विराटनगर/ अध्यापनसँगै रोजगारीको सुनिश्चितता हुने भएपछि कानून विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सरकारी कार्यालयहरूमा कानूनी अध्ययन पृष्ठभूमिका कर्मचारीको अभाव, विभिन्न कम्पनीहरूमा अनिवार्य कानूनी व्यवस्था तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा रोजगारीको अवसरले पनि कानूनप्रति विद्यार्थीहरूको आकर्षण बढेको हो ।

विराटनगरको सम्झनाचौकस्थित ब्राइट भिजन ल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट कानून विषय पढाउन सम्बन्धन पाएसँगै यसमा आकर्षण बढ्दै गएको छ । उक्त कलेजमा पाँच वर्षे कोर्षको बी.एल.एल.बी. र २ वर्षको एल.एल.एम. प्रदेश १ मै पहिलो पटक पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो ।

विद्यार्थीहरूको रुचि तथा मागअनुसार उक्त कलेजले सन् २०१० देखि कानूनको अध्यापन शुरु गरेको कलेजका संस्थापक चूडामणि आचार्यले बताए । सरकारी सेवामा रुचि हुनेहरू कानून विषयको अध्ययनपछि न्याय सेवाका लागि समेत प्रतिस्पर्धामा उत्रन सक्छन् । ‘बढ्दो अवसर तथा विद्यार्थीहरूको मागअनुसार कानून विषय शुरु गरेका हौं’ –उनले भने । जुनसुकै विषय लिएर कक्षा १२ उत्तीर्ण भएकाहरूले ब्राइट भिजनमा बी.एल.एल.बी. मा भर्ना लिन पाउने कलेजले जनाएको छ ।

‘शुरूका दिनमा कक्षा सञ्चालन गर्न धेरै दुःख थियो’ उनले अतीतका दिन सम्झँदै भने, ‘विद्यार्थी नै नपाइने । हामीले शुरूवातमा पाँच जना विद्यार्थीहरूबाट कक्षा शुरूवात गरेका थियौं ।’ अहिले जुनसुकै क्षेत्र उद्योग, कलकारखाना, विभिन्न सङ्घ–संस्थामा पनि बहस पैरवी गर्ने कानूनका जानकार आवश्यक परेपछि यो विषयप्रति आकर्षण बढेर गएको छ ।

उक्त कलेजमा अहिले कोटाअनुसारको कानून पढ्ने विद्यार्थी आउने गरेका छन् । कलेजमा अनुभवी प्राध्यापकहरूबाट कानूनको पढाइ हुने गरेको बताइएको छ । सो कलेजमा प्रदेश १ बाहेक २ र ३ नम्बर प्रदेशका केही जिल्लाहरूबाट समेत कानून पढ्न आउने गरेको बद्रीप्रसाद शर्माले जानकारी दिए । गतवर्ष मात्र बी.एल.एल.बी. पढ्ने ६० जना भर्ना भएको कलेजले जनाएको छ ।

यस्तै कक्षा ११ र १२ मा पनि विराटनगर–३ पुष्पलाचौकस्थित प्यारागन एकेडेमी माध्यमिक विद्यालयमा गत वर्षदेखि कानून विषयको पढाइ हुने गरेको छ । यो वर्ष विद्यालयमा कानून विषय लिई अध्ययन गर्न चाहने विद्यार्थीको चाप निकै बढेको प्रिन्सिपल दीपकप्रसाद घिमिरेले बताए ।

गतवर्ष प्यारागन स्कुलमा ४० जना विद्यार्थी कानून विषयमा भर्ना भएका थिए । अहिले कक्षा ११ मा ५० जनाले भर्ना भएको घिमिरेले बताए । कानून विषयमा अध्ययन गर्ने विद्यार्थीले एसईई परीक्षामा १.६ जिपिए ल्याएको हुनुपर्छ भने नेपाली र अङ्ग्रेजीमा कम्तिमा डी प्लस ल्याएको हुनुपर्छ ।