माेरङ। नेपालमा क्यान्सर रोग दिन-प्रतिदिन बढ्दो छ । झण्डै बीसदेखि तीस हजारको हाराहारीमा नेपालमा क्यान्सर रोगीहरु रहेको अनुमान छ । यहि रोग बिरुद्ध बिराटनगर र धरानमा धरानस्थित बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको लियो क्लब अफ धरान घोपा युनाइटेड, लायन्स क्लब अफ बिराटनगर युनाइटेड र लियो क्लब अफ बिराटनगर युनाइटेड लगायतका संस्थाहरुको अगुवाइमा बुधबारदेखि विभिन्न स्थानमा क्यान्सर सम्बन्धि सचेततामुलक अभियान संचालन हुदैछ ।

"क्यान्सर पत्ता लगाऔं, उपचारमार्फत रोकौं र रोगीको सहायता गरौं" भन्ने नाराकासाथ "दिर्घायु: माइ हेल्थ, माइ कन्सर्न" कार्यक्रम अन्तर्गत बिराटनगर र धरानका विभिन्न विद्यालयहरुमा स्वास्थ सचेतना अभियान बुधबारदेखि सुरु भएको हो । पहिलो र दोस्रो दिनको कार्यक्रममा बिराटनगरका शिक्षादिप र कान्तिपुर उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत कक्षा १० र ११ का २६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

नेपालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् । महिलामा चाहिँ स्तन र पाठेघरको क्यान्सर विकराल हुँदै गएको देखिन्छ भने पुरुषमा हुने क्यान्सरमध्ये ग्यासट्रिक र फोक्सोको क्यान्सर बढी देखिने गरेको छ । वंशाणुगत, आधुनिक जीवनशैली, बदलिँदो जीवनशैली, गलत खानपान, धुँवाधुलोको प्रदुषण, सूर्तिर्जन्य पदार्थको सेवन, कीटनाशक औषधिको प्रयोगजस्ता कारणले क्यान्सरको जोखिम बढेको बि.पि कोइराला स्वास्थ विज्ञान प्रतिस्ठानमा एम.बि.बि.एस अन्तिम बर्षमा अध्ययनरत तथा कार्यक्रमका संचालक लियो शुभम कुमार अग्रवालले बताए । रोग लाग्नुको कारण जेसुकै भएपनि बेलैमा रोग पत्ता लागे सकारात्मक सोच र दृढ मनोबलका साथ चिकित्सकको निगरानीमा उपचार सम्भव भएको उनले बताए ।

अभिमुखिकरणका क्रममा बोल्दै लियो क्लब अफ धरान घोपा युनाइटेडका सचिव अग्रवालले भने,"बेलैमा पत्ता लागे उपचार सम्भव भए पनि लोकलाजकै कारण रोग लुकाउँदा यो रोगको समस्या जटिल बनेको हो । विभिन्‍न कारणले अहिले क्यान्सर रोग बढ्दै गएको अवस्थामा यसको न्यूनीकरण र नियन्त्रणका लागि जनचेतना आवश्यक छ ।

यस रोगविरुद्धको लडाइका लागि युवाहरु जागरुक भएर विभिन्‍न अभियान चलाउन आवश्‍यक छ ।" ‘हामी विभिन्न कारणले क्यान्सरका बारेमा जानकार हुन सकेका छैनौँ,’ सचिव अग्रवालले भने, ‘क्यान्सर लाग्नुअघि नै रोकथामका लागि जागरुक बनाउन यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छौँ ।’ आगामी दिनहरुको कार्यक्रमलाई अझ परिमार्जित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता अग्रवालले व्यक्त गरे ।

लियो डिस्टृक्ट काउनसिल ३२५ ए १ नेपालका अध्यक्ष लियो रन्जित भगतले क्यान्सरबारे जनचेतना जगाउन सके मात्र त्यसलाई न्यूनीकरण गर्न सकिने धारणा राखे । उनले क्यान्सर के कारणले हुन्छ र त्यसबाट कसरी बच्न सकिन्छ भनेर सचेतना जगाउन सके मात्र क्यान्सरलाई न्यूनीकरण गर्न सकिने बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत डरलाग्दो रोग क्यान्सरका बारेमा जनचेतना जगाउने उद्देश्यले नै यस्ता कार्यक्रमहरुको आयोजना गरेको बताउँदै सबैले सचेत हुने हो भने डरलाग्दो रोग क्यान्सरबाट बच्न सकिने उनले बताए ।

कार्यक्रममा सहभागी लायन्स क्लब अफ बिराटनगर युनाइटेडकी अध्यक्ष लायन कला खडकाले बिरामीले रोग लुकाएर बस्नुभन्दा पनि खुलस्त भएर कुराकानी गर्नुपर्नेमा जोड दिइन् । लायन्स क्लबकी अध्यक्ष लायन कला खडकाले क्यान्सरबारे सर्वसाधारणमा पर्याप्त जानकारीको अभाव रहेको बताइन् । 'बर्सेनि क्यान्सरका बिरामी बढ्दै गएका छन्,' उनले भनिन्, ‘त्यसैले यसबारे पर्याप्त जानकारी गराउन जरुरी छ ।’ क्यान्सरबारे धेरैभन्दा धेरैलाई सचेत गराउने लक्ष्यले नै कार्यक्रम राखिएको लियो बिराटनगर युनाइटेडका अध्यक्ष लियो आरिफ विलियमले बताए ।

प्रदेश नम्बर एकमा पहिलोपटक क्यान्सर सम्बन्धि सचेततामुलक कार्यक्रम आयोजना भएको हो । यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुमा निकै चेतना अभिवृद्धि भएको विद्यार्थीहरुकै प्रतिक्रिया थियो । विद्यालयहरुबाट उत्साहजनक प्रतिक्रिया आए पछि आउने दिनहरुमा अरु विभिन्न स्थानहरुमा पनि यस्तै अभियान संचालन गरिने लियो क्लब अफ धरान घोपा युनाइटेडका अध्यक्ष लियो उकेस कुसिले बताए । यस्ता सचेतनामूलक कार्यक्रमले सर्वसाधरणलाई स्वास्थ्यप्रति जागरुक हुन प्रेरित गर्ने शिक्षादिप कलेजका साइन्स को-ओर्डिनेटर बसन्त बस्नेत बताउँछन् ।

समाजमा क्यान्सर आज पनि उत्तिकै भयावह रोग छ । हुन त क्यान्सरको उपचार नै नभएको होइन । हामीकहाँ पनि यस्ता पात्र भेटिन्छन्, जो क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका छन् जस्तै अभिनेत्री मनिषा कोइराला । पाठेघरको क्यान्सरबाट ग्रस्त उनी सफल उपचार पछि अहिले सामान्य दिन बिताइरहेकी छिन् । उनी जस्ता पात्र अरु पनि छन्, जसले देखाउँछ क्यान्सरको उपचार नै नभएको होइन । तर, क्यान्सर अनेक प्रकार हुन्छन् । साथै यो चरणवद्ध फेलिदै जान्छ ।

धेरैजसो क्यान्सर पहिलो वा दोस्रो चरणमा थाहा भए त्यसको उपचार खोज्न सकिन्छ । क्यान्सरको जटिलता के भने, शरीरमा क्यान्सर फैलिइसकेको त्यसबेला मात्र थाहा हुन्छ जतिबेला यो अन्तिम चरणमा पुगिसकेको हुन्छ । यतिबेला उपचार जटिल, महंगो मात्र होइन कति पटक असंभव पनि हुन्छ । त्यसैले क्यान्सर लागिसकेपछि हामी त्यसलाई निको नहुने रोग भनेर बुझ्ने गरेका छौं । बदलिँदो जीवनशैलीमा विशेष ध्यान दिने, खानपानमा विशेष सजगता अपनाउने, खानामा फलफूल, सागपात खाने, माछामासुमध्ये माछाको प्रयोग बढी गर्ने, प्रदुषण कम गर्ने, व्यायाम गर्ने आदि गरेर पनि यसको रोकथाम गर्न सकिन्छ । त्यसबाहेक स्क्रनिङ जरुरी छ । यसको मतलव, क्यान्सरको जाँच गर्न क्यान्सर नै हुनुपर्छ भन्ने जरुरी छैन । क्यान्सर हुनुअगाडि क्यान्सरको स्क्रिननिङ गराएर पनि जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।