धरान/ उपनिर्वाचनको चर्चा चलेसँगै धरान उपमहानगरमा मेयरका लागि नेताहरूको ‘सर्ट लिष्टिङ’ भइरहेको बेला धरानका बुद्धिजीवीहरू भने विकासप्रेमी ‘साझा नेता’ को पक्षमा देखिएका छन् ।
दुई दशकसम्मको ‘भ्याकुम’ लाई अन्त्य गर्न सबल र विकासप्रेमी ‘साझा नेता’ को पक्षमा बुद्धिजीवीहरू देखिएका हुन् । राजनीतिक पार्टीहरूले गुट, उपगुट र भागबण्डाबाट नेता चयन गर्ने परिपाटीले धरानको विकास ओझेलमा पर्दै गएको बुद्धिजीवीहरूको तर्क छ । धरानको एयरपोर्ट, बसपार्क, ६ लेन सडकजस्ता विकासका कार्यक्रमहरू हाल अलपत्र अवस्थामा छन् । ‘धरानमा अवरुद्ध भएका विकास निर्माणलाई पार लगाउन सक्ने नेताहरूको आवश्यकता छ’ बुद्धिजीवी प्रा.डा. राजेन्द्र शर्मा भन्छन्, ‘यहाँका नेतामा त्यो कार्यकुशलता छैन भने बाहिरका नेतालाई बोलाएर पनि दिन जरुरी छ ।’
अहिले नेकपाबाट मेयरका लागि केही स्थानीय तथा केन्द्रीय तहका नेताहरू आकांक्षीका रूपमा देखिएका छन् । नेकपामा प्रकाश राई, रमेश बस्नेत, मुक्सामहाङ मेन्याङ्बो, आइन्द्रविक्रम बेघा, विजय राईलगायतका नामहरू जनतामाझ आएका छन् । काङ्ग्रेसबाट तिलक राई, सुजेन्द्र गोलेजस्ता नामहरू आइरहेका छन् । तर, योग्यता र धरानको विकासको हकमा भने कुन नेता आवश्यक छ भनेर बुद्धिजीवी सर्कलमा व्यापक चर्चा परिचर्चा हुने गरेको छैन ।
पार्टीको स्थानीय तहले केन्द्रीयस्तरमा आफ्ना नजिक र गुटसँग सम्बन्धित नेताको नाम सिफारिस गर्ने तयारीमा लागेको देखिन्छ । बामपन्थीहरू जितिहाल्छौं नि भन्ने मानसिकताबाट ग्रसित छन् भने काङ्ग्रेसीहरू पनि बाम गठबन्धनलाई हराउन सकिँदैन भन्ने चिन्ताबाट गुज्रिँदै आएका छन् । ‘भिजन भएका मान्छेहरूले पद पाउनुपर्यो, आँटिलो मान्छे चाहिन्छ’ भाषाविद् प्रा.डा. टङ्क न्यौपाने भन्छन्, ‘नरम, सादगी जिन्दगी बिताएको मान्छे भएर हुँदैन । १०–२० वर्षको ‘मास्टर प्लान’ बनाउन सक्ने मान्छे उठाउनुपर्छ ।’ उनका अनुसार बामपन्थीले जितिहाल्छौं नि भन्ने मनसायबाट पार्टीमा धेरै वर्ष काम गरेको व्यक्तिलाई टिकट दिने धारणा छ, त्यो एकदमै गलत छ ।
धरानको विकास लामो समयदेखि पछाडि पर्दै आइरहेको छ । यही बीचमा तारा सुब्बा मेयरमा निर्वाचित बनेको एक वर्ष नपुग्दै निधन भए । आशाको किरण देखिँदै गरेको बेला उनको निधनसँगै धरानमा विकास फेरि ओझेलमा पर्दै गएको छ । धरान नगरपालिकामा कर्मचारीतन्त्र अहिले पनि हाबी छ । विकासलाई तीव्र गतिमा अगाडि बढाउने नेताको पक्षमा बुद्धिजीवीहरू उभिएका छन् ।
‘धरानले नीति निर्माणको तहमा काम गर्ने एउटै पनि नेता पाएन । विवेक पु¥याउनु पर्ने कुरा चाहिँ यही हो । केन्द्रीय लेभलसम्म पु¥याउनेखालका नेता चाहियो’ प्राध्यापक हरि दाहाल भन्छन्, ‘पार्टीका नेता कार्यकर्तासँग लोयल हुने मान्छेलाई भन्दा पनि धरान नगरमा जिम्मेवार, नीति निर्माण तहमा प्रभाव पार्ने, जनताको हितमा भन्न सक्ने र तात्विक भिन्नता पार्नेखालको नेता चाहियो ।’
जनसहभागितामार्फत् चिल्ला सडक निर्माण गर्नेभन्दा केन्द्रीय तहबाट विकास हुन सकेको छैन । गोर्खा लाहुरेहरूले शुरु गरेको जनसहभागिताले नै चिल्ला सडकहरू बनेका हुन् । तर, त्योबाहेक नयाँ विकासले फड्को मारेको देखिँदैन । केन्द्रीयस्तरबाट यहाँ विकासभन्दा पनि विनाश धेरै भएका उदाहरणहरू प्रशस्तै छन् । धरानमा रहेका अञ्चल अदालत, क्षेत्रीय प्रशासन कार्यालय, टेलिकमको शाखा इकाई, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायत सरकारी कार्यालयहरू खुरु–खुरु अन्तै सारिए । त्यो बेलामा पनि यहाँका नेता तथा कार्यकर्ताहरूले चूँसम्म बोलेनन् ।
बुद्धिजीवी आनन्द आचार्य भन्छन्, ‘धरानबाट धमाधम प्रशासन कार्यालयहरू विस्थापित भइरहेका छन् । त्यसको गतिरोध, प्रतिरोध हुन सकेन । बीपी प्रतिष्ठानमा पनि धरानका नागरिक समुदायले चासो राखेको देखिएन । बीपी प्रतिष्ठान भ्रष्टाचारमा चुल्र्लुम्मै डुबेको छ । भोलि गएर बीपी प्रतिष्ठान पनि ‘कोल्याप्स’ भएर जाने हो कि भन्ने डर छ । त्यो हिसाबमा सक्षम नेतृत्वको अभाव देखिन्छ ।’ उनका अनुसार अभिभावकीय नेतृत्व दिन सक्ने राजनीतिक दायराभन्दा माथि उठेर पार्टीहरूले उम्मेदवार बनाउँदा राम्रो हुन्छ ।
२०४५ सालको भूकम्पले मृतप्रायः बनेको शहरलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही त्राण भरेको छ । तर, उक्त प्रतिष्ठान पनि विगत १० वर्षदेखि भ्रष्टाचारबाट विमुख हुन सकेको छैन । धरानको गरिमा मात्रै नभएर प्रदेशकै गरिमा रहेको प्रतिष्ठानजस्ता संस्थालाई माथि उठाउने गरी नेतृत्व आउन नसके धरानले फेरि अर्को विडम्बना भोग्नुपर्ने अर्का बुद्धिजीवी कुमारबहादुर कार्की बताउँछन् ।
‘आम जनताको मेयर हुने, त्यस किसिमको प्रतिनिधित्व हुनेगरी मेयर बनाएको देखिएन । यो त सङ्घीय सरकारजस्तो भइरहेको छ’ उनी भन्छन्, ‘आफ्नो पार्टीको मेम्बरलाई मात्रै, आफ्नो भातृसङ्गठनलाई मात्रै हेर्ने परिपाटीको विकास भइरहेको छ । विपक्षीलाई हात लिन सक्ने हिसाबबाट अहिले नाम आएको देखिएन ।’ यस कुराप्रति बाम बुद्धिजीवी बिए कृष्ण श्रेष्ठको पनि समर्थन देखिन्छ । उनी भन्छन्, ‘स्थानीय चुनाव भनेको धेरै मात्रामा पार्टी प्रतिनिधिको निर्वाचन मात्रै होइन, यहाँको विकास, बाटोघाटो, शिक्षादीक्षालगायतमा अनुभव भएको मान्छे चाहिन्छ । त्यो पार्टीको पनि हुनसक्छ, पार्टी बाहिरको पनि हुनसक्छ । पार्टीभित्रैको हुनुपर्छ भन्ने छैन ।’
जबदेखि चुनावमा देश होमिदै आएको छ, तबदेखि नै धरानमा बामपन्थीहरूले चुनाव जित्दै आएका छन् । पञ्चायत होस् या पञ्चायतअगाडिका चुनाव, या पछाडिका चुनाव । बाम वर्चश्व रहँदै आएकाले धरानमा जोसुकै नेता उठाए पनि जित्छ भन्ने परिपाटी नै गलत भएको देख्छन्, प्रा.डा. शर्मा । शर्मा भन्छन्, ‘धरानमा हामी जितिहाल्छौं नि भन्ने बाममा एउटा भ्रम छ । तर, पार्टीमा कहिल्यै नथाक्ने र इमानदार नेता चाहिन्छ । त्यस्ता मान्छेहरू नेकपामा थुप्रै छन् । विगतमा काम गरिसकेका मान्छेहरू पनि छन् ।’