वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ मा रहेको, आदर्श माध्यमिक विद्यालयमा असोज २० गते भएको तोडफोड घटनाको दोषी विद्यालयका कार्यालय सहयोगी नन्दीप्रसाद घिमिरे भएको भन्दै आदर्श माविले उनको नामसहित किटानी जाहेरी दिएको छ ।
दशैं विदामा महानवमीको रातमा भएको घटनाको प्रकृति हेर्दा तथा उनको शङ्कास्पद व्यवहार र बोली फेरेकोले गर्दा , घटना गराउने व्यक्ति उनी नै हुन् भन्दै विद्यालयले असोज ३० गते ईलाका प्रहरी कार्यलय चक्रघट्टीमा उनको नाममा किटानी जाहेरी दिएको प्राचार्य प्रल्हाद भट्टराईले बताए ।
जाहेरी दिए लगत्तै प्रहरीले उनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यलय चक्रघट्टीमा म्याद थप गर्दै बयान लिइरहेको छ , तर उनले घटना आफूले नगराएको बताइरहेको बुझिएको छ । घिमिरेले तोडफोडको दोषी आफू नभएको भने पनि घटनाको प्रकृति र अपराधजन्य परिस्थिति हेर्दा अपराध गर्ने उनी नै देखिन्छन्, ईलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक शरणकुमार दाहाल बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताइरहेको भन्दै २५ दिन भित्रमा अदालतमा फाइल बुझाइने जानकारी दिए ।
घटनाको जानकारी दिन विद्यालयले असोज २६ गते सर्वदलीय सर्वपक्षीय भेला बोलाएको र भेलाले पनि घिमिरे लाई नै शङ्का गरेको थियो । घटना भएको भोलिपल्ट २१ गते विहानै विद्यालय खोल्न आएका उनले घटनाको जानकारी प्राचार्य भट्टराईलाई गराएको भोलिपल्ट नै तोडफेड गरिएका समानहरू मिलाएर राखेका थिए ।
घटनाबाट विद्यालयको परीक्षा, लेखा र प्रधानाध्यापक गरी ३ कोठामा रहेको ल्यापटप २ थान डेस्कटप क्म्प्युटर २ थान , रङ्गीन प्रिन्टर १ थान, सादा प्रिन्टर २ थान र फ्याक्स मेसिन १ थान र स्टील दराज १ थान, सिसाहरू तथा अन्य गरी ८ लाख रुपैयाँ बराबरका उपकरण क्षति भएको थियो ।
घटनामा समान तोडफोड गर्न, कोदालो, हथौडी र पिलास प्रयोग गरिएको थियो । तोडफोाडमा चालु अवस्थामा रहेको उपकरण छानी छानी फुटाइएको थियो तर नचल्ने कम्प्युटर लगायतको समाग्रीलाई केही गरिएको थिएन । अरू कोठाको ताला तोडिएको थियो भने मुख्य गेटको ताला खोलिएको मात्र थियो । उनको ड्युटी समय विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म रहेको र विद्यालयको चाबी कार्यालय सहयोगीद्वय नन्दीप्रसाद घिमिरे र पशुपती पोखरेलसँग रहने गरेको छ ।
घिमिरेले मङ्सीर १ गते बाट अवकाश लिन लागेका हर्क बहादुर कार्कीको जति नै तलब बढाउनु पर्ने माग गरेका थिए , तर विद्यालय ले २ वर्ष पदावधि अझै बाँकी रहेको भन्दै तलब बढाउन इन्कार गरेको थियो ।
हर्कबहादुर कार्की र नन्दी प्रसादको तलब प्रति महिना १३ हजार रुपैयाँ रहेको थियो । आफूले लामो समय सेवा दिएको र वृद्ध उमेरसमेत भएकोले केही रकम बढाएर अवकाश दिन हर्कबहादुरले आग्रह गरेपछि उनलाई ४ हजार रुपैयाँका दरले ४ महिनाको तलब बढाएर मङ्सीर १ गतेबाट विदा गर्न लागिएको थियो । घिमिरेको तलब नबढाएको झोंकमा यस्तो घटना गराएको हुन सक्ने प्राचार्य भट्टराईले बताए ।
घटना भएको रात विद्यालयमा पहरा दिने ड्युटी हर्क बहादुर कार्कीको भए पनि उनी त्यस रात ड्युटीमा आएका थिएनन् । आफू दमको बिरामी भएकाले सन्चो नभएर घटनाको रात आफू विद्यालय नगएको र आफू नआउने खबरसमेत गर्न नसकिएको भन्दै विद्यालयको ४५ वर्षको सेवाअवधिमा जीवनमा पहिलोपटक घटनाको शङ्कास्पद भएको भन्दै प्रहरीले सोधपुछ गरेकोमा कार्कीले दुःख प्रकट गरे ।