साउनको महिना शुरु भएसँगै शिव मन्दिरहरूमा चहल–पहल बढ्ने गर्दछ । साउन महिनामा शिवलाई जल अर्पण गरे मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । धरानको पिण्डेश्वर बाबाधाममा पनि २०३९ सालदेखि जल चढाउँदै आइएको छ । साउन महिनामा मात्र यहाँ ४ देखि ५ लाख भक्तजनले जल अर्पण गर्छन् । झापा, मोरङ, सुनसरी, उदयपुरसहित भारत विहार, बङ्गाल सिक्किमबाट भक्तजन जल चढाउनका लागि आइपुग्छन् । भक्तजनको चापलाई सुगम बनाउन पिण्डेश्वर बाबाधाम समितिले हरेक वर्ष उचित व्यवस्थापन गर्दै आएको छ । यसै विषयमा पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीसँग ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः

– बोलबमको महिना आयो, तयारी कस्तो भइरहेको छ ?
तयारीहरू लगभग पूरा भएका छन् । तयारी स्वरूप नै प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन १ गते नै जल अर्पण गर्दै विधिवत् शुभारम्भ पनि गरिसक्नुभएको छ । जल अर्पण कार्यक्रममा हामीले प्रदेश १ का उच्च पदस्थ व्यक्तिहरूलाई, स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूलाई पनि बोलाएका थियौं । जसले गर्दा स्थानीय स्तरमा प्रचारप्रसारमा पनि सहयोग पुगेको छ । भक्तालुलाई आकर्षित गर्न साउन १५ गतेदेखि २१ गतेसम्म सरस्वती सरोवरमा सन्ध्याकालीन महाआरती पनि गर्दै छौँ ।

– भक्तजनहरूलाई चाहिँ कसरी आमन्त्रित गर्दै हुनुहुन्छ ?
साउन महिना शुरु हुनुअगावैदेखि पिण्डेश्वर मन्दिरका बारेमा र बोलबमको समयमा हुने गतिविधिहरूका बारेमा जानकारी गराउँदै आएका छौं । पत्रकार सम्मेलन गरेर पनि जानकारी गराएका छौं । त्यस्तै प्रचार–प्रसार अझ प्रभावकारी बनाउन उदयपुर, सप्तरी, मोरङ, झापा, इलामलगायतका विभिन्न जिल्लाका स्थानीय तह र गाउँहरूमा माइकिङ, पोष्टर, पम्प्लेटिङ गरेका छौं ।

– यसअघिको अभ्यासका आधारमा कति भक्तजन आउलान् त ?
पुरानो रेकर्डअनुसार विषेश गरी झापा, मोरङबाट अलि बढी भक्तजनहरू आउने गरेको पाइएको छ । भारतको सीमा क्षेत्र विहार, सिक्किम र बङ्गालबाट पनि भक्तजन आउने गर्नुहुन्छ । त्यस्तै प्रदेश एक र प्रदेश दुईका अलवा पश्चिमका जिल्लाहरूबाट पनि आउने गर्नुभएको छ । यसवर्षको बोलबममा एक महिनाभरि चारदेखि पाँच लाख भक्तजनहरू आउने अनुमान गरेका छौँ ।

– यतिका धेरै भक्तजन आउँछन्, अनि व्यवस्थापनको काम चाहिँ कसरी गरिरहनु भएको छ ?
भक्तजनहरू धेरै बेर लाइनमा बस्न नपरोस् भनेर आइतबार सात बजेदेखि २४ सै घण्टा खोल्ने व्यवस्था गरेका छौँ, जसले गर्दा भक्तजनहरू धेरैबेर लाइनमा बस्न पर्ने छैन । ज्येष्ठ नागरिक, बालबालिका र बिरामीलाई विषेश व्यवस्था गरेर दर्शन गराउने सोचमा छौँ । साउन महिना वर्षात् हुने भएकाले वहाँहरूलाई लाइनमै ओत लाग्ने गरी ६०–४८ को अस्थाइ ट्रष्ट निर्माण गरेका छौँ । प्राथमिक उपचारका लागि नेपाल परिवार नियोजन सङ्घ, रोट्¥याक्ट क्लब अफ घोपा र विजयपुर हस्पिटल प्रालिले सहयोग गरिरहेका छन् । आकस्मिक बिरामी भएको अवस्थामा प्रत्येक सोमबार एम्बुलेन्सको पनि व्यवस्था गरेका छौँ । यदि अस्पताल लाने अवस्था आयो, तर बिरामीसँग उपचार खर्च नभएमा समितिले नै आफ्नो पैसा खर्च गरेर भए पनि त्यस्ता बिरामीको उपचार गरिदिने छ । दाताहरूले एयर कुलर प्रदान गर्नुभएको छ । गर्मी भएको खण्डमा भक्तजनलाई सहज होस् भनेर मन्दिर परिसरमा त्यो पनि राख्ने व्यवस्था गरेका छौँ ।

– बोलबमका लागि अन्य क्षेत्र पनि छन्, यहाँ नै आउनु पर्ने त्यस्तो केही कारण छ ?
पिण्डेश्वर बाबाधाम पौराणिक कालदेखि कै हो । यो कुनै व्यक्तिविशेषले निर्माण गरेको मन्दिर होइन । यो परापूर्व कालमा समुद्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्किएको र ती वस्तुहरूलाई छानेर अमृत निकालिएको र देवताहरूलाई भगवान शिवले मोहिनी रूपधारण गरी पिलाएको स्कन्दपुराणमा उल्लेख छ । अमृत निकाली सकेपछि निस्केको विकार वस्तु (छोक्रा) लाई यहाँ पिण्ड स्थापन गरी देवताहरूकै पालामा पिण्ड भगवान् शिवको प्रतीक मानी पूजा गर्ने गरेको स्कन्द पुरणमा नै उल्लेख छ । यतिमात्र नभएर शिवको आँसु रुद्राक्षको वनको रूपमा पनि पिण्डेश्वर परिसरमा रहेको धर्मशास्त्रहरूमा उल्लेख छ । रुद्राक्षको फल प्राप्ति गर्ने उद्देश्यले संसारभरि जहाँ लगाए पनि त्यो रुद्राक्ष पिण्ेश्वरमा ल्याएर मन्त्र उच्चारण गरेकै हुनुपर्ने जनविश्वास छ । स्वच्छ मनले मनोकामना गरे, इच्छाएको पूरा हुने कुरा यहाँ आउने भक्तजनहरू आफैंले बताउँदै आइरहेका छन् । जसले गर्दा शिवलाई मान्ने भक्तालुहरू यहाँ आए इच्छाएको कुरा पूरा हुन्छ ।

– वराहक्षेत्रको कोकाहाबाट जल ल्याएर चढाउने गरिन्छ, त्यहीँबाट जल चढाउनै पर्ने त्यस्तो केही धार्मिक विश्वास ?
यसको महत्व स्कन्द पुराणमा उल्लेख छ । यहाँ चाहिँ घडा नै घोप्टिएको स्थानका रूपमा सप्तकोशी गङ्गालाई पुज्ने गरिन्छ । त्यसैले अमृत निकाल्दा शेष रहेको छोक्राको पिण्ड पिण्डेश्वर बनेकाले यसलाई कोशी वा कोकाहाको जल नै चढाउनुपर्छ भन्ने मान्यता रहेको छ ।

प्रस्तुतिः डम्बर कार्की