‘अब तक कहाँ छुपे थे आप लोग...?’ कलकत्तामा आयोजित ‘ट्राभल एण्ड टुरिजम फेयर’ मा पूर्वी नेपालको पौराणिक इतिहासको व्याख्या सहकर्मी मित्र वासुदेव बरालले गरिरहँदा, एक अवलोकनकर्ताले प्रश्न गरे । हामी स्तब्ध भयौँ । त्यसबेला महसुस भयो साँच्चै हामीले त आजसम्म पूर्वको ‘ब्राण्डिङ’ नै पो गर्न सकेका रहेनछौँ।
फेयर फेस्ट नामक कम्पनीले भारतका विभिन्न सहरहरूमा पर्यटन मेलाको आयोजना गर्दछ । जहाँ भारतका ठूला सहरलगायत विभिन्न देशहरूका पर्यटन व्यवसायीहरू भेला भएर एकै थलोमा ‘बिटुबी’ गर्ने अवसर प्राप्त गर्दछन् । नेपाल पर्यटन बोर्डको सहयोगमा टिटिएफ २०१९ कलकत्तामा पूर्वका लागि स्टल उपलब्ध भएको थियो । पूर्वेली पर्यटन व्यवसायीहरूले आफ्नै खर्चमा प्रचार गर्न दोस्रो पटक उपस्थिति जनाइरहेका थिए । त्यहाँ हामीहरूले धार्मिक पर्यटन र रुद्राक्षारण्यको प्रचार ग¥यौँ । यसपटकको हाम्रो अभियान रुद्राक्षारण्यको मार्केटिङ गर्नु थियो । पश्चिम बङ्गालमा करिब १० करोड जनसङ्ख्या छ । तीमध्ये करिब ७० प्रतिशत हिन्दू धर्ममा आस्था राख्दछन् । उनीहरूका लागि रुद्राक्ष धारणको विशेष महŒव हुन्छ । रुद्राक्ष पूर्वी नेपालमा उत्पादन हुन्छ । हामीले त्यस क्षेत्रमा रुद्राक्षको बजारीकरण गर्न सके त्यस क्षेत्रका पर्यटकहरूलाई यस क्षेत्रमा रुद्राक्ष खरिद गर्न र भ्रमण गर्न रुद्राक्षारण्य भूमिमा भिœयाउन सक्छौँ ।
विराटनगरका पर्यटन व्यवसायी भविष श्रेष्ठको टोलीले मेलामा आउने भारतीय पर्यटन व्यवसायीहरूलाई रुद्राक्ष मालाले स्वागत गरेका थिए । त्यस्तै हामी धरानका टोलीले पूर्वेली ढाकाका उत्पादनहरू वितरण गरेका थियौँ । यसले हाम्रो क्षेत्रका उत्पादनले पनि त्यस क्षेत्रमा प्रश्रय पाउनेमा हामी विश्वस्त छौँ ।
बङ्गालीहरूले शक्तिको पूजा आराधना गर्दछन् । हाम्रो सबल पक्ष यस क्षेत्रमा धार्मिक महŒवका दुई शक्तिपीठ अवस्थित छन् । ताप्लेजुङको पाथीभरा माता र धरानको दन्तकाली शक्तिपीठ । कलकत्ताको कालीघाट शक्तिपीठ र यस क्षेत्रको शक्तिपीठहरूको ‘टुरिजम सर्किट’ को अवधारणा अघि बढाउन सकिन्छ । यसलाई मुख्य प्रोडक्ट बनाएर बजारीकरण गर्ने हो भने बङ्गाली पर्यटकलाई हामीले यस क्षेत्रमा भिœयाउन सक्छौँ ।
यसका लागि निरन्तर र योजनाबद्ध प्रवद्र्धनको खाँचो छ । प्रचलित यी दुई शक्तिपीठलाई अहिले पहिलो चरणमा ब्राण्डिङ गरेर त्यस क्षेत्रमा निरन्तर प्रचार गर्नुपर्ने देखिन्छ । यसका अलावा पूर्वी क्षेत्रमा अन्य शक्तिपीठहरू पनि गुमनाम छन् । त्यसको खोजी गर्दै त्यसलाई पनि बजारीकरण गर्दै जानुपर्छ । मुख्य प्रोडक्ट एउटालाई बनाएर अन्यलाई सहायक प्रोडक्ट बनाउन सकिन्छ । एकैपटक धेरै चिजलाई समेट्नु खोज्नु चाहिँ मूर्खता हुन्छ ।
प्रदेश सरकारले यस प्रदेशको आर्थिक समृद्धिको आधार पर्यटनलाई बनाउने हो भने अहिले हाम्रो नजिकको क्षेत्रलाई टार्गेट गरेर आफूसँग भएका चिजलाई ब्राण्डिङ र मार्केटिङमा जोड दिनुपर्दछ । हामीसँग प्रशस्त सम्भावना छ भनेर गमक्क परेर बसिरहेका छौँ । तर, त्यसलाई बिक्री गरेर अर्थाेपार्जन गर्न भने चाहिँ सकेका छैनौँ । यसका लागि नीजि क्षेत्रमात्र जागरुक भएर सम्भव हुँदैन । द्विपक्षको सहकार्य मुख्य आवश्यकता हो । सरकारले प्रचारात्मक क्रियाकलापमा जोड दिनुपर्दछ भने नीजि क्षेत्र पर्यटकलाई सेवा प्रदान गरी अर्थाेपार्जनमा ध्यान दिनुपर्ने हुन्छ । यसो हुँदा पर्यटकबाट भएको आम्दानीको केही हिस्सा राजश्व स्वरूप सरकारले पनि आर्जन गर्न सक्छ ।
पर्यटन बढावाका लागि मुख्य चार तत्व आवश्यक पर्दछन् । आकर्षण, पहुँच (यातायात), खाना बास र अन्य सुविधाहरुरू । पूर्वमा पर्यटकलाई तान्न सक्ने आकर्षण छ । यातायातको सुविधा सहज छ । खाना र बासका लागि साना, ठूला होटेलहरूको सुविधा छ । चौथो तŒव अन्य सुविधामा ध्यान नदिँदा हामी पछि परिरहेका छाैँ । पूर्व प्राकृतिक र पौराणिक रूपले धनी छ । यसलाई मुख्य ब्राण्ड बनाएर अन्य सहायक सुविधाहरू थप्न जोड दिनुपर्ने देखिन्छ । पर्यटनमा प्राकृतिक साथै मानवनिर्मित पूर्वाधारले पनि त्यत्तिकै महŒवपूर्ण भूमिका खेल्दछ । हामीकहाँ पर्यटकहरू आइसकेपछि उनीहरूले समय बिताउने पूर्वाधारको कमी छ । धार्मिक पर्यटकहरू यस क्षेत्रमा आएर बिहानको समय धार्मिक कर्म गरेपश्चात् खाली समयमा उनीहरूलाई अल्मलाउने गतिविधिको आवश्यकता पर्दछ । अन्यथा, उनीहरू अन्य गतिविधि नहुँदा तुरुन्त फर्कन सक्छन् । यसले पर्यटकको बसाइ छोटिन्छ । जसले अप्रत्यक्ष रूपमा हाम्रो क्षेत्रलाई असर गर्दछ ।
अन्य सहायक सुविधा भन्नाले पर्यटकहरूका लागि आफ्नो रुचिअनुसार रमाइलो गरी समय बिताउने गतिविधिहरू हन् । जस्तै : र्याफ्टिङ, कायकिङ, प्याराग्याइडिङ, केवलकार, जिपलाइन, क्यानोनिङ, अल्टालाइट फ्लाइट, माउण्टेन फ्लाइट, हेलिकप्टर साइडसिन, स्काइ साइकिलिङ, बञ्जी जम्प, स्नो ग्लाइडिङ, साइकिलिङ, माउण्टेन बाइकिङ, बेलुनिङ, बोटिङ, फिसिङ, बर्ड वाचिङ, जिप सफारी, हात्ती सफारी, थिम पार्क, फन पार्क, वाटर पार्क, हाइकिङ, टेूकिङ, स्पा, क्यासिनो, स्विमिङ पुल, गल्फ कोर्ष, रेनिङ डान्स, बार, पब, दोहोरी साँझ, स्ट्रिट फुड मार्केट, सन्ध्याकालीन बजार, स्थानीय उत्पादन बजार, स्थानीय सांस्कृतिक गतिविधि, स्थानीय भेषभूषा प्रदर्शनी वा भेषभूषा लगाउने व्यवस्थालगायत अन्य गतिविधिहरू । यस्ता पूर्वाधारहरू स्थान विशेषअनुसार र पर्यटकको छनौटपश्चात् निर्माण गर्न सकिन्छ । जसले हामी कहाँ आएका पर्यटकहरूको बसाइ लम्ब्याउन मद्दत पुग्दछ । यस्ता पूर्वाधारहरू हामीकहाँ अभाव छ । यसैले हामीले पर्यटनबाट यथोचित लाभ लिन चुकिरहेका छौँ । यसका लागि नीजि क्षेत्र र सरकारी निकायले हातेमालो गर्नुपर्ने हुन्छ । नीजि क्षेत्रलाई लगानीका लागि सरकारी पक्षले सहजीकरण गर्नुपर्ने नीति बनाउनु जरुरी छ ।
पश्चिम बङ्गालको ठूलो शहर हो कलकत्ता । कलकत्ता वरिपरि करोडभन्दा बढी जनसङ्ख्या छ । उनीरूबीचमा हामीले शक्तिपीठको ब्राण्डिङ र मार्केटिङ गर्नु सक्यौँ भने हामीकहाँ आउने पर्यटकको सङ्ख्या बढोत्तरी हुनेछ । बङ्गालीहरू कम्तिमा वर्षमा १ पटक घुम्न निस्किने गर्दछन् । उनीहरूको प्रतिष्ठाको विषय हो यात्रा । उनीहरूका माझमा हामीले आफ्नो क्षेत्रलाई भने चिनाउनु पर्दछ । यसका लागि पूर्वको ‘स्लोगन’ बनाएर प्रचार गर्दा आममानसमा चाडो ‘हार्ट टच’ हुनेछ । कलकत्ताबाट देशविदेशका थुप्रै ठाउँहरूमा सिधा हवाइ, बस, ट्रेनलगायतका सुविधाहरू छन् ।
हाल बुद्ध एयरले कलकत्ताबाट हप्तामा ३ दिन सिधा फ्लाइट नेपालको काठमाडौं सञ्चालन गरिरहेको छ । यो हाम्रो देशका लागि हर्षको कुरा हो । यातायात कनेक्टिभिटि पर्यटनको दरिलो पाटो हो । यदि पूर्वले कलकत्तासँग सिधा यातायात सञ्जाल विस्तार गर्ने हो भने त्यहाँका पर्यटकलाई यस क्षेत्रमा आउन सहज हुनेछ । यसका लागि बस सेवा सञ्चालन गर्न र पूर्वमा कलकत्ताबाट सिधा हवाइ यातायात गर्न पहल गर्नुपर्ने देखिन्छ । यसका लागि प्रदेश सरकारले नेतृत्व गरेर अघि बढ्नुपर्ने हुन्छ । यातायातको सिधा सम्पर्कले पर्यटकहरुलाई बिना हिच्किचाहट प्रवेश गर्नमा आकर्षित गर्दछ । नेपाल सरकारले देशमा पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल एयर २०२० को अवधारणा ल्याएको छ । यसबाट सरकारको कार्यक्रमलाई पनि टेवा पुग्नेछ ।
हामीले प्रचारमात्र गरेर पूर्वाधार विकासमा जोड दिएनौँ भने हाम्रो प्रचारबाजी व्यर्थ हुन्छ । पर्यटक भित्रिइसकेपछि समय बिताउने क्रियाकलाप र रात बिताउने पर्यटकको आवश्यकताअनुसारको वासस्थानको व्यवस्थापन पहिलो प्राथमिकता हो । पूर्वाधार थपिँदा पर्यटकको बसाइ लम्बिन्छ भने यस क्षेत्रका जनशक्तिले पनि आफ्नै क्षेत्रमा रोजगार र व्यवसायिक बन्ने मौका प्राप्त गर्दछन् । जसबाट व्यवसायिक पर्यटनको आवश्यकता पूर्ति हुन्छ । व्यवसायिक पर्यटनको माध्यमबाट मात्र दिगो पर्यटनको सपना पूरा हुनेछ ।