भद्रपुर/ झापाको हल्दीबारीमा लोपोन्मुख मेचे भाषामा पठनपाठन शुरु गरिएको छ । साबिक जलथल गाविसमा एक हजार पाँच सय बढी मेचे समुदाय बसोबास गर्दै आइरहेका छन् । आफ्नो भाषा भेषको लागि दुइवर्ष यताबाट कार्यान्वयनमा आएको स्थानीय सरकारले भाषा जोगाउन यो व्यवस्था शुरु गरिएको पाइन्छ । तराईका जिल्लाहरूमा फाटफुट रूपमा बसोबास गर्दै आइरहेका मेचे जातिको बाहुल्यता झापा नै हो ।
हल्दीबारी गाउँपालिकाको जलथल र मेचीनगरपालिकाको धाइजनामा मेचे जातिको बाक्लो बसोबास रहेको ती पालिकाको तथ्याङ्कमा उल्लेख छ । लोपोन्मुख मेचे जातीको भाषा, धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले पालिकाहरुले आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरी ती समुदायमाथि मलहमपट्टि लगाउने काम गरेको छ ।
मेचे जातीलाइ मध्यनजर गरी हल्दीबारी गाउँपालिकाले हल्दीबारी गाउँपालिका – ४ जलथल ऐनावारी स्थित दीपेन्द्र प्राथमिक विद्यालयमा मेचे भाषाको पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६।७७ को बजेट, नीति तथा कार्यक्रममै लोपोन्मुख मेचे जातीको भाषा, धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम ल्याएको हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जानकारी दिए । एक महिनाअघि देखि नै विद्यालयमा मेचे भाषामा पठनपाठन शुरु भएको उनको भनाइ छ ।
मेचे भाषाको पठनपाठन नेपालमै पहिलो पटक भएको लिङदेनको दाबी छ । केहीदिन अघि गाउँपालिकाले किताब उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले जानकारी दिए । सन्तलाल मेचेले लेखेको ‘जङ्नी राउ’ थाख— १ नामको पुस्तक रहेको छ । कक्षा १ को लागि तयार पारिएको पुस्तकमा ३७ भाग र ९५ पेज रहेको जनाइएको छ ।
उक्त पुस्तकको विमोचन गाउँपालिकाले भदौ १३ गते आयोजना गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा लोर्कापण गरिएको थियो । सङ्घीय साँसद् सदस्य राजेन्द्र लिङदेनले गरेका थिए । पुस्तक विमोचनपछि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । हल्दीबारी कै नमूना विद्यालयका रूपमा विकसित हुँदै गएको सो विद्यालयमा लोपोन्मुख मेचे जातिका ९० प्रतिशतभन्दा बढी बालबच्चा अध्ययनरत गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशलाल मेचेले बताए । भाषासँगै जातियता जोगाइराख्न यस्तो विषय अध्यापान गराउन शुरु गरिएको उनको भनाइ छ ।
साबिक जलथल गाविस पर्ने दीपेन्द्र प्राविको स्थापना २०४४ साल भएको हो । हाल सो विद्यालयमा १ सय ३१ जना विद्यार्थी अध्ययनरतमा ५५ जना विद्यार्थी मेचे समुदायको रहेको विद्यालयका प्रधानाध्यापक आर्चायले बताए । मेचे भाषा पठनपाठन गराउने गाउँपालिकाले विद्यालयलाई २ लाख ५० हजार रुपैयाँ छुट्ट्याएको उनले जनाए ।
विद्यालयले शिक्षकको व्यवस्थापन गरेर यही शैक्षिक सत्रदेखि मेचे भाषा पठनपाठन शुरु गरिएको उनले जनाए । कक्षा १ का लागि तयार पारिएको मेचे भाषाको पुस्तक अन्य कक्षामा अध्ययन गर्ने मेचे जातीका विद्यार्थीलाई समेत पढाउँदै आएको मेचे भाषा शिक्षक सुनिता मेचेले बताइन् । । स्थानीय तहले नै पाठ्यक्रम तयार पारेर यही शैक्षिक सत्रबाट पठन–पाठन शुरु गरिएको शिक्षा समितिका संयोजक तथा उपप्रमुख डम्बरबहादुर गिरीले बताए । पठ्न इच्छा हुने सवै विद्यार्थीले अध्ययन गर्न सकिने उनले जनाए ।
मेचे भाषाको व्यञ्जन १७ तथा स्वर वर्णन ५ रहेको भाषाशास्त्री सन्तलालले जनाए । भाषा अध्ययन गर्न चाहने जुनसुकै समुदायका विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाएको विद्यालयले जनाएको उनको भनाइ छ । एसीसहितको वाल विकास कक्षा समेत सञ्चालन गरिएको र आउँदो शैक्षिक सत्रदेखि विद्यार्थी सङ्ख्यामा समेत सुधार आउने विश्वास विद्यालयले लिएको जनाएको छ ।