धरान/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जनसेवा माविले बाली विज्ञान विषय पढाउन थालेपछि अहिले जेटिए बन्ने ध्याउन्नमा ‘न्यु जेनेरेसन’ होमिएका छन् ।

जेटिए बन्नका लागि माउण्ट हर्मन चिल्ड्रेन एकेडेमीमा पढ्दै गरेकी कृतिका अधिकारी जनसेवामा भर्ना भइन् । अङ्ग्रेजी खरर पढ्ने सपना पालेकी अधिकारी अहिले बाली विज्ञानमा कक्षा १० मा अध्ययनरत छिन् । उनले भविष्यमा जेटिए बन्ने सपना देखेकी छन् ।

अधिकारीले अन्य धेरैबाट यो विषय पढे चाँडै रोजगारी पाइन्छ भन्ने सुनेकीले पनि बाली विज्ञान पढ्न आइपुगेकी हुन् । उनी भन्छिन्, ‘धेरैले भने यो विषय राम्रो हुन्छ भनेर त्यही भएर पढ्न आएँ ।’ अहिले उनीजस्तै बाली विज्ञान पढ्ने विद्यार्थीको सङ्ख्या ४८ पुगेको छ । सबैको एउटै सपना छ, जेटिए बन्ने ।

प्राविधिक शिक्षामा सरकारले लगानी गरिरहेका बेला कानेपोखरी गाउँपालिकाका धेरै विद्यार्थीको ध्यान बाली विज्ञानतर्फ छ । तर, सीमित कोटा हुने भएकाले पनि धेरैले अवसर नपाउने समस्या रहेको जनसेवा माविका प्राचार्य दामोदर सिग्देल बताउँछन् । बाली विज्ञानका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

प्रवेश परीक्षा उत्तीर्ण गरेका आधारमा विद्यार्थीहरू छनौट हुने गरेका छन् । ‘बाली विज्ञान सम्भावना भएको क्षेत्र हो’ –प्राचार्य सिग्देल भन्छन् । अधिकारीजस्तै दीपेश रिजाल पनि बाली विज्ञानका छात्र हुन् । भविष्यमा जेटिए बनेर कृषिमा सुधार ल्याउने सोच राखेका छन् । बाली विज्ञानमै प्लस टु पूरा गरेलगत्तै जागिर पाइने भएकाले पनि उनलाई यो विषयले आकर्षित गरेको हो ।

उनी भन्छन्, ‘सबै बालीसम्बन्धी जानकारी पाइने रहेछ । सैद्धान्तिक मात्रै होइन, अभ्यास पनि गराइने रहेछ ।’ बाली विज्ञानमा कुन बाली कस्तो माटोमा उपयुक्त हुन्छ भन्नेदेखि लिएर बाली नष्ट गर्ने कीराहरूलाई कुन विषादी प्रयोग गर्ने भन्नेसम्मको ज्ञान हुने गरेको उनी बताउँछन् ।

कृषककै छोरो भएकाले पनि उनलाई कृषिकै प्राविधिक भएर देश सेवा गर्ने रहर छ । रिजाल झैं बाबुराम दाहाल पनि जेटिए बन्ने ध्याउन्नमा छन् । माउण्ट हर्मन चिल्ड्रेन एकेडेमीबाट सामुदायिक स्कुलमा हाम्फाल्नुको उद्देश्य नै जेटिए बन्नु हो । गाउँका दाजुहरू र शिक्षकहरूले पनि यो विषय पढ्दा रोजगारीको ग्यारेण्टी हुने बताएपछि उनी थप यो विषयमा आकर्षित बनेका हुन् । बालीका सबै विषय पढ्न पाउँदा खुशी लागेको बताउँछन् ।

गाउँघरतिर बालीमा अनेक प्रकारका रोगले सताउने गरेको छ । त्यस्ता रोगहरूको निदान गर्नका लागि पर्याप्त प्राविधिकको अभाव हुँदा अरूले भनेको भरमा औषधि प्रयोग गर्नु परिरहेको दाहालको भनाइ छ । तर, आफूले त्यही विषयमा पढेपछि त्यो समस्या आएमा निदान गर्न सहज हुने उनी बताउँछन् ।

जनसेवाले बाली विज्ञान शुरु गरेयता विद्यार्थीहरूको चाप पनि अत्यधिक छ । बाली विज्ञानका विद्यार्थीको पोसाक नै छुट्टै किसिमको छ । बाली विज्ञानका विद्यार्थीहरूको पोसाक बालीसँग मिल्दोजुल्दो छ । ‘स्पष्ट रूपमा विद्यार्थीहरू चिनिउन् भनेर पोसाक पनि बालीसँग मिल्दोजुल्दो बनाइएको हो’–प्राचार्य सिग्देल भन्छन् । २०७३ सालदेखि शुरु भएको बाली विज्ञानमा प्लस टु उत्तीर्ण गरेपछि जेटीए बन्ने प्राचार्य सिग्देल बताउँछन् ।

बाली विज्ञानमा बोर्डिङबाट आउनेको सङ्ख्या झण्डै आधा रहेको छ । प्रवेश परीक्षामा पनि हरेक वर्ष ७० देखि माथिको हाराहारीमा आउने गरेका छन् ।