धरान/जीरोबाट प्रारम्भ गर्न कति कठिन हुन्छ, एथ्लेटिक्स खेलाडी निमेश गुरुङलाई राम्रोसँग थाहा छ । सङ्खुवासभा मादी मूलखर्कका निमेशको पारिवारिक जीवनको शुरुवात पनि त्यही जीरोबाट प्रारम्भ भएको थियो । आर्थिक विपन्नताले गाजेको निमेश जब सन् २००८ मा सिङ्गापुर पुलिस बने । त्यसपछि मात्रै उनको जीवनले नयाँ मोड लियो ।
घरको जेठो निमेशको सिङ्गापुरसम्मको यात्रा पनि सहज थिएन । भगवान भरोसामा छाडेको उनको जीवन लाहुर नै सही सुखद् ‘इन्ट्री’ मा¥यो । तर पनि निमेशको आफ्नो पहिचान थिएन । बुबाआमाबाट पाएको नाम मात्रै थियो । सीमित नाम । तर, सिङ्गापुर पुलिसमा भर्ती भएको ४ वर्षपछि नै उनको नामले नयाँ उचाइ प्राप्त गर्न थाल्यो । सन् २०१३ मा उनले अर्को जीरोबाट थालनी गरे एथ्लेटिक्समा । जतिबेला उनलाई एथ्लेटिक्सको ज्ञान थिएन, प्राविधिक जानकारी थिएन । ज्ञानको अभावका बावजुद पनि उनी पुलिस स्पोट्र्स एसोसिएसन (पीएसए) को आयोजनामा हुने पीएसए ट्रयाक एण्ड फिल्ड च्याम्पियनसिपमा भिडे । जहाँ उनले सफलता चुमे । ‘अनुभव नभएको खेलाडी अरु कुदेको देखेपछि खेल क्षेत्रमा इच्छा जाग्यो’–उनी विगत स्मरण गर्छन् । त्यही सफलता उनको लागि एथ्लेटिक्समा होमिने मार्ग बन्यो । सन् २०१३ मा सम्पन्न भएको त्यो च्याम्पियनसिपमा उनले ३ स्वर्ण पदक हात पारे । १५ सय, ५ हजार र १० हजार मिटरको दौडमा उनी अग्रपंक्तिमा रहे । जसले गर्दा पहिलो पटक निमेशले आफ्नो पहिचान स्थापित गरे । पहिलो पल्ट आफ्नो युनिट (गोर्खा पल्टन) मा छैटौं भएका थिए । त्यसपछि नै उनमा दौडप्रति जोस पलायो । दोस्रो पटक प्रथम नै बने । त्यहीँबाट उनको खेल जीवनले कोल्टे फेर्न थालेको हो ।
त्यसपछि नै एथ्लेटिक्समा मोह बस्यो । पुलिस फोर्समा आवद्ध उनी त्यो च्यापियनसिपबाहेकका खेलहरुमा पनि स्पर्धा गर्न थाले । सन् २०१३ बाट सफलता चुम्न थालेका निमेश अपराजित यात्रामा अगाडि बढिरहेका छन् । रहेक खेलमा कुनै न कुनै मेडलका हकदार बन्ने गरेका छन् । हालसम्म सानाठूला गरी ३ सय मेडल उनको नाममा छ । प्रशिक्षणबिनै शुरु भएको उनको खेल यात्राले अविराम रुपमा चलेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उनले आफ्नो नाम राख्न सफल भएका छन् । त्यतिमात्रै हैन, देशको नाम नै राखेका छन् । भलै उनी सिङ्गापुर पुलिसबाट भिडे । चीनको छेन्दुस्थित सिचुआनमा २०१९ मा सम्पन्न ‘वल्र्ड पुलिस एण्ड फायर गेम्स’ मा ७० देशका १० हजार भन्दा बढी खेलाडीलाई उछिन्दै तीन स्वर्ण पदक हात पारे । पदक हात पार्दा उनको एउटा हातमा नेपाली झण्डा पनि फहराइरहेको थियो ।
अर्कै देशबाट प्रतिनिधित्व गरे पनि उनले नेपालको पदक तालिकामा आफूलाई उभ्याउन सफल भएका थिए । ‘त्यो दिन मेरो लागि सामान्य थिएन, सिङ्गापुरबाट प्रतिनिधित्व गरे पनि नेपाललाई चिनाउन सके, देशको झण्डा फहराउन सके’–त्यो बेलाको खुशी सेयर गर्दै ३१ वर्षीय निमेश भन्छन् । जागिर मिलाएर उनी विभिन्न देशको म्याराथुनमा सहभागी बन्ने गरेका छन् । जसले म्याराथुनको नाम किताबको पानामा मात्रै महसुस गरेका थिए । म्याराथुनबारे अनभिज्ञ निमेशको ‘प्यासन’ ले नै आज उनलाई यो स्थानमा पु¥याएको छ । ‘खेलबारे जान्दै नजानेको व्यक्तिले यही खेलबाट आफूलाई र देशलाई चिनाउन पाउँदा गर्व महसुस हुन्छ’ निमेश भन्छन्,–‘आफ्नै देशको म्याराथुनमा भने सहभागी हुने मौका मिलेको छैन ।’
नेपालको प्रतिनिधित्व भएर सहभागी हुन नसक्नुको कारण खुलाउँदै भने, ‘सिङ्गापुरमा रहँदा यता खेल भइरहेको हुन्छ, मेरो छुट्टि हुँदा खेल हुँदैन ।’ तर, देशबाटै प्रतिनिधि भएर खेल्ने रहर एकदिन पूरा गरेरै छाड्ने अठोठ लिएका छन् । कुनै बेला उच्च शिक्षाको लागि काठमाडौं पुगेका उनी पढ्ने खर्च नभएपछि बाध्य भएर होटलमा ‘गार्ड’ बसे । होटलको वेटर बने । नेपाल आर्मीमा ट्राइ मारे । तर, सोर्सफोर्स नभएका कारण उनी रित्तो हात फर्किए । त्यसपछि आर्मी बन्ने उनको सपना लगभग तुहियो । तर, एक आफन्तले सिङ्गापुर पुलिसमा लाग्न प्रेरित गरे । त्यहाँ पनि पैसा र सोर्सफोर्स लाग्ने हो कि भन्ने डर मनको एक कुनामा थियो । तर, जब सबै कुरामा फिट भए उनी २००८ को डिसेम्बरमा सिङ्गापुर पुलिस फोर्समा भर्ती भए । जसले उनलाई अभावको जीवनबाट मुक्त ग¥यो । परिवारको जिम्मेवारी पनि उनमा थियो । त्यो जिम्मेवारीलाई पनि केही हदसम्म पूरा गरे ।
'अर्कै देशबाट प्रतिनिधित्व गरे पनि उनले नेपालको पदक तालिकामा आफूलाई उभ्याउन सफल भएका थिए । ‘त्यो दिन मेरो लागि सामान्य थिएन, सिङ्गापुरबाट प्रतिनिधित्व गरे पनि नेपाललाई चिनाउन सके, देशको झण्डा फहराउन सके’–त्यो बेलाको खुशी सेयर गर्दै ३१ वर्षीय निमेश भन्छन् । जागिर मिलाएर उनी विभिन्न देशको म्याराथुनमा सहभागी बन्ने गरेका छन् । जसले म्याराथुनको नाम किताबको पानामा मात्रै महसुस गरेका थिए ।'
निमेशलाई सिङ्गापुर पुलिस फोर्सबाट खेल खेल्नका लागि सुविधा दिएको छैन । उनले आफैले मिलाएर छुट्टिको मौकामा खेल्छन् । अहिले पनि उनी आफ्नै लगानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पुग्छन् । सन् २०१७ मा अमेरिकामा सम्पन्न विश्व पुलिस फायर गेमको १० र २१ किलोमिटर दौडमा उनी स्वर्ण पदक हात पारेका छन् । यस्ता पदक तालिकाको फेहरिस्त लामै छ । निमेशले सिंगापुर न्यू ब्लेन्स, पुमा नाइट रन, पोकारी स्वीट रन, सालोमन एक्स क्रस कन्ट्री, पर्फमेन्स सिरिज, सिङ्गापुर सिटी रेस जस्ता प्रतियोगितामा आफूलाई अब्बल साबित गर्दै उपाधि जित्न सफल बनेका छन् । खेल क्षेत्रमै लागेर यो स्थानमा पुग्छु भन्ने उनलाई विश्वास लागेको थिएन । तर, निरन्तरको मेहनतले उनलाई यो स्थानमा उभ्याएको छ । सङ्खुवासभाको सयौं उकाली–ओराली छिचोले । तर, दौडको अनुभूति सिङ्गापुरले नै दिलायो । अहिलेसम्म उनी सिङ्गापुरदेखि नेपालसम्मको दूरी बराबर दौडिसकेका छन् ।
अबको अन्तिम लक्ष्य पनि दौड नै हो । यही दौडले नै निमेशलाई राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलायो । निकै मोटोघाटो निमेशले दौडमै लागेर ७ महिनाको अवधिमा १६ केजीसम्म तौल घटाए । अहिले ५५ केजी हाराहारीमा छन् । दौड उनको जीवनको अभिन्न अङ्ग बनिसकेको छ । प्रशिक्षकबिनै धावक बनेका निमेशको लागि युट्युब गुरु बनेको छ । त्यहीँबाट प्राविधिक पक्षबारे जानकारी लिन्छन् । दौडबाट थप जान्ने मौका प्राप्त गरेका छन् । र त बुबा दुर्गाबहादुर र आमा मनमायाको नाम उचो राख्न सफल छन् ।