धरान/सानैदेखि फुटबल खेल्नमा रुची राख्ने धरान–८ का सौगात तामाङ यतिबेला गर्मी बिदालाई सदुपयोग गरिरहेका छन् ।

धरान फुटबल फ्यान क्लबले राखेको १० दिने ‘समर क्याम्प’ मा उनी फुटबलको आधारभूत ज्ञान लिइरहेका छन् । विजयपुर माविमा अध्ययरत तामाङको दैनिकी आजकाल फुटबल तालिमले खाइदिएको छ । विगत वर्षहरूमा उनी गर्मी बिदामा घर तथा साथीभाइसँगै बसेर बिताउँथे । तर, यो वर्ष भने फुटबलको समर क्याम्प भन्ने थाहा पाएपछि यतैतिर व्यस्त छन् ।

आइतबार ब्लाष्टकर्मीले भेट्दा पनि उनी तालिम लिन ब्यस्त थिए । प्रशिक्षकको निर्देशनअनुसार उनी फुटबलको कौशल लिइरहेका थिए । ‘तालिमले केही कन्फिडेन्स बढाएको छ, घरमा खेलेको र यहाँ धेरै भिन्नता हुँदो रहेछ’ उनले मुख खोले । तालिममा फुटबलका आधारभूत ज्ञानहरू पाइरहेकोमा उनी दङ्ग देखिन्थे । भविष्यमा बिमल घर्ती मगरजस्तो खेलाडी भन्ने सोच उनमा छ ।

football 2

उनी ‘राइट विङ्गर’ हुन् । त्यो पोजिसनमा आफूलाई मैदानमा उर्ताने गरेका छन् । तालिम लिइरहेको समयमा पनि उनी त्यही पोजिसनमा विपक्षी खेलाडीलाई छक्याउँदै गरेका भेटिए । फुटबल उनको मनपर्ने खेलमध्येको एक हो । उनको ध्यान नै फुटबलमा हुने गरेको छ । ६–७ वर्षको उमेरदेखि नै दाजुहरूसँग फुटबल खेलेको अनुभव सुनाए । ‘सानैदेखि दाजुहरूसँग खेलिन्थ्यो, फुटबल खेल्न साह्रै रहर लाग्थ्यो’ उनी भन्छन् । तालिमले उनलाई कसरी बल हान्ने, कुन पोजिसनमा बस्ने, कसरी ड्रिबलिङ गर्नेदेखि लिएर बललाई नियन्त्रणमा लिनेसम्मको ज्ञान पाएको बताउँछन् ।

‘गाउँघरमा खेल्दा पनि त्यो त हुन्थ्यो । तर, यहाँ सिक्दा केही फरक हुँदो रहेछ’ उनी भन्छन् । नवोदय स्कुलमा अध्ययन गरिरहेका दीपेन्द्र बस्नेत पनि फुटबलका क्रेजी हुन् । उनी लेफ्ट विङ्गर हुन् । उनको मनपर्ने खेलाडी हेमन्त थापा मगर हो । धरान–१ का बस्नेतले पनि फुटबलको आधारभूत ज्ञान लिइरहेका छन् । त्यो ज्ञानलाई भविष्यमा प्रयोग गर्ने सोच बनाइरहेका छन् ।

भविष्यमा राम्रो खेलाडी बन्ने सोच राखेका छन् । उनी पनि ६–७ वर्षदेखि नै फुटबलमा रमाउन थालेका हुन् । फुटबलसँग लामो नाता छ । त्यही नाताले उनलाई समर क्याम्पसम्म ल्याइ पु¥याएको हो । उनी भन्छन्, ‘हेमन्त थापा मगरजस्तो बन्ने रहर छ । उसको पास राम्रो लाग्छ ।’ तालिममा बल पास गर्ने तरिका, नियन्त्रण गर्ने तरिका सिकेको उनले बताए । धरान–१४ आइडियल बोर्डिङ स्कुल पढ्ने राजीव खड्का गोल कसरी नियन्त्रण लिने भन्ने ज्ञान लिँदै थिए । गोल नियन्त्रणमा लिने तौरतरिकाबारे जानकारी लिने क्रममा उनले आफूलाई किरण चेम्जोङ जस्तो गोलरक्षक बन्ने सपना रहेको बताए ।

‘किरण चेम्जोङ दाइजस्तो गोलरक्षक हुने रहर छ,’ उनले भने, ‘हरेक स्किलहरु, डाइप हान्ने स्टाइलहरू, इजी पाराले खेल्नुहुन्छ ।’ मनाङ मस्र्याङ्ग्दी र त्रिभुवन आर्मी उनको मनपर्ने क्लब हो । भविश्यमा राष्ट्रिय खेलाडी हुने रहर पालेका छन् । साथीभाइसँग चउरमा खेल्दा र तालिम लिँदामा धेरै फरकहरू पाएको उनले बताए । गोल नियन्त्रणमा लिँदा कसरी लिने, डाइप कसरी हान्ने ट्रिकहरू सिक्न पाइरहेको बताए । पहिलो पटक समर क्याम्पमा सहभागी बनेका उनले क्याम्पले आफूलाई आत्मविश्वास बढाएको बताए ।

क्याम्पमा झण्डै एक सयभन्दा माथि खेलाडीहरूले तालिम लिइरहेका छन् । साउन ६ गतेदेखि शुरु भएको तालिममा तीन उमेर समूहमा वर्गीकरण गरेर प्रशिक्षण गराउँदै आएका छन् । साउन १५ गतेसम्म चल्ने क्याम्पमा सहभागीमध्ये २० देखि २५ जना खेलाडीहरू निकै राम्रो खेलाडी बन्न सक्ने सम्भावना रहेको प्रशिक्षक सुरज विकले जानकारी दिए । खेलाडीहरू ‘प्यासन’ पनि भएको र चाँडै स्किल सिक्न सक्नेहरू रहेको उनले बताए । ‘चाँडै स्किल टिप्न सक्नेहरू छन् । ती खेलाडीहरूले भविष्यमा केही गर्छन्’ उनले भने, ‘त्यस्ता खेलाडीहरूलाई प्रोत्साहन गरिहरनु पर्छ ।’ तालिममा शारीरिक र उमेर अनुसार फुटबलको आधारभूत तालिम दिइरहेका छन् । ‘अहिले नै स्किलहरू राम्रो भएका खेलाडीहरू पनि छन्’ उनी भन्छन् ।

प्रशिक्षण निरन्तर पाएमा उत्कृष्ट खेलाडी बन्ने क्षमता भएका खेलाडीहरू प्रसस्तै भएको उनले बताए । आयोजकले स्कुल बिदालाई लक्षित गर्दै हरेक वर्ष समर क्याम्प राख्ने गरेको छ । ग्रासरुटबाटै फुटबलको ज्ञान दिन सके मात्रै भविष्यमा राम्रा खेलाडी उत्पादन हुने विश्वास आयोजकको छ । ‘ग्रासरुटबाटै खेलाडी उत्पादन गर्न सकियो भने मात्रै फुटबलको विकास हुन्छ,’ फ्यान क्लबका महासचिव रामकृष्ण खड्काले भने, ‘छुट्टीको समयलाई विद्यार्थीहरूले मिसयुज नगरोस् भन्ने उद्देश्य पनि हो ।’