दमक/ दमक नगरक्षेत्रभित्र रहेका २१ वटा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई दमक नगरपालिकाले अङ्कुस लगाएको छ । सामुदायिक विद्यालयमा पढाउने ती शिक्षकहरूले अब आफू आबद्ध विद्यालयबाहेक अन्य शैक्षिक संस्थामा काम गर्ने कुरालाई नगरपालिकाले कडाइ गरेको हो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेका अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू बाहिरका शैक्षिक संस्थामा बढी आकर्षित भएर आफू आबद्ध विद्यालयमा कम समय दिने गुनासो नगरपालिकामा आएकाले यस प्रकारको नियम ल्याइएको बताए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै जानुमा त्यहाँ कार्यरत शिक्षकहरूले आफ्नो सीप र क्षमतालाई सो विद्यालयमा पर्याप्त प्रयोग गर्न नचाहेको भन्दै अब यस प्रकारको नियमले केही सुधार हुने उनले बताए ।
उनका अनुसार अब दमकका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले निजी तथा अन्य शैक्षिकसंस्थामा गएर पढाउँदा आफू कार्यरत विद्यालयको व्यवस्थापन समितिको निर्णय, विद्यालयको सिफारिस पत्रका साथमा दमक नगरपालिकाको शिक्षा शाखाबाट अनुमति –पत्र लिएर मात्र पढाउन पाइनेछ ।
यसले सामुदायिक विद्यालयमा शिक्षकहरूको गैरजिम्मेवारीपनलाई हटाएर जिम्मेवारी बोध गराउने विश्वास नगरपालिकाले लिएको छ । यो निर्णय बिहीबारदेखि लागू भएको र नियमको उल्लङ्घन गर्र्ने शिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही हुने नगरकी उपप्रमुख तथा शिक्षा समिति संयोजक गीता अधिकारीले बताइन् ।
विद्यालयको पठन–पाठनलाई नै असर पर्ने गरी कुनै शिक्षकले बाहिर केन्द्रित भएर काम गरेको पाइएमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिले नै कारबाही गर्न पाउने नियम बनाइएको उनले बताइन् । ‘यदि यो काममा समितिको कारबाही गर्न सकेन भने नगरपालिका आफैले कारबाही गर्नेछ’ उपप्रमुख अधिकारीले भनिन्, ‘ग्रेड घटाउनेदेखि लिएर अन्यत्र सरुवा गराउनेसम्मको अधिकार भएकोले नगरपालिकाले ल्याएको नियम नमान्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउनेछौं ।’ यो नियम जसरी भए पनि लागू गराउने नगरपालिकाले अडान लिएको छ ।
शिक्षकहरूको विरोध
आफूभित्र भएको बौद्धिक क्षमता जहाँ पनि बेच्न पाउनुपर्ने भन्दै शिक्षकहरूले नगरपालिकाको यो निमयको विरोध गरेका छन् । दमक–१० स्थित सिंहदेवी माविका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासङ्घ दमक नगरकमिटीका अध्यक्ष समेत रहेका रुद्र सुवेदीले शिक्षकहरूले आफू कार्यरत विद्यालयमा बिहान १० देखि दिउँसो ४ बजेको समयबाहेक जहाँ जेसुकै गर्न पाउने अधिकार रहेको बताए ।
उनले सम्बन्धित विद्यालयको पठन–पाठनमा असर नपु¥याई बाहिर पनि काम गर्ने शिक्षकका हकमा यो नियम निर्मम बनेको बताए । यसले शिक्षकहरूको आफ्नो बौद्धिक क्षमता विकास गर्ने, प्रयोग गर्ने र बेच्न समेत पाउने अधिकारको हनन् गर्न खोजेको जस्तो देखियो । सुवेदी दमकस्थित मोडल क्याम्पसमा समेत बिहानको समयमा अध्यापन गराउँछन् ।