बिर्तामोड/ कृषिलाई यान्त्रिकीकरण गर्ने सरकारको प्रमुख नीति छ । थोरै जनशक्तिले धेरै उत्पादन गर्नका लागि यान्त्रिकीकरण गर्न जरुरी भएको कतिपय कृषिविद्हरूको राय छ । सोही बमोजिम आधुनिक कृषि औजार भिœयाउनका लागि सरकारले भन्सारमा समेत सहुलियत दिएको छ । तर, तिनै आधुनिक उपकरणको सहायताले खेती गर्दा उत्पादकत्व घटिरहेको तथ्य सरोकारवालाले अनुमानसमेत गर्न सकेका छैनन् ।

केहीवर्ष अघिसम्म गोरु वा राँगाको प्रयोग गरेर खेती गर्ने चलन थियो । त्यसो गर्दा गोबर मल उत्पादन हुने भएकाले खेत मलिलो हुने गथ्र्याे । गोरु वा राँगाले जोत्दा माटोमा रहेका गड्यौला, घुरघुरे जस्ता जीवहरू जीवित हुने गरेका थिए । ती जीवहरूले माटोको अम्लीयपन घटाउनुका साथै खुकुलो बनाउने भएका कारण उत्पादकत्वमा वृद्धि हुने गरेको कृषिविद् राजेन्द्र कडरिया बताउँछन् ।

कृषकले गोरु जोत्ने क्रम घटेसँगै ट्याक्टर प्रयोग हुन थालेको हो । ट्याक्टरमा पनि खासगरी रोडाभेटर प्रयोग गर्ने क्रम बढेपछि उत्पादकत्व घट्न थालेको कडरियाको भनाइ छ । रोडाभेटर प्रयोग गरेर खेत जोत्दा जमिनमा रहेका बालीलाई आवश्यक पर्ने जीवहरू मर्ने भएका कारण उत्पादकत्व घट्न थालेको उनको भनाइ छ । खासगरी गहिरो स्थानसम्म जरा हाल्ने बालीका लागि रोडाभेटर उपयुक्त नहुने उनले बताए । रोडाभेटरले जोत्दा माटोलाई एकैपटकमा ‘आकर्षक’ बनाउने भएका कारण यसको प्रयोगमा कृषक आकर्षित भएका हुन् । कडरियाले ट्याक्टरमा सामान्य (नङ्ग्रे) हलोमात्र प्रयोग गर्न कृषकलाई सुझाव दिएका छन् ।

अहिले नेपालमा उपलब्ध कृषि यन्त्रको प्रयोगबाट धान खेती गर्दा लागत नै नउठ्ने गरेको कृषकहरूको गुनासो छ । केही वर्ष अघिसम्म हरेक कृषकले श्रम गर्ने भएका कारण धान खेतीबाट प्रशस्त फाइदा हुने गरेको थियो । उनीहरूले श्रमको उचित मूल्य पाउने गरेका थिए । अहिले बीउ राख्न, काढ्न, रोप्न, काट्नदेखि झार्नसम्म उपकरणको प्रयोग गर्नथालेका कारण लागत बढी आउने गरेको झापाको अर्जुनधाराका कृषक देवी खातीले बताए । गोरु पाल्न छोडेसँगै रासायनिक मल र बीउले माटोको उर्बराशक्ति तीव्र रूपमा क्षयीकरण भइरहेको कृषकहरूले बताएका छन् ।

कृषिमा आधुनिक उपकरण भित्रिएसँगै हलो, जुवा अहिले लोप हुन लागेको छ । झापामा प्रत्येक किसानको घरमा हुने हलगोरु अहिले एउटा टोलमा मुस्किलले एक–दुई घरमा मात्र भेटिन्छ । हलगोरु पाल्न छोडेसँगै किसान पनि यतिबेला फुर्सदिला बनेका छन् । धानको बीउ राखेदेखि भकारीमा धान हाल्दासम्म मेसिनको प्रयोग हुन थालेपछि किसान फुर्सदिला बनेका हुन् । केहीवर्ष अघिसम्म खेतका गरा–गरामा जोत्न गोरु र हलीले गोरु धपाउँदा आएको आवाजले महोत्सवको झल्को आउँथ्यो । अहिले मेसिनको आवाजले त्यसलाई पूरै विस्थापित गरेको छ ।

अहिलेको उत्पादनले मेसिन प्रयोगको खर्च धान्न सक्ने अवस्थामा समेत नरहेको पाइएको छ । उत्पादन प्रत्येक वर्ष घट्दै जानु र मानिसको साटो मेसिनले काम गर्दा लागत बढी हुने हुनाले आम्दानीले त्यसलाई धान्न नसक्ने गरेको गुनासो किसानको छ । बिर्तामोड–२ का किसान मेदनी बरालका अनुसार एक बिघा जमिनमा धान लगाउँदा सिजनमा ४५ हजार रुपैयाँसम्म लागत पर्ने गरेको छ । उत्पादन भने बढीमा ६० देखि ६५ मन हुने उनले जानकारी दिए । कतिपय उच्च जमिनमा भने आकाशे पानीको भर पर्नुपर्ने भएका कारण त्यति पनि उत्पादन नहुने बरालको भनाइ छ ।

केही वर्ष अघिसम्म कृषि पेशामा आबद्ध युवाहरू धेरै अहिले विदेशिएका छन् । गाउँघरमा वृद्ध–वृद्धा र बालबालिकामात्र बस्ने गरेका कारण उनीहरू युवाले जसरी हलगोरु पाल्न र जोत्न सक्ने अवस्थामा छैनन् । गोरु पाल्न छोडेसँगै हलो, जुवा, अनौ, हल्लुँड, हरिस, फाली करुवाजस्ता शब्द अब नयाँ पुस्ताका लागि इतिहास बनेका छन् । यो सँगै रोपाइँ गर्दा लगाइने बेठी, गाइने असारे गीतसमेत लोप हुन लागेका छन् ।

झापाको ८७ हजार हेक्टर जमिनमा कृषकले धानबाली लगाउँदै आएका छन् । तर धान, मकै बालीमा मात्र झापा आत्मनिर्भर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम भट्टराईले बताए । अन्य सबै अन्नबालीहरू झापामा भारतसहित नेपालका अन्य जिल्लाबाट आयात हुने उनको भनाइ छ ।