देउराली/ हिउँदमा सँधै पानीको अभाव रहने धरान उपमहानगरपालिकाको ५ नम्बर वडाको देउराली बर्खा लागेसँगै बलेँसीको पानी सङ्कलन गरेर पिउन बाध्य छन् ।
हिउँदमा दुइदिनमा २ घण्टा खानेपानी वितरण गर्दै आएको देउराली खानेपानी तथा सरसफाइ समिति बर्खा लागेसँगै मुहानबाट लेदो पानी आउने र विछ्याइएका पाइपलाइन बगाउने समस्याका कारण देउरालीमा खानेपानी वितरण गर्न नसक्दा उपभोक्ताहरू बलेँसीको पानीमा भर पर्नुपर्ने बाध्यता रहेको छ । करिब एक सातादेखि धारामा पानी नआएपछि यहाँका स्थानीय आकाशको पानी बलेँसीमार्फत् सङ्कलन गरेर दैनिक गुजारिरहेका छन् ।
८ हजार ५ सय घरधुरीलाई पानी बितरण गर्दे आएको समितिसँग एक लाख घनमिटर भन्दामाथि पानी सङ्कलन गर्न सक्ने क्षमताको ६ वटा रिजर्भ ट्याङ्की रहेका छन् । तर लामो समयदेखि ती ट्याङ्कीमा पानी सङ्कलन नभई सिधै उपभोक्ताको धारामा आउने गरेको छ । हिउँदमा पर्याप्त पानीे नआउने र वर्खाको समयमा पानी आइहाले धमिलो आउने स्थानीय जमुना लिम्बूले बताइन् । एकहप्ता जति भयो होला धारामा पानी नआएको, पानी परिरहेकोले बलेँसीमा पानी थेपेर त्यहीँ पानी खाइरहेको उनले बताइन् ।
वर्षामा पानी आइहाले लेदो नभए पानी नै नआउने भएकाले देउरालीमा स्वस्थ पिउने पानीको हिउँद बर्खा नै पानीको अभाब रहेने गरेको स्थानीय धनकुमार राई बताउँछन् । उनले भने, ‘ट्याङ्की पानी सङ्कलन भएको छैन, मुहानमा समस्या आयो भने हाम्रो धारामा पनि आउँदैन । मैले सुनेको मुहानमा समस्या भएको छ अरे ।’
जनघनत्व बढेको बढ्यै भएका कारण सीमित श्रोत साधनले चलेको समितिले आफैले देउरालीको खानेपानीको समस्या सामधान गर्न नसक्ने भएकाले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले नै ठोस कदम नचाले भविष्यमा देउरालीमा पानीको झन ठूलो हाहाकार हुने उनको भनाइ छ ।
हप्ता दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले मुहानमा रहेको इन्टेकमा बालुवा भरिएपछि समितिले उपभोक्तालाई पानी वितरण गर्न नसकेको समितिका मिटर रिडर सबल लिम्बूले बताए ।
ट्याङ्कीको व्यवस्थापन राम्रो नभएका कारण खोलाबाट सोझै उपभोक्ताको धारामा पानी वितरण हुने भएकाले हिउँदमा समेत अस्वस्थकर पानी खाइरहेका उपभोक्ताले ट्याङ्कीमा पानी सङ्कलन नगरी दिँदा बलेँसीमा सङ्कलन गरेको पानीको पिउन बाध्यता बनेको पूर्व समितिका सदस्य चन्द्र भुजेलले आरोप लगाए । उपभोक्ताले तिर्ने मासिक शुल्क र मिटर जडान शुल्कबाट चलेको समितिमा हाल ६ जना कर्मचारीहरू रहेका छन् ।
समितिको सीमित श्रोत साधनले बढ्दै गरेको जनघनत्वलाई पानी पु¥याउन नसकिएको समितिका अध्यक्ष मोहनकेशर कार्कीले बताए । उनले भने, ‘ट्याङ्की पनि व्यवस्थित छैन, पुरानो समितिको पालामा थोरै जनसङ्ख्या थियो । त्यतिबेला ती ट्याङ्कीहरूमा पानी लगेर पुर्याउन सकिन्थ्यो तर अहिले जनसङ्ख्या दोब्बर छ ।
जनसङ्ख्या वृद्धिले बढेको पानी अभावका कारण पटक–पटक प्रदेश तथा स्थानीय सरकारमा पहल गर्दा पनि सुनुवाइ नभएको अध्यक्ष कार्कीको भनाइ छ । धरान उपमहानगरपालिका श्रोत मर्मत गर्नका लागि दिएको रकम र समितिमा जम्मा भएको केही रकमले पानीको श्रोत बढाउने काम भइरहेको अध्यक्ष कार्की बताउँछन् ।