पाँचथर/ समाज विकासको चरणसँगै चौतारा, फलैंचा, पाटी, पौवा जस्ता पुराना सामाजिक संरचना बेवारिसे बनेका छन् । दूरदराज मानिएका ग्रामीण इलाकाहरू मोटरबाटोको पहुँचमा जोडिएसँगै पैदल मार्ग विस्थापित भए ।

त्यससँगै यस्ता संरचनाको अस्तित्व सङ्कटमा परेको हो । पहिले–पहिले आफन्तजनको देहावसानपछि उनीहरूको स्मृतिमा चौतारा, फलैंचा वा पाटी पौवा निर्माण गर्ने प्रचलन थियो । बटुवाहरूको सुविधाका लागि पैदल मार्गको पायक पर्ने स्थानमा यस्ता संरचना बनाइन्थे । त्यसो गर्दा पुन्य प्राप्ति हुने र मृतकको आत्माले समेत शान्ति पाउने विश्वास गरिन्थ्यो ।

तर, अहिले दुर्गम भनिएका गाउँघरमा समेत मोटरबाटोको सुविधा पुगेसँगै ती संरचनाहरूको बिजोग भएको हिलिहाङ गाउँपालिका–४, का योगेशरत्न योङ्याले बताए । बाटो हिंड्ने बटुवा, भारी बोक्ने भरिया चौतारामा बिसाएर मात्र बाटो लाग्थे ।

वर–पिपलको छहारीमुनि बसेर सुस्ताउँथे । सुस्केरा हाल्थे । सुसेली मार्थे । आनन्दको अनुभूति गर्थे । बीच बाटोमै रात परे बास बस्नलाई पार्टी पौवा हुन्थे । सातुसामल साथैमा बोकेर हिंड्ने भरिया पार्टीमै पकाएर खान्थे । त्यहिँ बास बसेर भालेको डाकसँगै बाटो लाग्थे । यस्ता संरचना निकै ध्यान पुर्याएर ठिक–ठिक ठाउँमा बनाइएका हुन्थे । तर अहिलेको पुस्ताका लागि यो यथार्थ कथा जस्तै बन्दै गएको पाँचथर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक लक्ष्मी ढुङ्गाना बताउँछन् ।

जिल्लाका विभिन्न स्थानमा नगन्य मात्रामा यस्ता संरचना छन् । तर संरक्षणको अभावमा प्रायः सबै जीर्ण अवस्थामा छन् । मानिस हिंड्न छाडेपछि पैदल मार्ग मेटिँदै गएका छन् । मानिसको आवत–जावत शून्य भएपछि यी संरचना स्याहारविहीन भएर भत्किएर जाँदैछन् । यी संरचनाहरूले सामाजिक–सांस्कृतिक महत्व राख्ने भएकाले संरक्षण गर्न आवश्यक रहेको लेखक लक्ष्मण लाओती बताउँछन् । उनले भने,‘‘यी वस्तुहरूबाट भावी पुस्ताले हाम्रो समाजको विकासक्रम र सामाजिक–सांस्कृतिक पक्षबारे बुझ्न सहयोग पुग्छ, त्यसैले यिनलाई जोगाएर राख्नुपर्छ ।’’

विकासको क्रमसँगै यातायातको सहज पहुँच सिर्जना हुँदा यस्ता संरचनाहरू अप्ठ्यारोमा परेको फिदिमस्थित कञ्चनजङ्घा एकेडेमीका समाजशास्त्रका शिक्षक युधिष्ठिरराज आमगाईं बताउँछन् । उनको विचारमा चौतारा–फलैंचा बनाउने संस्कृतिलाई समय सापेक्ष ढङ्गले निरन्तरता दिन सकिन्छ । पहिले पैदल मार्गमा बनाइने यस्ता संरचनाहरू अब गाउँ–टोलको आसपासमा सार्वजनिक बस बिसौनी आदिमा ‘पार्क’ शैलीमा निर्माण गरिए उत्तम हुन्छ । उनले भने, ‘जुन संरचना समाजका जेष्ठ नागरिक, युवा–युवती र बाल बालिका समेतलाई हुन्छ ।’’

यस्ता संरचना नेपाली समाज र संस्कृतिसँग जोडिएको विषय भएकाले आगामी दिनमा पुराना संरचनाको संरक्षण र उक्त संस्कृतिको निरन्तरताका लागि के गर्न सकिन्छ ? आफूले कुरा उठाउने फिदिम नगरकार्यपालिका सदस्य विमला लिम्बूले बताइन् । आठ स्थानीय तह र ६० वटा वडा रहेको पाँचथरका प्रायः सबै गाउँ सडक सञ्जालले जोडिएका छन् । सडकले पैदल मार्ग विस्थापित हुँदा त्यस्ता सामाजिक संरचना पनि सङ्कटमा परेका हुन् ।