भोजपुर/ ‘पर्यटन वर्ष २०२०’लाई सफल बनाउन भोजपुरको ‘मुन्दुम ट्रेल’ महत्वपूर्ण गन्तव्य बन्न सक्छ । नेपाल सरकारले छानेका १०० पर्यटकीय क्षेत्रमध्ये यो ट्रेल पनि समेटिएको छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहाने पर्यटकलाई उपयुक्त हुने गरी नेपालमै थुप्रै पदमार्ग खोलिएका छन् ।

धेरै पर्यटकीय सम्भावना बोकेका त्यस्ता पर्यटकीय पदमार्गमध्ये छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ विकास भइरहेको छ । भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिका पनि जुटेको छ । त्यसका लागि पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यान राख्दै संरचनाहरू निर्माण भइरहेका छन् ।

munu

प्राकृतिक सुन्दरताले अति मनमोहक दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रलाई ‘टुरिष्ट हब’ बनाउने लक्ष्यले ३१ दशमलब ५ किलोमिटर लामो पदमार्गको काम थालिएको हो । हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी भएको प्रमुख पदस्थल भएको उक्त पदमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले भने, ‘पछिल्लो समय यस पदमार्गमा पर्यटकको आगमन बढ्दो छ । गाउँपालिकाले यसको विकासको लागि काम गरिहेको छ । प्रदेश र केन्द्र सरकारले पनि यसमा चासो देखाएको छ । यस पदमार्गको अझ विकास गरेर गाउँपालिकाको मुख्य आर्थिक स्रोत बनाउने सोेचका साथ काम भइरहेको छ ।’

उक्त मुन्दुम पदमार्गमा दुई हजार ४०० मिटरदेखि तीन हजार ३०० मिटरको दुरीमा उकालोओरालो गर्दै डाँडैडाँडामा पैदलयात्रा गर्न सहज हुन्छ । यस मार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ ।

यसरी डाँडैडाँडाको बाटो हिँड्दा थकान कम हुने र लेक पनि नलागी सुन्दर दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रमा अवस्थित पदमार्ग ताप्लेजुङको लालीगुँरास पदमार्ग र पश्चिमको खप्तड पदमार्गभन्दा राम्रो रहेको पर्यटन विज्ञहरूको दाबी छ । यस क्षेत्रको भ्रमणका लागि आएका हिमालयन म्याप हाउस, ललितपुरका फोटोग्राफर पवन शाक्यले भने । ‘यो पदमार्ग अहिलेसम्मकै नेपालभरको सुन्दर दृश्यावलोकन गर्न सकिने पदमार्ग हो । विशेषगरी बाह्य पर्यटकका लागि बनाइने यो पदमार्गको विशेषतालाई देशविदेशसम्म प्रचारप्रसार गर्न र यसको उजागर गर्न पहिलो कसरत गर्नुप¥यो । यहाँको वास्तविक पर्यटकीय सम्भावना देशविदेश पुगेपछि पर्यटकको आगमन बढाउन सकिन्छ । जसले यहाँको पर्यटन विकास उक्सिन सक्छ ।’

उच्च हिमाल चढ्न पनि नसक्ने तर त्यसलाई नजिकबाट नियाल्न चाहाने पर्यटक अन्यक्षेत्रको ठाउँलाई छोडेर पोखरा, चितवन, काठमाडौँमा भ्रमण गर्ने र फर्कने पर्यटक यस्ता किसिमका पदमार्गको भ्रमण गर्न चाहन्छन् । सरकारले पर्यटनमा नयाँ खालको उत्पादन ल्याउन नसक्दा पछिल्लो समय पर्यटन व्यवसाय राम्ररी नफस्टाएको टेम्के मैयुङ साल्पासिलिछो पर्यटन प्रवद्र्धन तथा विकास समितिका अध्यक्ष रमेश राईले बताए । विदेशी पर्यटकले आफूले खोजेजस्तो भ्रमणस्थल नपाएको पछिल्लो समय पर्यटकको विषय बाहिर आउन थालेको उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकाले पनि पदमार्गको अनुगमन र सम्पूर्ण सम्भाव्यताको अध्ययन सकेर अहिले संरचना निर्माण तथा प्रचारप्रसारमा लागेको छ । उक्त पदमार्ग हुँदै पैदलयात्रा गर्दा यहाँका जैविक विविधता, सांस्कृतिक विविधतालाई हेर्न चाहने र शान्त, सुन्दर वातावरण खोज्ने पर्यटकको माग दिनप्रतिदिन बढिरहेको गाउँपालिकाका प्रवक्ता सुनिल राईको भनाइ छ ।

पर्यटकीय पदमार्गको लागि भ्रमणमा आउने पर्यटकका लागि टि हाउस, अस्थायी टहरा, सार्वजनिक शौचालय, फोहरमैला व्यावस्थापन, खानेपानी लगायतको भौतिक संरचनाको व्यवस्था गरिनु सबैभन्दा पहिलो पूर्वाधार विकासको खुड्किलो रहेकाले त्यसको काम भइरहेको राईको भनाइ छ ।

उक्त मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्जाङबाट शुरु भई मैयुङ, हासपोखरी हुँदै साल्पापोखरीमा टुङ्गिने प्रवक्ता राईले जानकारी दिनुभयो । ‘अल्पाइन जोन’ अर्थात् धेरै उचाइ र धैरै होचाइमा नभएको यो पदमार्ग आगन्तुक पर्यटकका लागि लेक लाग्ने समस्या नहुने सन्तुलित हावापानी भएको भोजपुरको मुन्दुम पदमार्ग क्षेत्र उपयोगी सावित भएको अनुगमनले देखाएको छ ।

मुन्दुम पदमार्गले यहाँको वन्यजन्तुको आरक्षण क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना बोकेकोले यहाँको पर्यटन व्यवसाय फस्टाउने सम्भावना रहेको विगत १८ वर्षअघिदेखि पर्यटकीय क्षेत्रमा पथप्रर्दशक रहनुभएका ईन्सु राईको भनाइ छ । उनले आफ्नो अनुभवलाई सुनाउँदै नेपालका ७७ वटै जिल्लाका ठाउँमा गाइड गर्दा पर्यटकीय गन्तव्यका लागि भोजपुर पूर्वाञ्चलकै पहिलो प्राथमिकताको पर्यटकीय पदमार्ग क्षेत्र भएको बताए ।

‘अहिलेको पर्यटन व्यवसायमा जनशक्तिको अभावले विदेशी पर्यटकको आगमनमा कमी हुन थालेको छ । सजिलो तरिकाले पर्यटन पेशाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन सकिन्छ,’ उनले भने । भोजपुरलाई बाहिरी दुनियाँमा प्रचारप्रसार गर्नसके यहाँको पर्यटनलाई सकरात्मक र व्यवस्थित ढङ्गबाट व्यावसायिकरण गर्न सकिने भोजपुरे गायक श्याम सामसोङ राईको भनाइ छ ।

उहाँले स्थानीयबाट घुम्न आउने पर्यटकलाई स–सम्मान व्यवहार गर्नुपर्ने साथै आफ्नो ठाउँको रीतिरिवाज, रहनसहन वेशभूषाको बारेमा जानकारी दिन सक्नुपर्ने बताए । उनले भने, ‘म यहीँको बासिन्दा भएकोले काठमाडौँमा रहेर पनि यसको विकास विस्तारसँगै प्रचारप्रसारमा लागेको छु । यसले हाम्रो गाउँपालिकालाई समृद्ध बन्न पक्कै सहयोग पुग्नेछ ।’

यसको नामाकरण भने किरात संस्कृतिअनुसार राखिएको छ । पितृ बस्ने नाक्छुङ, बारालुङ (ढुङ्गाले घेरिएको चुलो) आफ्नो पितृलाई देवशक्ति माग्दै चुला, मूलथाम, मूलढोका, बलेसी, फूलबारी, चौरास्ता हुँदै ओरालो लाग्ने, पानी अन्तिम विन्दु जहाँ संसारको सृष्टि हुने परिकल्पना गर्दै शक्ति आर्जन गरेर मुन्दुमी (किराती) अगाडि बढ्छन् ।

यसरी किरातीले आफ्नो जीवन दर्शन मान्ने ‘मुन्दुम’ शब्द नै विवादास्पद नहुने भनेर यहाँका डाँडाकाँडा, तालतलैयाको किराती नाम विशेषले यसको ‘मुन्दुम ट्रेल’ नामाकरण गरिएको रिमाचुङ एजुकेशन एन्ड स्पोर्टस एकाडेमीका अध्यक्ष पाविहाङ राईले बताए ।