हाम्रा आमाबुबाका सात सन्तानमध्येको म जेठो । पाँचथर रानीगाउँमा त्यो बेला स्कुल भन्ने थिँदै थिएन । पढ्ने मामलामा चाहिँ बाजेबराजुदेखि नै चलिआएकै चलन रहेछ । शाह राजाले लिम्बूहरूलाई दिएको राजाकै म नाति । बुबा चाहिँ २०११ सालतिर जिल्ला न्यायालयमा लेखनदासको काम गर्नुहुन्थ्यो । लेख्ने पढ्ने भएकाले बुबाले नै गाउँमा २०१३ सालमा स्कूल खोल्नुभयो, श्री सार्वजनिक प्रावि । अहिले निमावि भएको छ ।
२०११ सालमा जन्मिएको म चाहिँ झण्डै ९–१० वर्षको हुँदामात्रै क ख सिक्न थालेँ । त्यो बेला गुरुकुल थियो । हिउँदमा धान झाँट्नका लागि बनाएको ‘खला’ मा धान थन्काएपछि त्यही खलामा अङ्गीराज आचार्यलाई गुरु थापियो । बुबाले एक रुपैयाँ पैसा र एक माना चामल गुरु भेटी चढाउँदै आजदेखि मेरो छोरा पनि पढ्छ भन्नुभयो । खुल्ला आकाशमा माटोमै बसेर पढ्न थालियो । १५–२० जना थियौँ होला विद्यार्थी । ओछ्याउने कुरा केही हुन्थेन । माटोमै बस्यो, माटोमै पढ्यो । हिउँदको बेलामात्रै पढाइ हुन्थ्यो । क, ख, ग, घ र क का कि, की अनि क्र ख्र, क्रि, ख्रि, क्य, ख्य, रेफ भएको सबै पढेर अ, आ इ ई पढेर मात्रै कक्षा १ मा जाने चलन थियो ।
खुल्ला आकाश केही समय पढेपछि बसाइँ सरेर गएको एउटा थोत्रो घर थियो । हामीलाई बस्नका लागि तख्ता ओछ्याइदिएको थियो । लहरै त्यो तख्तामा बस्थ्यौँ । अनि माथि पनि ठूलो खाल्को तख्ता नै ओछ्याइएको हुन्थ्यो । त्यहाँ चाहिँ माटो मसिनो गरी छिन्केर राख्न लगाउनुहुन्थ्यो । अनि आ–आफ्नो भाग छुट्याइदिएको हुन्थ्यो । त्यहीँ क, ख लेख्थ्यौं । नआइञ्जेलसम्म मेट्दै, लेख्दै । कतिपटक मेट्यौं(मेट्यौं । औँलाले लेख्ने चलन थियो । अहिलेको जस्तो डटपेन त सपनामा पनि थिएन । लामो डिको तान्यो । अनि गुरुले लेख्न लगाएको कुरा लेख्यो । शुरुमा क नै लेखेको मलाई राम्रोसँग याद छ । ठूलो थिएँ । सानैमा स्कुल पठाउँदैन थिए । त्यो बेला पढ्ने चलनै थिएन । क, ख नआउँदा हातमा छडी र कन्सिरी नउखेलेको दिनै हुँदैनथ्यो । घरमा आएर पनि पढ्नुपर्ने । बुबाले एकपटक कन्सिरी तानेको अहिले पनि भुल्दिन । कन्सिरी तान्दा छुलुक्कै मुतुञ्जेल दुख्ने हुन्थ्यो ।
त्यसपछि मात्रै एक कक्षामा बुबाले खोलेको स्कुलमा पढ्न गइयो । गाउँघर तिरै बनाएको कालोपाटी मुङ्ग्रोजस्तो हुन्थ्यो । अङ्गार कुट्यो, दुवैपट्टि लिप्यो । ढुङ्गाको खरी हुन्थ्यो । रानीगाउँमा ढुङ्गाको खरी पाइन्थ्यो । त्यसैले लेख्ने, मेट्ने । कालोपाटीमा लगाएको अङ्गारले लुगा हेरिनसक्नु हुन्थ्यो । हाम्रो बेलामा कट्टु लगाउने चलन थिएन । धोती हुन्थ्यो । कन्दनीमा धोती बाँध्यो । स्कूल गयो । चलनै त्यही थियो । गुप्ताङ्गको भाग मात्रै छोप्यो । अरू त नाङ्गै । एक दुई कक्षासम्म लगाइयो । दुईतीन कक्षामा चाहिँ टाँक मसी भन्ने हुन्थ्यो ।
बाँसको ठुँडो बनाएर मसी चोप्दै लेख्दै गरिन्थ्यो । ५ कक्षामा पुग्दा मसी हाल्ने टेको भन्ने कलम पाइयो । घरदेखि स्कूल पुग्न २०–२५ मिनेट उकालो तेर्सो हिँड्नु पथ्र्यो । मैले त्यही स्कुलबाट ५ पास गरेँ । गाउँमा त्योभन्दा माथि स्कुल थिएन । त्यसपछि मेहरबोटे भन्ने ठाउँमा जयनारायण आदर्श मावि थियो । घरदेखि ५ घण्टा कस्सिएर हिँड्नु पर्ने । तर, मचाहिँ उतै बसेर पढ्न थालँे । स्कुल पढ्दा साह्रै चकचके थिएँ । लिम्बू पनि परेँ, अलिक रिसाहा पनि । खेलकुदमा डण्डीबियो खेल्ने चलन थियो । एकपटक चुँ गर्ने भन्दै डण्डीबियो खेल्दै थियौं । एक जना बाहुन साथी र मेरो साथी त लाप्पा खेल्न थालिहाले । लिम्बू पनि झोक्की कुटिहाल्यो । बाहुनले पनि कुटिहाल्यो । त्यसपछि गुरु भएको ठाउँमा पु¥याए । त्यो क्षण अहिले पनि भुल्न सक्दिन । लिम्बू साथीले त तिमीले पनि कुट्यौ मैले पनि कुटेँ । बराबर भैगो नि भन्दै थियो । तर, बाहुन बाठो के मान्थ्यो ।
कक्षा ६ सम्म जयनारायण मावि पढेपछि पद्मसुन्दर लावतीले खोलेको पृथ्वी मावि भन्ने थियो । घरबाट ४ घण्टाको दूरीमा पथ्र्यो । त्यहाँ आइयो । ६ कक्षामा दोस्रो भएको थिएँ । कक्षा ७ नपढी सिधै ८ मा भर्ना गराइदिए । ८ मा गएकै साल दोस्रो भइहालेँ । पढ्न जान्ने नै थिएँ । प्रथम, दोस्रो भइरहन्थेँ । एकपटक रमाइलो घटना छ । संस्कृतको पाठ पढ्दै थियौं । गजः, गजौ, गजाः भनेर स्वर मिलाइरहेका बेला मैले चाहिँ गजः गजौ, गजा, समातेर बजा भनेको हरिलाल दाहाल सरले सुन्नुभएछ । मेरो त डडाल्नु खुस्किने गरी कुटिहाल्नुभयो । त्यो क्षण रमाइलो छ । त्यहीबाट पछि एसएलसी दिएँ २०२९ सालमा । १३ जना विद्यार्थीले एसएलसी दिएका थियौं ।
तेह्रथुमको सिंहबाहिनी स्कुलमा केन्द्र थियो । ६ जना जतिले मात्रै पास गरेछौं । सेकेण्ड डिभिजनमा पास भएँ । त्यो बेला सेकेण्ड डिभिजन पास हुनेले जुनसुकै विषय रोजी–छाडी पढ्न पाउँथ्यौं । एसएसली दिएर बसेको थिएँ । गाउँमै मास्टरको जागिर खुलेछ । १४५ रुपैयाँ तलब हुन्थ्यो । मास्टर मान्छे लिम्बूहरूको मौलिक नाँच ‘धान नाँच’ खुबै नाचिन्थ्यो, तरुणीसँग । पछि एसएलसीको रिजल्ट आयो । रिजल्टमा पास पनि भइयो । तर, आफूलाई त गाइड गर्ने मान्छे थिएन । के पढ्ने थाहा थिएन । मास्टर बन्छु भनेर इलाम क्याम्पसमा आइएडमा भर्ना भएँ । त्यो बेला दुई सेमेस्टर इलाममा र दुई सेमेस्टर धनकुटामा पढ्नुपथ्र्यो । पहिलो दुई समेस्टर पढिसकेपछि त्यो बीचको ग्यापमा फेरि पौवाको सार्ताम निमाविमा पढाएँ । एक वर्षजति पढाएपछि फेरि धनकुटा आएर दुई सेमेस्टर पूरा गरेँ ।
पास पनि भइयो । घरमा गएको फेरि खलङ् निमावि याङ्नाममा जागिर खुलिरहेको रहेछ, इङ्लिस विषय पढाउने । म पनि आइएडमा मेजर इङ्लिस नै पढेको भएर गएँ । त्यहाँ ६ महिनाजति पढाएपछि मौवाको इन्द्रेणी मावि पुगँे । त्यहाँ ६ महिनाजति पढाएको थिएँ होला । हरिलाल साहु भन्ने विद्यालय निरीक्षक (विनि) सँग भेट भयो । म स्थायी भइसकेको थिएँ । विनिलाई भेटेपछि म त अब पढ्छु, भनेँ । विनिले नै जिल्ला शिक्षा अधिकारीलाई भेटाइदिए । शुरुमा त जिसिअले मानेनन् । स्कुलमा पढाउने शिक्षक छैन, विनिले नै सिफारिस गर्न ल्याउने भन्दै कड्किए । विनिले पनि ‘पढाउने मान्छे नै पढ्न जाने भन्दै छ । तपाईंले नदिए पनि ऊ गइहाल्छ’ भन्दिए । त्यसपछि जिसिअले सिफारिस लेखिदिए ।
त्यो सिफारिसले त्रिभुवन विश्वविद्यालयमा केहीे कामै त नर्गदो रहेछ । त्रिविमा बिएड भर्ना भएर पढ्न थालियो । परीक्षा आउनुभन्दा १८ दिन अगाडि जुल्फीकर अलि भुट्टोलाई फाँसी दिएको थियो । त्यही विषयमा विद्यार्थीहरूले पनि आन्दोलन थालेका थिए । आन्दोलनमा हामी पनि सहभागी भएका थियौं । त्यो आन्दोलन दबाउनका लागि प्रहरीले मेरो कोठाबाटै मसहित ८ जनालाई पक्राउ ग¥यो । परीक्षा आएको बेला जेल परियो । तर खै के के भयो । १५ दिनपछि छाडे । २०३६ सालको कुरा थियो त्यो । ३ दिन बाँकी थियो परीक्षा आउन । पढियो । परीक्षा दिएको पास भइएछ । गाउँ आइयो । गाउँमा त बाउले पनि घटना थाहा पाएछन्, कराएर धुम चक्र । आन्दोलन गर्न पठाएको कि पढ्नु पठाको भन्दै थर्काउनुभयो ।
फेरि पनि मास्टरमै जागिर खाने भइयो । जुन स्कुलबाट बिदा भएको थिएँ । त्यहीँ २०३७ जेठ ७ गतेबाट स्थायी दरबन्दी लिएर पढाउन थाले फेरि । त्यहीँ पढाउँदै गर्दा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला उपाध्यक्ष पनि भएँ । अध्यक्ष थिए गोविन्द गौतम । गौमतलाई हकारिदिएपछि अध्यक्ष पद नै छाडे । त्यसपछि मैले कार्यबाहक भएर चलाएँ । त्यो बेला मन्त्री भइसकेका पद्मसुन्दर लावतीसँग मेरो झगडा भयो । सङ्गठनले देशव्यापी रूपमा स्कूलहरू हड्ताल गर्नु भनेको थियो । केन्द्रको निर्णय मान्नै प¥यो । हड्ताल गरियो । त्यो हड्ताल किन गरिस् भनेर उनी ममाथि खनिए । ऊ पनि लिम्बूको छोरो म पनि लिम्बूको छोरो । मन्त्री भए पनि लावती जी भनेरै सम्बोधन गर्थे । मलाई त ढिसमिस गर्नका लागि उर्दी गरेछन् । त्यो बेला जिल्ला शिक्षा अधिकारी रामस्वरूप सिन्हा भन्ने थिए । उनले मलाई ‘२–४ महिना बिदा लिएर जानू ।
यहाँ तपाईंलाई ढिसमिस गर्नु भनेर उर्दी आएको छ’ भनेर भने । उनकै सल्लाहअनुसार म २–४ महिना बरालिएँ । उनलाई पछि पद्मसुन्दरका मान्छेले आएर खै ढिससिम गरेको भनेर सोधेछन् । सिन्हा पनि बाठो भनिदिएछन्, ‘सम्हाबाम्फे सर जिल्लाबाटै भागेका छन् । कसरी ढिसमिस गर्ने । त्यतिकै पनि ढिसमिस नै भएजस्तो भइहाल्यो नि ।’ भनेर उत्तर फर्काएपछि उनीहरूले पनि कुरा बुझेजस्तो गरेर फर्किएछन् । सिन्हाले नै मेरो जागिर बचाइदिए । म दुई महिना झापाको स्कूलमा आएर पनि पढाएँ । २०४० तिर शिक्षा सदन स्कुलमा पठाइदिए । २०४० साउन १ गतेदेखि शिक्षा सदनमा हाजिर भएँ । यहाँ पढाउँदै थिएँ । २०४२ सालमा काठमाडौं राजदबारमा एउटा बमकाण्ड भयो । त्यहाँ ५–६ जना पनि मारिए ।
त्यही बेला म पनि घर जान भनेर हिँड्दै गरेको थिएँ । भेडेटारमा पुग्दा बस चेक भयो । बसमा कसले हो कुन्नी, विस्फोटक पदार्थ हालेको रहेछ । सबैलाई सोध्यो, कसैले पनि मेरो हो भनेनन् । मैले पनि मेरो हो भन्ने कुरा भएन । मैले अलि लामो कपाल पालेको थिएँ । यही हो भन्ठानेर होला मेलाई पक्डिहाले । धनकुटा पु¥याइहाले । साढे ३ महिना राखे । मलाई चाहिँ कुटेनन् । तर, मलाई प्रमाणित गर्नका लागि ५ हजारभन्दा बढी मान्छेलाई ल्याएर कुटपिट गर्दै सोधे । साढे ३ महिनापछि मेरोबारेमा सबै बुझेछन् कि क्या हो त्यसपछि छाडियो । साढे तीन महिनापछि स्कुलमा फेरि ज्वाइन गरेँ ।
त्यही बेला बीबीसी इण्डियाले रामराजाप्रदा सिंहको मान्छे धनकुटामा समातियो भनेर समाचार फुक्यो । जुन समाचारमा कुनै सत्यतै थिएन । नखाएको विष लाग्यो । मिडियाले गरेको त्यो गम्भीर त्रुटि अहिले पनि भुल्न सक्दिन । २०४९ सालतिर महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक स्वयमप्रकाश शर्माको अगुवाइमा अङ्ग्रेजीमा एमए ल्याउने तयारी थालियो । सम्भाव्यता अध्ययन भयो । धनकुटा र विराटनगरमा पनि नदिएको अङग्रेजी विषयको एमए यहाँ दिइयो । एमए आएपछि नै मैले २०५२ सालमा एमए सकेँ । २०५६ सालसम्म श्याकबहादुर कटुवाल प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँ अवकास भएपछि मलाई प्रअ बनाइयो । १६ वर्ष प्रअ चलाएँ । २०७१ सालमा रिटायर्ड भइयो । अहिले धरान उपमहानगरको ललितकला प्रज्ञा प्रतिष्ठानमा छु । विभिन्न पुस्तक लेख्दै छु । ४ प्रकारका माया पालम लेखिसकेँ । संस्कृतिसम्बन्धी पुस्तक तयार गर्र्दै छु ।
प्रस्तुतिः भोजराज श्रेष्ठ