धरान/ सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल बनाउन नेपाली सेनाले सहयोग गर्ने भएको छ ।
भ्रमण वर्षलाई सहयोग गर्न नेपाली सेनाले देशभरबाट २५ नेपाली सैनिकलाई उदयपुरको बेलका ८ स्थित एशियन प्याराग्लाईडिङ एकेडेमीमा प्याराग्लाईडिङ कोर्ष सम्पन्न गरिएको छ । विभिन्न खेलमा विभागीय टिम बनाएर सफलता हासिल गरिरहेको नेपाली सेनाले प्याराग्लाईडिङको पहिलो विभागीय टोली उत्पादन गर्न सञ्चालन गरिएको प्याराग्लाईडिङ कोर्ष सम्पन्न भएको छ ।
सेनाले उत्पादन गरेका प्याराग्लाईडिङ पाइलटले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने पश्चिम पृतना पोखराका प्रमुख सेनानी अर्जुन बस्नेतले बताए । आफैं पनि प्याराग्लाईडिङ पाइलटको प्रशिक्षण लिएका बस्नेतले भने, ‘अब हामी विभिन्न प्याराग्लाईडिङ व्यवसायीसँग सहकार्य गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउँछौं ।’
गत साउन २५ गतेदेखि उदयपुरको बेलका नगरपालिका–८ मा सञ्चालित साहसिक खेल प्याराग्लाईडिङको १५ दिने कोर्षको शनिबार समापन गरिएको छ । सोलो पाइलटका लागि नेपाली सेनाका २४ जना खेलाडीहरूले प्रशिक्षण लिएका थिए । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेनाले करारमा नियुक्त गरेका पाइलटहरूले सेनालाई स्वर्ण दिलाए पछि सेनाले खोलाडी उत्पादनका लागि तालिम नै दिएको हो ।
आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सागर जलारीले सेनालाई स्वर्ण दिलाएका थिए । झण्डै करिब ३७ वटा खेलकुद विधामा आफ्नो उत्कृष्टता हासिल गर्दै आएको सेनाले यस वर्षदेखि साहसिक खेल प्याराग्लाइडिङ विधामा पनि अब्बल बनाउने लक्ष्यले तालिम दिइएको तामिममा सहभागी पश्चिम पृतना पोखराका प्रमुख सेनानी अर्जुन बस्नेतले बताए ।
बस्नेतसँगै पाल्पा घर भएकी सेनाकी जवान खगिता सिञ्जाली, गोर्खाकी पुनम भुजेललगायत ५ महिलासहित २४ जना खेलाडीहरूले तालिम लिएका छन् । सिञ्जालीे हाइजम्पमा ४२ औं राखेप च्याम्पियन हुन् । ८ औं राफ्टिङ खेलमा दोस्रो स्थानको मेडल जितेकी थिइन् । श्री श्रीजङ गण लम्जुङमा कार्यरत भुजेल धाविका हुन् ।
धरानस्थित एशियन प्याराग्लाइडिङ एकेडेमीको आयोजना र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ एसोसिएसन (नेफा) प्रदेश नं १ को संयोजनमा प्रशिक्षण समापन कार्यक्रममा पूर्वी पृतना इटहरीका पृतनापति उपरथी अनन्त कार्कीको उपस्थिति रहेको थियो । उनले सेना र नागरिकको सहकार्यमा पर्यटन विकासका क्षेत्रमा काम गर्न सकिने बताए ।
उदयपुरका विभिन्न क्षेत्रमा वृक्षरोपण गर्न पनि सहयोग गर्ने उनले बताए । उनीहरूलाई प्रमुख प्रशिक्षकमा भारतका अजयकुमार शर्मासहित एशियाडमा रजत पदक विजेताहरू विजय गौतम र विशाल थापा तथा प्रशिक्षकहरू देशमणि जिमी र खुमबहादुर गुरुङले प्रशिक्षण दिएका थिए । यो प्याराग्लाइडिङको शुरुवाती सोलो (सिङ्गल) उडानको कोर्ष हो । टेण्डम (डबल) कोर्ष गर्न सोलो कोर्ष गरेको एक बर्षपछि मात्र गर्न पाइन्छ ।
प्याराग्लाइडिङ उदयपुरको वोप्ताङबाट उडान गरेर डुम्रीबोटे नजिक सप्तकोशी किनार छेउको मैदानमा अवतरण गर्ने व्यवस्था मिलाएको छ । उक्त उडानका लागि बेलका नगरपालिकाले ४५ रोपनी जग्गा उपलब्ध गराएको छ । समापनमा बेलका नगरपालिकाका मेयर दुर्गा थापा (स्वस्ती)ले बेलकामा स्तरीय प्याराग्लाइडिङ विद्यालय बनाउन पहल भइरहेको जानकारी दिए ।