प्रदेश नं. १ कै सुन्दर, रमणीय र धार्मिक पर्यटनको द्वारको रूपमा धरानलाई चिनिएको छ । विगत केही समयदेखि धरानलाई पर्यटकीय क्षेत्रको रूपमा विभिन्न प्रकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरिरहेको हामीले पाइरहेका छौँ । स्थानीय सरकार र प्रदेश सरकारले पनि यो क्षेत्रलाई प्रवद्र्धन गरिरहेका छन् । तर, धरानलाई प्रवद्र्धन गर्ने हेतुले विभिन्न सङ्घसंस्था र पर्यटनकर्मीहरूले सांस्कृतिक पर्यटन र पर्यावरण पर्यटन, खेल पर्यटन सँगसंँगै विशेष गरी धरानलाई धार्मिक पर्यटनको रूपले मात्र प्रवद्र्धन गरिएको पाइएको छ ।

वातावरणीय दृष्टिकोणले निकै नै मनोरम रहेको र तराईभन्दा कम गर्मी र कम जाडो हुने ठाउँ धरान हो । पूर्व पश्चिम राजमार्गबाट १८ किलोमिटर मात्र उत्तरमा रहेको धरान जानै पर्ने बनाउनका लागि हामीले खाद्य पर्यटन (फुड टुरिजम) लाई भने बिर्सिएका छौँ । पर्यटन प्रवद्र्धन गर्न सांस्कृतिक सम्पदाको पुनर्निमाण, भ्यूटावर निर्माण, पार्क, बगैँचा निर्माण सँगसँगै त्यस स्थानको विशेष परिकारलाई प्रवद्र्धन गर्न भने छुटाउनु हुँदैन । धरानले बढी अपेक्षा गरेको पर्यटक भारतबाट नै हो । तर भारतका पर्यटक धरान आए भने उनीहरूले खानका लागि धरान र धरानेले पूर्ण रूपमा सन्तुष्ट बनाएको भने पाइएको छैन ।

भारतीयहरू विशेष गरी शाकाहारी खाना रुचाउँछन् तर धरानमा पूर्णरूपमा शाकाहारी होटलहरू पर्याप्त छैनन् । धरानमा विगत केही समयअघि खुलेका पूर्ण शाकाहारी होटल जानकी, व्यञ्जन, यूनिक, उत्सव लगायतका होटलहरू बन्द भइसकेका छन् । त्यति मात्र होइन, धरानका होटल व्यवसायीहरूले राती अबेर सम्म होटल चलाउनका लागि विगत केही समयदेखि माग गरिरहेका छन्, तर राती अबेर पर्यटकहरू आए भने उनीहरूले पेय पदार्थ बाहेक अघाउँजी खाना खान भने पाउँदैनन् । विशेष गरी धरानमा खाद्य पर्यटनका लागि पर्यटकहरू किन आउँदैनन् भन्ने हामीले सोच्नै पर्ने बेला आएको छ ।

के हो त खाद्य पर्यटन ? (फुड टुरिजम)
पर्यटनका विभिन्न क्षेत्रहरू धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, पर्यावरण पर्यटन, खेल पर्यटन झैं खाद्य पर्यटनलाई पनि महŒवपूर्ण रूपमा लिन सकिन्छ । स्वादिष्ट र यदाकदा खाईँने वस्तुहरू जसले पर्यटकलाई पनि त्यो ठाउँको पहिचानका रूपमा आकर्षित गर्ने गर्दछ भने त्यसलाई खाद्य पर्यटन भन्न सकिन्छ । नेपालका धेरै शहरहरू खानेकुराबाट पनि परिचित छन् ।

धरान पनि विशेष गरी काठमाडौंमा कालो बङ्गुरको रूपमा परिचित छ । तर त्यही काठमाडाैंवासीहरू धरान आए भने यहाँ कालो बङ्गुर पाइन्छ भन्ने बोर्ड कहीँ पनि पाइँदैन । धरानमा पेय पदार्थ र मांसाहारीका लागि बगरकोटमा रात्रीकालीन रमझम देख्न सकिन्छ तर धरानकै खानेकुराको पहिचानका रूपमा भने हालसम्म केही गर्न सकिएको देखिँदैन ।

कहाँ के पाइन्छन् ?
नेपालका विभिन्न ठाउँहरूलाई विभिन्न खानेकुराले समेत चिनाउने गर्दछ । धरानकै वरपरका विभिन्न ठाउँहरूलाई नै हामीले उदाहरणका रूपमा लिन सक्छौं । चैनपुर (कुराउनी/सक्खर, वसन्तपुर (गुराँस (जुस), हिले (तोङ्वा, धनकुटा ( धनकुटे बिस्कुट, कानेपोखरी ( खीरबाट परिचित छन् । त्यस्तै गरी इलाम ( चिया/बम्बै सन, फिदिम (बदाम, ताप्लेजुङ (छुर्पी, बरमझिया (पेडा, लहान (आँपबाट) सबैको मुखमा झुण्डिएको शहर हो ।

धरानलाई कुन खानेकुराबाट परिचित गर्न सकिन्छ ?
धरान विविध जातजाति र संस्कृतिको बाहुल्यता भएको शहर हो । फुड टुरिजमका रूपमा धरानलाई परिचित गर्नका लागि विभिन्न समुदायका विभिन्न धारणाहरू रहेको पाइन्छ । तर धरानको पर्यटकका रूपमा लक्षित भारतीय पर्यटक र धार्मिक पर्यटकहरूका अनुपातमा हेर्ने हो भने धरानका सुँगुरको मासु र सुकुटीका रूपमा पहिचान गराउन त्यति सहज देखिएको छैन । नेपालकै परिप्रेक्ष्यमा खाने कुराका रूपमा विभिन्न सञ्जालमा थकाली खाना, खीर, समयबजी, चटामरी, योमरी, आलुतामालाई लिएको पाइन्छ । तर धरानको पहिचानको खानेकुरा भने यदाकदा मात्र उल्लेख छ ।

“धरानको ढकने”
ढकने चामल, दूध र घ्यूबाट बनेको स्वादिष्ट परिकार हो । धरानमै रहेका विभिन्न समुदायका व्यक्तिहरूले पनि ढकनेको स्वाद भने पाएको देखिँदैन । चामललाई घ्यू मा भुटेर दूध हालेर बनाइने यो परिकार स्वादिष्ट, सन्तुलित र स्वस्थ परिकारका रूपमा चिनिने गरिन्छ । धरानका होटल व्यवसायीहरूलाई यो परिकार बनाउन तालिम दिएर यसलाई धरानको पहिचान बनाउन सकिन्छ । राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रिय सबै प्रकारका पर्यटकलाई ढकनेसँग छोपहालेको आलुको अचारलाई “धरानको ढकने” का रूपमा चिनाउन सकियो भने पक्कै पनि नेपालमै यो प्रचलित हुन सक्दछ ।

तत्काल खान मात्रै होइन, यसलाई एयरप्रुफ प्याक गरी फ्रिजिङ्ग गरेर बेच्न सकियो भने यो कोसेलीका रूपमा अझ परिचित हुनेछ । खाने बेलामा तताएर खान सकिने घिउबाट बनेको “ढकने” धरानको कोसेलीको रूपमा समेत स्थापित नहोला भन्न सकिँदैन । उदाहरणकै रूपमा बरमझियाका विभिन्न नामका पेडाको दोकान मात्र खुलेका छैनन्, बरमझियाले आयआर्जन पनि गरेकै छ । त्यसै गरी धरानमा पनि यो खाद्य सामाग्रीको बिक्रीबाट स्वरोजगार सृजना नहुने भन्ने कुरामा दुईमत छैन ।
कसरी बनाउने ढकने ?

चामललाई पखालेर, पानी निकालेर फेरि सुख्खा बनाउने । प्रेसर कुकर/कराईमा घिउ हालेर तताउने, घिउ तातेपछि चामललाई घिउमा हालेर भुट्दै जानुपर्छ । भुटिईंदै गएपछि चामल जब खैरो रङ्गको हुन्छ, अनि चामलमा आवश्यकता अनुसार नरिवलको धुलो र चिनी हाल्ने । तातो चामलमा नरिबलको धुलो र चिनी सजिलै पग्लिन्छ । त्यसपछि त्यो भुटिएको चामलमा दूध हालेर पकाउने र केही बेरपछि दुध सुक्छ र ढकने खानको लागि तयार हुन्छ । त्यसपछि त्यसमा आवश्यकता अनुसार केही काजु/किसमिस हालेर खान सकिन्छ ।

अन्त्यमा,
विशेष गरी मोःमो, चाउमिन, थुक्पामात्र खान पाइने धरानको विशेषताका रूपमा “ढकने” लाई लिन सकिन्छ भन्ने धारणा यो लेखमा प्रस्तुत गरिएको छ । धरानमा खान मात्रै होइन, कोसेलीका रूपमा लैजान ढकने उचित हुन्छ भन्ने अभिप्राय रहेको छ । साझा सुझाव र छलफलबाट अन्य खाने कुरालाई पनि धरानको वस्तुका रूपमा प्रवद्र्धन गर्न भने नसकिने होइन ।

धरानलाई फुड टुरिजमका रूपमा प्रवद्र्धन गर्न कालो बङ्गुर, राँगाको सुकटी, अकबरे, छुर्पी, रायोको साग, तोङ्वा, सुन्तलालाई निरुत्साहित गर्नु यो पङ्क्तिकारको धारणा पनि होइन । तर विशेष रूपमा धरानको पहिचानका रूपमा "कनै एकलाई परिकारलाई प्रर्वद्धन गर्न सकिए पर्यटकहरूको आकर्षण बन्ने थियो । इटहरीसम्म आउने वा पूर्व आउने पर्यटकलाई “धरानको परिकार खानैका लागि पनि जाऊँ न” भनेर आकर्षण गर्न सकिने थियो ।

धरान उपमहानगरपालिकाले धरानको पर्यटन प्रर्वद्धन गर्न विभिन्न प्रकाशन, कार्यक्रम र पहल नगरेको भने होइन । धरानमा सन्ध्याकालीन बजार, स्ट्रीट फुड, फुड फेस्टिभल आवश्यक नै छ । तर, धरान उपमहानगरपालिका र होटल एशोसिएशन अफ धरानले विशेष गरी खाद्य पर्यटन (फुड ट्ुरिजम) को अवधारणालाई भने बिर्सन हुँदैन ।
(लेखक सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् धरान जेसीजका पूर्व अध्यक्ष हुन् )