इटहरी/ इटहरीमा रहेको मेट्रिक्स अहिले लोभलाग्दो भएको छ । करिब एक बिघा जमिनमा फैलिएको म्याट्रिक्स अहिले कलात्मक मूर्तिकलाले सजिएको छ ।
मनै लोभ्याउने मेट्रिक्स पछिल्लो समय कलात्मक मूर्तिले पर्यटकहरू बोलाइरहेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको ४५ दिने मूर्तिकला कार्यशालामा ३२ जनाले इटहरीमा मूर्ति बनाउन सिके । त्यही मूर्ति अहिले मेट्रिक्समा सजिएको छ । प्रख्यात मूर्तिकार तथा मेटिूक्सका अध्यक्ष विक्रम श्रि भन्छन् ‘प्रदेश १ का सोलुखुम्बु र पाँचथरबाहेक १२ जिल्लाका सहभागी भए ।
विक्रमश्रीले भने, ‘२५ जनाको मात्रै कोटा रहे पनि ३२ जनालाई सहभागी गराएर कार्यशाला गरायौं ।’ यो हाम्रो उपलब्धि हो । सहभागी ३२ जनामध्ये चारजना महिला र अन्य पुरुष थिए । उनीहरूले बनाएको मूर्ति अहिले प्रदर्शनमा राखिएको छ । नेपालमै पहिलोपटक ऋषिदेव र धिमाल समुदायका दुईजना व्यक्तिहरू पनि मूर्तिकला कार्यशालामा सहभागी भएकाले आफू हर्षित भएको विक्रम श्रीले सुनाउँछन् ।
हामीले मूर्तिकला कार्यशाला सम्पन्न गरिसकेपछि यहाँ बनाइएको मूर्तिहरूको प्रदर्शन आज (सोमबार) गर्ने तयारी पनि गरिरहेका छौँ’–उनले भने । १४ वर्षकी किशोरीदेखि ७० वर्षीया महिला पनि मूर्तिकला कार्यशालामा सहभागी भएकाले अन्य मानिसलाई प्रेरित हुने उनले सुनाए ।
ऋषिदेव समुदायबाट पहिलो मूर्तिकार अजब ऋषिदेव, धिमाल समुदायबाट पहिलो मूर्तिकार बुद्धिमान धिमाल, ७० वर्षीया रेनुका तिम्सिना, १४ वर्षीया अनिसा इस्वोलगायत कलेज पढ्ने तीनजना सहभागी भएको उनले सुनाए । उनले भने, ‘यो दक्षता अभिवृद्धि कार्यशालासमेत हो, यहाँ बनाइएका कलाकृति यहीँ राख्ने सोच बनाएका छौँ ।’ प्रदेश १ सरकारले मूर्ति कार्यशालाका लागि १२ लाख रुपैयाँ बजेट छुट्याए पनि अझै ६ देखि ७ लाख रुपैयाँ बजेट अपुग रहेको र बाँकी रकम इटहरी मेट्रिक्सले नै ब्यहोरेको बताए ।
‘प्रदेश १ मा यसबाहेक मूर्तिकला कार्यशाला औपचारिक रूपमा भएको थिएन,’ उनले भने, ‘यसअघि तीनवटा मूर्तिकला कार्यशाला मात्र भएका छन् ।’ उनले २०४६ सालमा धरान, २०६१ सालमा इटहरीको काव्यवाटिका र २०६८ मा उदयपुरको त्रियुगामा मूर्तिकलासम्बन्धी कार्यशाला भएको थियो । नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम भएको हो विक्रम श्रि भन्छन् ।
इटहरीबाट पूर्व उत्तरमा रहेको सो मेट्रिक्स स्थानमा फाइवरजेल, धातु, जर्मन सिसा र आरसिसी गरी बनाइएका ८२ वटा मूर्ति छन् । ती मूर्ति प्रदेश १ मा ख्याति कमाएका मूर्तिकारदेखि अहिलेका नयाँ कलाकारसमेतले बनाएका हुन् । सरकारले पङ्खा र मुढा बनाउने पाठ्यक्रम बनाए पनि मूर्तिकला पाठ्यक्रम नबनाउँदा समस्या भइरहेको बेला विक्रम श्रीकै संयोजकत्वमा नयाँ पाठ्यक्रम बनाइएको छ ।