाइने गरिन्छ । दुई महिनाअघि मात्र शुरु भएको होम स्टेमा ५ सय जना व्यक्ति आइसकेको अध्यक्ष जुनुमति तामाङले बताइन ।
धरान उपमहानगरपालिकाले अन्य तीन स्थानमा होम स्टे संचालनका तयारी गरेको छ । दानाबारी, हर्दिया, चिण्डेडाँडालगायत स्थानमा होम स्टे संचालनको तयारी भइरहेको कार्यबहाक मेयर भण्डारीले जानकारी दिइन । 
गोर्खा स्मृति पार्कः माछामारा

machamara1 park2
विष्णुपादुकामा होम स्टेमा एक रात बसेर विहान घुम्नका लागि सुविधा सम्पन्न पार्क निर्माणधिन अवस्थामा छ ।
धरान उपमहानगरपालिकाको वडा नं २० स्थित माछामारा डाँडा धरान बजारबाट करिब ९ किलोमिटर उत्तर पश्चिममा छ । भूपू गोर्खा सैनिक एवं परिवारहरुले करोडौंको लगानीमा ब्रिटिश गोर्खा स्मृति पार्क बनाइरहेका छन् । यो पार्कलाई गोर्खा सैनिकहरुको लागि पवित्र तीर्थस्थलकोरुपमा विकास गर्ने लक्ष्य राखिएको पार्क परिकल्पनाकार रमेश राईले बताए । यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । यो ग्रावेल सडक नेपालकै पवित्र तिर्थस्थल विष्णुपादुका जाने सडक पनि हो ।
मक्का मदिनाको जस्तै पवित्र तीर्थस्थलको रुपमा यसलाई विकास गरिने तयारी छ । यहाँ गोर्खा स्मारकको मुनि ७ फिट गहिरोमा घैला छ, त्यहाँबाट पाइप निस्केर मुर्तिको खुट्टामा निस्केको छ । त्यहाँबाट पहिलो र दोस्रो विश्वयुद्ध लड्दा वीरगति प्राप्त हाम्रा पुर्खाहरुको चिहानबाट सातोको रुपमा माटो ल्याएर राखिदैछ । हालसम्म फ्रान्स,बेलायत, हङकङ, बु्रनाई, सिंगापुर, मलेसियाबाट माटो आइसकेको छ ।
पार्क निर्माणमा हालसम्म ३ करोड बढी लगानी भइसकेको छ । यो सबै भूपू गोर्खा सैनिक र तिनका परिवारजनबाट जुटेको सहयोग हो ।
तयारी अवस्थामा रहको उक्त पार्कमा घुम्ने आउनेहरुको संख्या बढ्दैं गएको छ । यहाँ सितलता ताप्न र धरानको दृष्य हेर्न आउने गरेको २० नं. वडाका अध्यक्ष मणीराज राईले बताए । माछामाराबाट धरानको पुरै दृष्यालोकन गर्नसमेत सकिन भएकोले यहाँ मानिसहरु आउने गर्दछन् ।

साँगुरीगढी

Saghuri_Gadhi_purba (1)
पहाडी भेगमा गाडीको बाटो नहुदा संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङलगायत जिल्लाका वासिन्दा नुन तेल लिन तराई झर्ने बाटो धरानको वडा नं. २० स्थित साँगुरीगढीबाट रहेको बुढापाकाहरुले बताएका छन् ।
यो गढी विस १६६८ मा निर्माण गरिएको बताइएको छ । आठ लिम्बू राजा अर्थात ऐतहाङ शासनको अन्त्यपछि थिवोङहाङ अर्थात १० लिम्बूवान विजयपछि सायोक हाङले आफ्नो यक अर्थात गढी राखेको स्थान नै साँगुरी गढी हो । यस कारण यो स्थान लिम्बू जातिको सामरिक महत्वको स्थल मानिन्छ ।

hiking
यहाँ ढुंगाका कोठा भएका १० वटा किल्ला छन् । त्यतिबेलाका यक तुम्बा अर्थात गढीका नाइकेहरू यहाँ बस्थे । अहिले पनि ती किल्लाका अवशेषहरू छँदैछन् । ती ढुंगा त्यहाँका नभई धरान फुस्रेछेउ तामाखाम खोलाबाट लगिएको बुढापाका बताउदैं आएका छन् ।
यो गढी भेडेटार बजारबाट ३ किलोमिटर पश्चिमतर्फको दुरीमा छ । त्यहाँसम्म पुग्न सहायक बाटो(ट्रयाक) खुलेकोले सजिलै पुग्न सकिन्छ । यो लिम्बूवानी राजाको सामरिम महत्वको गढी हो ।
यो गढीबाट धरानको सुन्दर दृष्य हेर्न सकिन्छ । धरानदेखि सागुरी गढीसम्म पद मार्गको लागि राम्रो गन्तव्य भएको छ । उपमहानगरपालिकाको सकृयतामा पद मार्ग ट्याक बनाउने काम भएको छ । खुल्ला मौसममा यहाँको पद यात्रा रोमाञ्चक बन्छ । पूर्वी तराईको दृष्य हेदैं गढी चढ्न सकिन्छ । एक दिनको प्याकेज बनाउन सकिन्छ । गढी पुगेर भेडेटार हुदैं गाडीमा धरान फर्कन सकिन्छ । गढी मै बसेर भोली पल्ट हिड्दै धरान झर्न पनि सकिन्छ ।
धरानका युवाहरु हप्तामा एक पटक उक्त रुट भएर पदयात्रा गर्ने गरेका छन् । धरानका उसु प्रशिक्षक राजेन्द्र राई साथीहरुसँग प्रत्येक शनिवार साँगुरी गढीको पदयात्रा गर्ने गरेको बताउछन् ।
अन्य गन्तव्यहरु
धरान उपमहानगरपालिका भित्रै पर्ने दानबारीबारे, सेनकालमा अपराधीलाई दण्ड सजाय दिने ठाउँ सुलिकोट, किरातकालिन प्रस्तर स्तम्भ भएको ठिङ्गाबारी, धरानमा व्रिटिस घोपा क्याम्प स्थापना गर्दा खानेपानी पानीको मुहान बनाएको शिवजट्टा झर्ना, सिकारबास (हाल शिखरबास), धरानको सवै दृष्य देखिने निसाने डाडा, कोशी राजमार्ग नखुल्दा धरान धनकुटा–ताप्लेजुङ जाने पैदल यात्रीहरुले प्रयोग गरेको पुरानो बाटो च्युरीबासको ओरालो उकालो, हङकङको थाउजण्ड बुद्ध र विग बुद्ध मिलाए थाउजेण्ड वीग बुद्धको प्रतिमा बन्दै गरेको छोटीमोरङ, धरानको दृष्य हेर्ने र प्याराग्लाइडिङ गर्ने चिण्डे डाडा, भालु ढुङ्गा, विष्णुपादुका धाम, लिम्बुवानकालिन ऐतिहाहिक लिम्बुवानको सामारिक महत्वको गढी सांघुरी गढी हाइकिङ यात्राका गन्तव्य भएका छन् ।
पर्यटकलाई धेरै दिन राख्न नयाँ गन्तव्यको खोजी
धरान त्यसै पर्यटकीय गन्तव्य हो । केन्द्रीय सरकारको मुलुकका सय वटा गन्तव्य सूचीमा धरान पनि परेको छ । विजयपुर, विष्णुपादुका, नमुना सामसदायिक वन समुह, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, यहाँका मठ मन्दिरहरु पर्यटकहरुको आकर्षण हुन । तर यतिले मात्र पर्यटकहरुलाई धेरै दिन राख्न नसकिंने धरानका पर्यटन अभियान्ता बासुदेव बराल बताउछन् । धरानमा भएका प्राकृतिक सौन्दर्यले भरी पूर्ण स्थानहरुको विकासका लागि स्थानीय सरकारले पहिचान गरि पूर्वाधार विकास गर्न सके धरानमा आउने पर्यटकहरुलाई २/३ दिन सम्म राख्न सक्ने वातावरण बन्ने बराल बताउछन् ।
गुरुयोजना बन्दैं
निश्चय नै नयाँ गन्तव्य बन्नका लागि मुख्य चार कुरा अपरिहार्य हुन्छ । आकर्षण, पँहुच पूर्वाधार विकास र नागरिक सकृयता । ती चार कुरालाई माथिका नयाँ गन्तव्यहरुमा भरि पूर्ण बनाउन राज्यको लगानी आवश्यक हुन्छ । पर्यटन विकासका लागि गुरुयोजना आवश्यक हुन्छ । जो धरान उपमहानगरपालिकाले बनाएको छैन् । भोजपुरको सानो गाउँपालिका आमचोकले पर्यटनको गुरुयोजना बनाएर पर्यटन विकासका लागि काम थालेको छ । त्यो सानो गाउँपालिकाबाट धरानले पाठ सिक्नु पर्छ । पर्यटन प्रवद्धन तथा विकासका लागि आर्थिक बर्ष २०७६÷२०७७ को बजेटमा धरान उपमहानगरपालिकाले पर्यटन गुरु योजना बनाउन बजेट छुट्याएको छ । पर्यटन विकासका लागि एक करोड बजेटसमेत विनियोजन गरेको छ । यि नयाँ गन्तव्यहरु उपमहानगरको गुरु योजनामा पार्न पर्ने पर्यटन अभियान्ताहरुले बताएका छन् ।
धरानलाई पर्यटकीय पालिका घोषणा गरिदैं

dharan ghantaghar pic at night
प्रदेश सरकारले धरानलाई पर्यटकीय पालिका घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि एक करोड बजेटसमेत विनियोजन गरेको छ । सुन्दरता पहिचानका लागि १ करोड ३३ लाख बजेट धरानका लागि छुट्याएको छ । यो धरान उपमहानगरका लागि खुशीको कुरा हो । यो बजेटलाई सदुपयोग गर्न धरानले गुरु योजना बनाउनु पर्दछ । विगतमा भएको २ करोड ६३ लाख पर्यटनका बजेट ३० लाख खर्च त्यो पनि अनुत्पादक क्षेत्रमा गरेको तितो यथार्थलाई मनन गदैं यस आर्थिक बर्षमा छुट्याएको बजेट सही रुपमा सदुपयोग गदैं नयाँ गन्तव्यहरुको पूर्वाधार विकास गर्नु जरुरी छ । धरानको पर्यटकीय प्रवद्धन र विकासका लागि प्रदेश सरकारले मात्र करिव ११ करोड बजेट छुट्याएको छ । यो बजेट धरानका नयाँ गन्तव्यहरुलाई आकर्षक बनाउन, पूर्वाधार विकास गर्न स्थानीय सरकारले योजना बनाउन पर्ने स्थानीय बताउछन् । विगतमा प्रदेश सरकारले दिएको बजेट धरान उपमहानगरपाकिाले खर्च गर्न सकेन । यो बर्ष आएको बजेटलाई खर्च गर्न गुरु योजना बनाएर अघि बढ्नु पर्छ ।
गण्डकी प्रदेशबाट सिकौं
गण्डकी प्रदेशले होम स्टे विकासका लागि मात्र ३० करोड बजेट गत बर्ष विनियोजन गरेर होम स्टेहरुलाई अझ व्यवस्थित गर्ने काम ग¥यो । पोखराका होम स्टेहरुले १०/१० लाख पाए । गण्डकी सरकार जस्तै पर्यटकीय सम्भावना भएका स्थानको विकासका लागि स्थानीय सरकार, प्रदेश र संघले छाती ठूलो बनाएर काम गर्नु पर्दछ । (नेपाल पत्रकार महासङ्घ सुनसरी र धरान उपमहानगपालिकाको सहकार्यमा खोजमुलक लेखनवृत्ति अन्तर्गत धरानका नयाँ गन्तव्यहरुकाे विषयमा तयार गरिएको समाग्री । स.)