धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आयोजित स्वास्थ्य वैज्ञानिक सम्मेलन शुक्रबार समापन भएको छ । सम्मेलनमा ओरलतर्फ उत्कृष्ट अनुसन्धानतर्फ डा. अभिजितकुमार झा र पोष्टरतर्फ डा. अञ्जनीकुमार यादवले बेस्ट पुरस्कार पाएका छन् ।

यसैगरी एमबीबीएसका विद्यार्थी नितेश झा र पोष्ट ग्राजुएट डा. नेहा थापाले पनि ओरलतर्फको उत्कृष्ट पुरस्कार पाए । पोष्टरतर्फ वैशाली दास र नेहा श्रेष्ठले पुरस्कार जिते भने केस रिपोर्ट क्याटगोरीमा प्रतीक्षा कार्कीले पुरस्कार जितिन् ।

प्रतिष्ठानको बालरोग विभागद्वारा आयोजित तीनदिने २६ औं स्वास्थ्य वैज्ञानिक सम्मेलनमा विजेताहरूलाई निमित्त उपकुलपति प्रा.डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहलगायतले प्रमाण–पत्र वितरण गरेका थिए ।

सम्मेलन अवधिभर प्रतिष्ठानको दन्त चिकित्सक महाविद्यालयका नौ विभागदेखि मेडिसिन, स्त्री तथा प्रसूति, नर्सिङ, स्कुल अफ पब्लिक हेल्थ एण्ड क्यम्युनिटी मेडिसिन, नाक–कान–घाँटी, मानसिक, यौन तथा चर्म, फरेन्सिक, हाडजोर्नी, प्याथोलोजी, फर्माकोलोजी, रेडियोलोजीलगायत ३२ वटै विभाग र त्यहाँ अध्ययनरत विद्यार्थी, चिकित्सक नर्सहरूले २ सय १० स्वास्थ्य वैज्ञानिक अनुसन्धान पत्र प्रस्तुत गरेका थिए ।

यसअघि प्याथोलोजी विभागका चिकित्सक डा. अनिल काफ्लेले सानैमा आगोले पोलेर पनि निको भएको घाउ वयस्क वा वृद्धावस्थामा पुग्दा सार्कोमेटोइड क्यान्सरको रूपमा देखिएको अनुसन्धान प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक एवम् फरेन्सिक विभागका एडिस्नल प्रोफेसर डा. विकास साहले नियमित वा कहिलेकाहीँमात्र रक्सी पिउनेले पानी बढी पिउने भएकाले पिसाब थैली फुट्ने जोखिम बढी हुने अनुसन्धान प्रस्तुत गरेका थिए । डर्माटोलोजिस्ट डा. सूचना मरहठ्ठाले मानिसको शरीरमा देखापर्ने मुसालाई नजरअन्दाज गर्न नहुने अनुसन्धान प्रस्तुत गरेकी थिइन् ।

डेण्टलको प्रोस्थोडोन्टिक्स विभागकी डा. मीरा सिंहले खैनी, सुर्ती सेवनले हुने मुखको क्यान्सरको उपचार तथा शल्यक्रियापछि मुखभित्रको तालुमा बन्ने खाल्टोलाई प्लेट र कृत्रिम दाँत हालेर सहज बनाउन सकिने शोधपत्र प्रस्तुत गरिन् ।

प्याथोलोजीका डा. गार्गी बास्तोलाले घाँटीभित्रको सामान्य तन्तु असामान्य स्थानमा बस्दा बच्चाको श्वास–प्रश्वास प्रक्रियामा समस्या देखिने गरेको शोधपत्र प्रस्तुत गरिन् ।

सम्मेलनमा सबै स्वास्थ्य वैज्ञानिक अनुसन्धान पत्रहरू शारीरिक र मानसिक रोग निवारण, औषधिको प्रयोग, बिरामी उपचार पद्दति, नयाँ औषधिका प्रभाव, आधुनिक शल्यक्रिया पद्दति, आधुनिक उपचार सेवा पद्दति, शारीरिक र मानसिक रोगका उपचारमा प्रविधिको प्रयोग, विभिन्न रोग रोकथाम सम्बन्धित भएकोले स्वास्थ्य नीतिमा परिवर्तनमा मद्दत पुग्ने उपकुलपति प्रा.डा. गुरु खनालले बताए ।

उनले मुलुकमै भएका मेडिकल कलेजहरूमध्ये वार्षिकरूपमा ४ सय बढी अनुसन्धान हुने स्वास्थ्य शैक्षिक संस्था बीपी प्रतिष्ठान भएको बताए ।