इटहरी/ केही दिनयता अत्यधिक गर्मी बढे सँगै सडक बालबालिका र मजदुरसँगै सर्वसाधारणहरूको जनजीवन प्रभावित बनेको छ । गर्मीले सडकमा आवत–जावत गर्नेहरूको सङ्ख्यासमेत केही दिनयता ह्वात्तै घटेको छ ।

केही दिनयता पूर्वी तराईसँगै इटहरी विराटनगरमा अत्यधिक गर्मी बढेको छ । चर्काे घामसँगै तातो हावासमेत चल्न थालेको छ । बढ्दो गर्मीका कारण जनजीवन पनि प्रभावित हुन थालेको सर्वसाधारण बताउँछन् । शनिबार इटहरीमा अधिकतम् तापक्रम ३३ डिग्री पुगेको छ । गर्मीले बालबालिका र वृद्धहरूमा स्वास्थ्य समस्यासमेत देखिन थालेको हो ।

ज्वरोका बिरामी अस्पतालमा अत्यधिक बढेको इटहरी अस्पतालले जनाएको छ । बालबालिकाहरू र वृद्धहरू बिरामीको कारण अस्पताल आउने गरेको अस्पतालका रामकुमार धमलाले जनाए । अस्पतालमा बिरामीको सङ्ख्या पहिलाभन्दा ह्वात्तै बढेको धमला बताउँछन् । अत्यधिक गर्मीका कारण बिरामीको सङ्ख्या बढेको उनको भनाइ थियो । केही दिनयता गर्मीसँगै बिरामीको चाप बढेको धमला बताउँछन् ।

गर्मी अत्यधिक बढेपछि निम्न आय भएका मजदुर, रिक्साचालक, ठेलाचालक र अन्य काम गर्ने वर्गलाई निकै समस्या भएको छ । दिनमा काम गर्न नसकिने भएका कारण उनीहरू समस्यामा परेका हुन् । बढ्दो गर्मीसँगै लोडसेडिङ पनि भइरहने हुँदा समस्या बढिरहेको इटहरीको त्रियुगा होटलका केशव गिरी बताउँछन् ।

गर्मीका कारण बजारमा २–३ दिनयता चिसो पेय पदार्थको बिक्री दोब्बर बढेको व्यवसायीहरू बताउँछन् । गर्मीको समयमा चिसो पेयपदार्थ र झोलिलो खानेकुरा बढी खान इटहरीस्थित एपेक्स अस्पतालका डाक्टर सतिश निरौलाले सुझाव दिए । ‘गर्मीमा पसिनाका माध्यमबाट शरीरमा भएको पानी धेरै निस्कन्छ’ उनले भने, ‘त्यसको कमी पूरा गर्न पनि पानी तथा अन्य झोलिलो पदार्थ बढी सेवन गर्नुपर्छ ।’

केही दिन अघिसम्म सक्रिय रहेको ‘प्रि–मनसुन’ अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरि नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गर्मीले देशका अधिकांश स्थानमा जनजीवन प्रभावित भएको छ ।

गर्मीमा सुरक्षित रहने उपायहरूः
प्रत्येक घण्टा दुई गिलास पानी पिउनुहोस् । उमालेको पानी माटोको भाँडामा राख्नु सर्वोत्तम हुन्छ । पिसाब जति सेतो वा पानीजस्तो हुन्छ, त्यति नै स्वास्थ्य राम्रो हुन्छ ! बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई पानीको मात्रा पुगे–नपुगेको ख्याल गर्नु पर्छ ।

कोल्ड ड्रिङ्क्सको सट्टा दही, मही, लस्सी, बेल वा घ्युकुमारीको सर्वत पिउनु राम्रो हुन्छ । कोल्ड ड्रिङ्क्स त्याग्नु राम्रो हो । कोल्ड ड्रिङ्क्सले शरीरमा झन् डिहाइड्रेसन बढाउँछ । अर्थात् पानीको मात्रा घटाउँछ । मदिराको सेवन नगर्नु नै राम्रो हो । मधेसमा बदाम (चना) को सातुको सर्वत पिउने चलन पनि छ ।