उदयपुर/ वर्षाले सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रमा हिँडेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । जिल्लाको पहाडी क्षेत्र र छिमेकी जिल्ला हिँडेका यात्रुहरू गाईघाट, कटारी, घुर्मीलगायतका बजारमै अलपत्र परेका हुन् ।
५ दिनदेखि परेको अविरल वर्षाले सडक पूर्णरूपमा क्षति पु¥याएपछि बीचबाटोमै अलपत्र परेका छन् । पहिरोले कतै सडक पुरेको छ भने कतै बगाएपछि यातायात पूर्ण रूपमा बन्द भएको हो । यातायात नचल्दा तराई तथा शहर बजारबाट गाउँ फर्केका यात्रुहरू बीचबाटोमै अलपत्र परेको यातायात व्यावसायीहरूले बताए ।
गाईघाट–रानिबास–पोखरी–फोक्सिन्टार–रसुवा–बलम्ता–बाराहा–बासबोटे, गाईघाट–रानीबास–रौता–सल्ले–भुट्टार–लाफागाउँ, गाईघाट–साउने–धाब्लाङ, कटारी–घुर्मी–खोटाङ, कटारी–घुर्मी–ओखलढुङ्गा–सोलु, कटारी–बेतेनी भञ्ज्या–लिम्पाटार–रूपाटार, कटारी–बेतेनी भञ्ज्या–लिम्पाटार–ओख्ले–इनामे, मुर्कची–पुवारेभञ्ज्याङ–माझखर्क–बाराहाह–बासबोटे, मुर्कची–पुवारेभञ्ज्याङ–भुट्टार–लाफागाउँ, बेल्टार–चौदण्डीगढी–रानिटार, रामपुर–घारेलगायतका पहाडी क्षेत्रका सडक वर्षाले भत्किएर पूर्णरूपमा क्षति हुँदा यातायात ठप्प भएको हो ।
जिल्लाको रौतामाई, लिम्चुङ्बुङ, ताप्ली गाउँपालिकालगायतका पालिकाहरूको विभिन्न पहाडी गाउँ बस्ती हिँडेका सयौं यात्रुहरू वर्षाले बीचबाटोमै अलपत्र परेका छन् । त्यसैगरी चौदण्डीगढी, रानीटार, मैनामैनी, घारेलगायतका पहाडी गाउँ बस्ती फर्केका मानिसहरू र छिमेकी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलु हिँडेका यात्रुहरू बीचबाटोमै अलपत्र परेको हो ।
सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ को ठाँटीमा पहिरोले सडक बगाएको छ भने दर्जनौं स्थानमा पहिरो गएको स्थानीयले बताए । सडक अवरुद्ध भएपछि बाहिरबाट आएका यात्रुहरू कटारीमै अलपत्र परेका छन् भने पालिकाको कामले कटारी जान नसकिएको स्थानीय कुमार धमलाले बताए ।
वर्षाले सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रका बासिन्दाहरू सदरमुकामलगायतका बजार आवत–जावतमा समस्या आएको स्थानीय धमलाले बताए । सडक अवरुद्ध भएपछि बाजे बराजु हिँडेको बाटो हिड्नु बाहेक अरु कुनै उपाय नभएको उनले बताए । पहाडी क्षेत्रको सडक अवरुद्ध भएपछि गाउँघरमा खाद्यन्नको समेत समस्या आउन थालेको स्थानीय सीताराम राईले बताए ।
बजारको चामल किनेर खाने घरपरिवारको घरमा खाद्यन्नको समस्या आउन थालेको उनले बताए । गत २४ गतेदेखि परेको अविरल वर्षात्ले सडक अवरुद्ध भई यातायात नचलेपछि गाउँ फर्केका सयौं मानिस बीचबाटोमै अलपत्र परेका छन् ।
विभिन्न कामले सदरमुकाम झरेका पहाडी भेगका बासिन्दाहरू गाउँ फर्कन सकेको छैन । गाडी नचलेपछि बाजेपुर्खाले प्रयोग गरेको बाटो हिँड्न बाहेक कुनै विकल्प नभएको योगराज राईले बताए । सडकको पहुँच पुगेपछि झाडीमा परिणत भएको पुरानो गोरेटो हिँड्नलाई पनि पहिरो र खोलाको समस्याले गर्दा सम्भावना कमै भएको राईले बताए । पैदल हिँडेर गाउँ पुग्नलाई पनि करिब एक दिनदेखि २–४ दिनसम्म लाग्ने भएकाले सबैलाई सम्भव नभएको उनले बताए ।
जिल्लाबाट माथिल्लो पहाडी क्षेत्र चल्ने यातायात वर्षाले सडक अवरुद्ध हुदा पहाडी क्षेत्र गएका सवारी साधन उतै रोकिएर बसेको यातायात व्यावसायीहरूले बताएका छन् । अघिल्लो दिनसम्म धुलो उडेको सडक रातिदेखि वर्षाको कारण सवारी साधन उतै रोकिएर बसेको उनीहरूले बताएका छन् ।