धरान / कोशी टप्पु वन्य जन्तु आरक्षको हात्तिसार उदयपुरको भागलपुरमा सारिएको छ । आरक्ष र मध्यवर्ती क्षेत्र आसपासका गाउमा श्रृखलाबद्ध जंगली हात्तीले अत्यधिक अन्नबाली र मानवीय क्षती पुु¥याउन थालेपछि आरक्षको हात्तिसार भागलपुरमा सारिएको हो । आरक्षले पाँचवटा पोथी हात्ती सारेको हो । कोशी टप्पु वन्य जन्तु आरक्षको जंगलमा संरक्षित पोथी हात्तीसँंग शारिरिक सम्पर्क गर्ने बेलामा जंगली भाले हात्ति पागल भएपछि बर्षेनी व्यापक जनधनको क्षति हुदै आएको थियो । हात्तिको आक्रमणबाट व्यापक क्षति भएपछि कोशी गाउँपालिकाका स्थानीय बासिन्दाले आन्दोलन गरेपछि गत सोमबार जिल्ला प्रसासन कार्यालयमा सरोकारवालाहरुसँग बसेको भेलाले हात्तिसार सार्ने निर्णय गरे अनुसार बुधबार हात्तिसार सारिएको हो ।
आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले आरक्षमा रहेका पाँच पोथी हात्ती भागलपुर सारिएको बताए । उनले भने, ‘आरक्षको पोथी हात्तीसंग शारिरिक सम्पर्क गर्ने बेलामा भाले हात्ती बहुलाएर गाउ पस्ने र वितण्डा मचाउने गरेको छ भन्ने स्थानी बासिन्दाको बुझाई छ । जे भएपनि कोशी नदी पारी उदयपुरको भागलपुरमा सारिएपनि आरक्षमा जंगली हात्ती त खान र बस्न आउछन् नै । यसकालागि स्थानीय बासिन्दा र वन्यजन्तुसंग हुने द्वन्द्व कम गर्न र मानवीय क्षति घटाउन उचि व्यबस्थापनको उपाय अपनाउनै पर्ने भएको छ ।’
आन्दोलित स्थानीय बासिन्दाले आरक्षका पोथी हात्ती वर्दिया वा चितवन राष्ट्रिय निकुन्जमा सार्न माग गरेका थिए । तर वर्दिया वा चितवन सार्न अव्यवहारिक देखिएकाले भागलपुरस्थित आरक्षकै पोष्टमा सारिएको आरक्ष संरक्षक अधिकृत रामदेव चौधरीले बताए ।
हात्तिसार सार्नका लागि कोशी गाउपालिका अध्यक्ष अयुव अन्सारीले पनि स्थानीय बासिन्दालाई साथ दिदै आएका थिए । हात्तिसार सार्ने निर्णयकालागि अन्सारीको संयोजकत्वमा सवै वडाध्यहरु र मध्यवर्ती क्षेत्रका चार समुहका प्रतिनिधि, आरक्षका प्रतिनिधि र सुरक्षा निकाय पनि सदस्य रहने गरी एक समिति पनि गठन गरिएको थियो । अन्सारीले भने, ‘आरक्षसंगै जोडिएको कोशी गाउपालिकामा बन्य जन्तु मध्ये हात्तीले दुइबर्षको अवधिमा १७ जनाको मृत्यु भयो । हात्ती संरक्षण गर्ने कि मान्छेको संरक्षण गर्ने ?आरक्षमा हात्ती सफारी संचालन गर्ने भनेर उहिलै देखि भनिएपनि अहिले सम्म हात्ती सफारी पनि भएन । देखाउनकालागि मात्र भयो । पर्यटक पनि आएन । पर्यटन बड्दा स्थानीय बासिन्दाको जीवीका चल्छ तर आरक्षले झन गरिव बनायो । जनधनको क्षति पनि व्यापक भएकाले हात्तीसार नै सार्न दवाव दिएको हो ।’
आरक्ष प्रशासनले हात्तीसारलाई सारेपछि भाले हात्ती मकुनाबाट जनधनको क्षति कम गर्न ‘डार्ट’ विधि अपनाएर यौन सम्पर्क गर्ने बेलामा बहुलाउन नदिन लटठ्याउने तयारी पनि गरेको छ । आरक्षमा १७ वटा रैथाने जंगली हात्ती रहेको छन् । सवैभन्दा बढी मानवीय क्षती मकुनाले नै गर्ने गरेको छ ।