उदयपुर/ मौसमी फलफूलमध्ये प्रमुख फलको रूपमा चिनिएको आँपको बजारमूल्यले सीमा नाघेको छ । स्थानीय आँपको उत्पादनमा भारी गिरावट आएपछि उदयपुरका बजारहरूमा आँप महँगिदा उपभोक्ता मारमा परेका हुन् ।

गतवर्ष यही समयमा १०–१५ केजी आँप आउने पैसाले अहिले एक केजी आँप पनि नआउने उपभोक्ताहरूले बताएका छन् । गतसाल एक केजी आँपको मूल्य १०–१५ रुपैयाँ थियो तर यसपालि एक केजी आँपको मूल्य एक सयदेखि एक सय ५० रुपैयाँसम्म पर्ने उपभोक्ताहरूले बताए ।

जिल्लाको भित्रीमधेशमा प्रशस्त पाइने आँप कम फलेकाले बजारमा मूल्य आकाशिएको छ । आँपको मूल्य अत्यधिक महँगो भएकाले किनेर खानसमेत नसकिने अवस्था आएको उपभोक्ता सरिता राईले बताइन् । गतसाल एक केजीको १० रुपैयाँदेखि १५ रुपैयाँसम्ममा किनेर खाएको आँप अहिले एक सयदेखि एक सय ५० रुपैयाँसम्म तिर्नुपर्ने उनले बताइन् ।

आँपको मूल्य वृद्धि भएर यतिसम्म पुग्ला भनेर कसैले कल्पनासमेत गरेको थिएन । धेरै बढ्दा पनि दोब्बरसम्म पुग्थ्यो तर यसपालि आँपको मूल्य दोब्बर नभई १५ गुणा बढीसम्म वृद्धि भएको उपभोक्ताहरूले बताएका छन् । स्वास्थ्यका लागि फलफूल अतिआवश्यक वस्तु भए पनि किनेर खानसक्ने अवस्था नरहेको उपभोक्ताहरूले बताए ।

बजारको सडकपेटीदेखि फलफूल तथा तरकारी बजारमा खचाखच राखेर व्यापार गरिने आँप यतिबेला एक–दुई स्थानमा त्यो पनि ढाकीमा राखेर व्यापारीहरूले व्यापार गर्दै आएका छन् । आँपको मूल्य वृद्धि हुनुमा कम आँप उत्पादन हुनु नै हो ।

बजारमा विभिन्न प्रजातिका आँप आएको भए पनि सबैभन्दा बढी मालदह बिक्री हुने गरेको व्यापारीहरूले बताए । आँपको राजा भनेर चिनिने मालदह आँप बढी उपभोक्ताहरूले रुचाउने गरेको व्यापारी बिना भगतले बताइन् । उदयपुरमा आँप कम फलेकाले बाहिरबाट ल्याएको आँप महँगो मूल्यमा बिक्री गर्नुपरेको उनले बताइन् ।

आँप कम फलेकाले महँगो मूल्यमा खरिद गरी महँगो मूल्यमै बेच्नु परेको व्यापारी बिना भगतले बताइन् । गतवर्षको तुलनामा यति धेरै आँपको मूल्य बढ्छ भनेर नसोचेको उनले बताइन् । काँचो फलफूलको व्यापारमा कहिले कुहिने त कहिले घामले सुक्ने भएकाले नाफा–घाटा उस्तै हुने गरेको उनले बताइन् ।

समुद्री सतहदेखि करिब ६ सय मिटरको उचाइमा फल्ने आँप यसपालि कम उत्पादन हुँदा बजार मूल्यले उपभोक्ता मारमा परेका छन् । जिल्लामा कमै मात्रामा व्यवसायिक खेती गर्ने र एकवर्ष फल्ने एक वर्ष नफल्ने आँपको गुण भएकाले यसवर्ष कम उत्पादन हुँदा बजार मूल्य बढेको कृषि ज्ञानकेन्द्र उदयपुरका बाली संरक्षण अधिकृत वासु ढुङ्गेलले बताए ।

जिल्लाको त्रियुगा, बेल्टार, रामपुर, त्रिवेणी र कटारी आसपासका भेगमा आँपको खेती गरिने र उक्त क्षेत्र आँप खेतीको लागि उपयुक्त क्षेत्र मानिन्छ । आँपको वंशाणुगत गुण नै एक वर्ष फल्ने, एक वर्ष नफल्ने भएकाले यस वर्ष नफल्ने वर्ष परेकाले पनि कम उत्पादन भएको अधिकृत ढुङ्गेलले बताए ।

मौसम र आँपको फल्ने नफल्ने वर्षले गर्दा यसपालि आँप उत्पादनमा गिरावट आएको त्रियुगा नगरपालिका कृषि विकास शाखा अधिकृत नाथुराम चौधरीले बताए । समयमा पानी नपर्नु र फल लागेपछि हावाहुरी तथा असिनाले दाना झारेकाले पनि कम उत्पादन भएको उनले बताए ।

समयमा पानी नपर्दा फूल फूल्दादेखि दाना लागेपछि पनि विभिन्न कीराले दाना झार्ने गर्दछ । तर समयमै पानी पर्दा कीरा नलाग्ने भएकाले राम्रो उत्पादन हुने गरेको अधिकृत चौधरीले बताए । कमैले व्यवसायिक आँप खेती गर्ने भएकाले पनि उत्पादनमा कमी आएको उनले बताए ।