इटहरी/ सिंचाइ अभावमा यस वर्ष किसानहरूले अपेक्षाकृत धान रोपाइँ गर्न सकेका छैनन् ।

धानको पकेटक्षेत्र मानिएको सुनसरी, मोरङ, झापालगायतका क्षेत्रमा सिंचाइको अभावमा पर्याप्त धान रोपाइँ हुन नसकेको हो । प्रदेश १ को भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा पानी नभएका कारण धान रोपाइँ अत्यन्तै न्यून भएको छ ।

अघिल्लो वर्ष यो समयमा २० प्रतिशत रोपाइँ भए पनि यो वर्ष १८ दशमलव ३८ प्रतिशतमात्र रोपाइँ भएको मन्त्रालय १ नम्बर प्रदेशले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष रोपाइँ कम भएको मन्त्रालयका अभिमन्यु अधिकारीले बताए ।

धान रोपाइँ गर्नका लागि मल, बीउ, सिंचाइ कुनै पनि सुविधा नभएको कृषकहरूले गुनासो गरेका छन् । अहिले आकाशे पानीको भरमा रोपाइँ हुने खेतीयोग्य जमिनमा धान रोपाइँ हुन नसकेको अधिकारी बताउँछन् । ‘यो वर्ष अहिलेसम्म मनसुन हुन नसकेको कारण समस्या भइरहेको छ’–उनी थप्छन् ।

सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा पानी नभएपछि धानको बीउ पनि ढिला हुन गएको थियो । यो वर्ष भर्खरै अहिलेसम्म राम्ररी नहरमा पानी नआउँदा समस्या भएको कृषकहरूले बताएका छन् ।

यता सुनसरी–मोरङ सिंचाइ आयोजनाका कर्मचारी दुर्गा राईले नहरको गेटहरूको मर्मत गर्दा भनेजति पानी नहरमा जान नसकेको बताए । ‘पानी अहिले नहरमा बग्न सक्ने भए पनि गेट बनाउँदा आधा पानी कोशीतिर फर्कने गरको छ’ –राईले भने । अहिले नहरमा प्रशस्त पानी नगएको कारण किसानहरूलाई धान रोप्न समस्या भएको उनको भनाइ छ । केही दिनभित्र नहरमा पानीको समस्या अन्त्य हुने राईले बताए ।

अहिलेसम्म सुनसरीमा १४ प्रतिशतमात्र रोपाइँ भएको छ भने मोरङमा १७ प्रतिशत, झापामा २२ प्रतिशत, खोटाङमा १० प्रतिशत रोपाइँ भएको छ । त्यस्तै ओखलढुङ्गामा ५ प्रतिशत, उदयपुरमा १० प्रतिशत, धनकुटामा ४ प्रतिशत, तेह्रथुममा ९ प्रतिशत रोपाइँ भएको छ ।

भोजपुरमा सबैभन्दा धेरै ५७ प्रतिशत रोपाइँ भएको छ भने इलाममा २५ प्रतिशत रोपाइँ भइसकेको छ । पाँचथरमा ११, सोलुमा २२, सङ्खुवासभामा १२ र ताप्लेजुङमा ५ प्रतिशतमात्र रोपाइँ भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ नम्बर प्रदेशले जनाएको छ ।

धान खेतीका लागि कृषकहरूलाई मल, बीउ र सिंचाइको राम्रो प्रबन्ध नहुँदा यसतर्फ कृषकहरूको आकर्षण पनि घट्दै जान थालेको छ । विभिन्न समस्यालाई झेल्दै धान खेती लगाएका कृषकहरूले धान भित्र्याउने समयमा उचित मोल नपाउँदा उनीहरू निराश हुनुपर्ने कृषकहरूले गुनासो गरेका छन् ।

तसर्थ सरकारले धानबालीमा आत्मनिर्भर हुनका लागि न्यूनतम् आवश्यक कृषिजन्य वस्तुहरू सहज उपलब्ध गराउँदै सिंचाइको राम्रो व्यवस्था गर्नुपर्ने कृषकहरू बताउँछन् ।