तीन दशकको व्यावसायिक अनुभव र तीन कार्यकाल उद्योग वाणिज्य सङ्घ इटहरीको कार्यसमितिमा रहेर कामको अनुभवपछि इटहरीका व्यवसायी भीमबहादुर पौडेल उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा अत्यधिक बहुमतका साथ विजयी भए । दुई महिना अघि भएको निर्वाचनबाट उनलाई उद्योगी व्यवसायीले निर्वाचनद्वारा अध्यक्ष चयन गरेका हुन् । लामो समयको व्यावसायिक अनुभव र यस अघि पनि सङ्घमा रहेर काम गरेको कारण इटहरीका उद्योगी व्यवसायीको समस्या समाधान गर्दै इटहरीको आर्थिक समृद्धिका लागि पौडेल नेतृत्वले काम गर्ने उद्योगी व्यवसायीको विश्वास छ । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा विजयी भए पछि आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गराउन के कसरी काम गर्दैछन् ? साथै नजिकिँदो चाडबाडलाई मध्यनजर गरी आम उपभोक्तालाई सहजता दिने के कसरी काम गर्दैछन् ? यसै विषयमा ब्लाष्टका लागि बाबुराम सुवेदीले गरेको कुराकानीको सारः

– आजभोलि के गर्दै हुनुहुन्छ ?
आफ्नो व्यवसाय छँदै छ । त्यसको साथै अहिले उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आएपछि उद्योगी व्यवसायीहरूका समस्या समाधानमा पनि काम गरिरहेको छु । विभिन्न सामाजिक सङ्घ संस्थाका कार्यक्रममा सहभागिता जनाउने लगायतका कार्यक्रममा व्यस्त नै छु । व्यवसाय र सङ्घ संस्था, साथीभाइ र संस्थाको काममा व्यस्त छु ।

– तपार्इं र तपाईंको नेतृत्व उद्योग वाणिज्य सङ्घमा निर्वाचित भएको महसुस यहाँका उद्योगी व्यवसायीलाई कसरी गराउ“दै हुनुहुन्छ ?
हामीले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा जे एजेण्डा लिएर गएका थियौं । त्यसैलाई कार्यान्वयन गराउने हो । पहिलो कुरा सार्वजनिक शौचालय भनेका थियौं । नेपाल बैङ्क अगाडि सार्वजनिक शौचालय बनाउँदै गरौं भन्ने छलफल भएको छ । इटहरी उपमहानगरपालिका अगाडि पनि नगरपालिकासँग समन्वय गरेर शौचालय बनाउने योजना छ । नगरपालिकाले शौचालय बनाउने ठाउँ दिनुप¥यो । जसको लागि जग्गा उपलब्ध गराउन इटहरी उपमहानगरपालिकालाई पत्राचार गरिसकेका छौं । साथै हामीले इटहरीका उद्योगी, व्यवसायी, मजदुर एवम् सामाजिक उत्तर दायित्वको काम पन गर्दै छौं । हामीले सचेतनाका कार्यक्रम पनि अघि बढाइरहेका छौं ।

नगरवासीलाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यौं । साथै इटहरी बजार सफा हुनुपर्छ भन्ने उद्देश्यले हामीले बजार सफाइको अभियान पनि चलायौं । बजार सफा गराउन यहाँका निकायका साथै बजारबासी पनि सचेत हुनुपर्छ भन्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो । इटहरीका व्यवसायीहरूको रु ५ लाख सम्मको निशुल्क बिमा गर्ने व्यवस्था गर्ने भनेका छौं । व्यवस्थित प्रदर्शनी स्थल र आद्योगिक क्षेत्रको स्थापना गर्न विशेष पहल गर्ने, विज्ञ परामर्श दाताको व्यवस्था गरी इटहरीका सबै व्यवसायीहरूका लागि लेखा, कर र कानूनी कुरामा निःशुल्क परामर्श दाताको व्यवस्था गर्ने विषयमा हामीले काम गर्ने नै छौं । व्यावसायिक हितका लागि केही योजना बनाएका छौं । व्यवसायीको समस्या समाधानमा सहजीकरण गर्ने, व्यवसायीहरूका लागि लेखा, कर र कानूनी कुरामा निःशुल्क परामर्श दाताको व्यवस्था गर्ने योजना बनाएका छौं । महिला उद्यमीहरूको लागि महिला उद्यमशीलता कार्यक्रमहरू सञ्चालन गर्ने । अव्यवस्थित विजुली तार, अस्तव्यस्त सडक पेटी र दुर्गन्धित नालीलाई व्यवस्थापना गरी इटहरीलाई सुन्दर पर्यटकीय शहर बनाउन सम्बन्धित निकायको सहकार्यमा काम गर्ने योजना बनाएका छौं ।

– इटहरीकम उद्योगी व्यवसायीका मुख्य समस्या चाहिँ के हुन् ?
यहाँको मुख्य समस्या भनेको घरबहाल कर र बैङ्क व्याजको समस्या हो । साथै हामीले उद्योग करिडोर बनाउने योजना अघि सारेका छौं । इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य सङ्घ र सरोकारवालको सहकार्यमा यो कार्य सम्भव छ । काम ग¥यो भने असम्भव छ भन्ने मलाई लाग्दैन । हामी सबै जुट्यौं भने तीन वर्षभित्र यो काम गर्न सकिन्छ । साना तिना समस्याको बारेमा काम गर्ने कुरा त छँदै छ ।

– चाडबाड नजिकिँदै गर्दा बजारमा कालोबजारी हुने जसले गर्दा आम उपभोक्ता ठगिने र कतिपय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गराउने जस्ता काम पनि हुँदै आएका छन् । यसलाई रोक्न उद्योग वाणिज्य सङ्घको भूमिका यसमा के रहन्छ ?
उपभोक्तासँग जोडिने व्यापारीहरूलाई हामीले सचेत गराउने हो । चाडबाडमा पक्कै पनि दैनिक उपभोग्य वस्तुको माग बढेकै हुन्छ । यसलाई प्रशासनले पनि निगरानी गरिरहेकै हुन्छ । जनतालाई सर्वसुलभ सामान उपलब्ध गराउन नगरपालिका र जिल्ला प्रशासन कार्यालयले सङ्घसँग समन्वय गरेर अनुगमन पनि गर्दै आएको छ । त्यो भन्दा पनि अघि हामीले कुनै पनि सामान आयात गर्ने डिलरसँग कुरा गरिसकेका छौं । बजारमा सामान अभाव नभए पछि दर बढाउने कुरै भएन । आम उपभोक्ताले ढुक्कका साथ बसे हुन्छ । चाडबाडमा मात्रै होइन इटहरीमा अन्य समयमा पनि कुनै विषम परिस्थिति बाहेकको समयमा दैनिक उपभोग्य वस्तु अभाव हुन दिँदैनौं ।

– सरकारले ल्याएको नीति विरुद्ध आन्दोलनको तयारीमा पनि हुनुहुन्थ्यो । अहिले के भइरहेको छ ?
सरकारले आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि भीसीटीएस प्रणली लागू गर्ने तयारी गरे पछि उद्योग वाणिज्य सङ्घले विरोध ग¥यो । हामीले अहिले यो सम्भव छैन भनेका हौं । मालसामानको विवरण भीसीटीएस, स्थायी लेखा नम्बर, ढुवानीमा भ्याटको विषय राम्रो भए पनि त्यसको लागि वातावरण बनाउनुप¥यो नि । उचित वातावरण नबनाई यस्तो कुरा सम्भव छैन । ऐन नियम कानून, प्रविधि मुलुक र जनताको हकहितमा ल्याइए पनि व्यावसायिक कठिनाइ समाधान नगरी प्रविधिसँग जोडिएको विषय समाधान गर्न सकिँदैन भन्ने हाम्रो कुरा हो । उद्योग वाणिज्य महासंघले पनि यो विषयमा सरकारसँग कुरा गरिरहेकै छ । सरकारले एक हजार रुपैयाँसम्म भुक्तानीमा पान नम्बरको व्यवस्था हुनुपर्ने भनेको थियो । जुन अहिले सम्भव छैन । अहिले ६ महिनाको लागि यो भीसीटीएस लागू गर्ने विषयमा पनि पूर्वाधार र सबै सक्षम छैनन् । भीसीटीएस लगाउन त्यति सजिलो छैन । भोजपुरमा सामान पठाइको छ भने त्यहाँ नेटवर्क नभएको बेला के सामान बोकेर गाडी त्यही बसिरहने ? अहिले नै लगाउने बेला भएको छैन । प्रविधिको विकास र व्यवसायीले तयारी नगरीकन सरकारले काठमाडांैलाई मात्रै हेरेर यो देशभरि सम्भव छैन ।