ताप्लेजुङ/ ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गगोलामा विकास निर्माण गर्न महिला सक्रिय भएका छन् ।

यस स्थानका २३ महिला चीनसँगको सिमावर्ती थाङ्जेमा ढुंगा फुटाउने, ओसार्ने, सोलिङ गर्नेजस्ता काममा व्यस्त छन् । उनीहरू स्थानीय तहले समयमै सक्नुपर्ने विकास निर्माणलाई पूर्णता दिन यसरी जुटेका हुन् ।

उनीहरू गाँस र बासको प्रबन्ध गरेर बिहानदेखि साँझ आँखाले भ्याएसम्म काम गर्छन् । वर्षैभरि गलैंचा बुन्न व्यस्त हुने उनीहरू ४ हजार मिटर उचाइमा पदमार्ग बनाउने कार्यमा खटिएका हुन् । ‘स्थानीय सरकारको काम पनि समयमा सकिने, समूहमा काम गर्ने नयाँ अनुभव पनि हुने,’ ओलाङचुङगोलाकी याङ्जे शेर्पाले भनिन्, ‘बिहान सबेरैदेखि बेलुका अबेरसम्म बाटो निर्माणमा जुटिरहेका छौं ।’

उनीहरूलाई स्थानीय पुरुषले पनि निर्माणमा साथ दिएका छन् ।‘द ग्रेट हिमालयन ट्रेल’ अन्तर्गतको नागोदेखि थाङ्जेसम्मको ४.८ किलोमिटर पदमार्ग निर्माण गर्न उनीहरू जुटेका हुन् । नेपालकै सबैभन्दा लामो हिमाली पदमार्ग ‘द ग्रेट हिमालयन ट्रेल’को प्रस्थान बिन्दु गोला हो । टे«ल स्तरोन्नतिका लागि प्रदेश १ सरकारले गत वर्ष ५० लाख रुपैयाँ छुट्याएको थियो ।

पदमार्ग क्षेत्र ३ हजार ४ सयदेखि ४ हजार मिटर उचाइसम्म पर्छ । गाउँलेलाई तीन समूहमा विभाजन गरेर काममा खटाइएको उनले बताए । जसमा धेरै महिला छन् । ‘२०–२५ जनासम्मको समूह बनाएर कामको जिम्मा दिइएको छ,’ वडाध्यक्ष छेतेनले भने, ‘दैनिक डेढ सय मिटरको दरले काम भइरहेको छ ।’

३ वटा समूहलाई सजिलो, अप्ठ्यारो भाग बराबरी पर्ने गरी मिलाइएको स्थानीय भुजुङ शेर्पाले बताए । हिमाली क्षेत्र भएकाले ढुंगाको काम गर्न निकै कठिनाइ रहेको उनले सुनाए । गाउँपालिकाका प्रवक्तासमेत रहेका स्थानीय छेतेन शेर्पाका अनुसार प्रत्येक घरबाट एक जनादेखि तीन जनासम्म महिला काममा संलग्न छन् ।

काम गर्ने हरेक समूहको नेतृत्वकर्ता छनोट गरिएको छ भने समितिका पदाधिकारी तथा सदस्यसमेत सबै समूहमा सामेल भएर महिलाको साहसमा आँट भएका छन्। मंगलबारसम्म ८ सय मिटरमा बाटो फराकिलो पार्ने र ग्राभेल लगाउने कार्य सकिएको वडाध्यक्ष छेतेनले बताए ।