म त दुरदेखि आएँ
तिम्रो याद बोकेर...
नेपाली सङ्गीत क्षेत्रका हस्ती दीप श्रेष्ठले निक्कै अगाडि गाएको यो गीत पुराना पुस्ताका मात्र होइन नयाँ पुस्ताका सङ्गीत पारखीले पनि उत्तिकै मन पराउँछन् । अहिले भ्वाइस् अफ नेपालको कोचका रूपमा रहेपछि त नयाँ पुस्तामाझ पनि उत्तिकै छाएका छन् दीप । यस्ता धेरै कालजयी गीतका गायक दीप काठमाडौंबाट धरान आउने भनेपछि खुशीले फुरुङ्ग हुन्छन् । आफूले बाल्यकाल बिताएको अनि सङ्गीतकर्म शुरु गरेको धरान उनलाई औधी माया लाग्छ ।
त्यसैले धरानमा कुनै कार्यक्रम भयो वा कुनै साथीले निम्तो गरे भने उनी त्यो दूर काठमाडौंदेखि धरान अनि यहाँका साथीभाइको याद बोकेर आइपुग्छन् । साथीभाइले पनि उनलाई उत्तिकै सम्मान गर्छन्, स्वागत गर्छन् ।
शुक्रबार धरान १२, चतरालाइनमा भएको छिमेकी साँझमा गाउन उनी काठमाडौंबाट बिहीबारै धरान आइपुगे । उनको प्रस्तुति सुन्न र हेर्न सयौं स्रोता, दर्शक चतरालाइनमा जम्मा भएका थिए । दीपले आफ्ना नयाँ पुराना कालजयी गीतहरू सुनाएर दर्शक÷स्रोतालाई मन्त्रमुग्ध पारे ।
दीपका हरेक कार्यक्रममा उनलाई सुन्न स्रोताहरू यसरी नै जम्मा हुन्छन् । दीपले शनिबार पनि धरानमै अर्को साङ्गीतिक प्रस्तुति दिंदै छन् । धरानबाट दुई कार्यक्रमका लागि निम्तो आएपछि दीप बिहीबार खुशी हुँदै काठमाडौं एयरपोर्ट पुगे । दिउँसो ३ बजेको समय थियो तर प्लेन बेलुकी ७ बजेपछि मात्र उड्यो तर दीप चुपचाप बसिरहे । राती करिब ११ बजे धरान आईपुगेका दीपलाई स्वागत गर्न उनका शुभचिन्तक, साथीभाई पर्खिबसेका थिए ।

दीपले रेडियो नेपालमा गीत रेकर्ड गराएको नै ५० वर्ष पुग्यो । तर त्यस अघिदेखि नै उनी धरानमा विभिन्न कार्यक्रममा गाउँथे । ५० वर्षको अवधिमा उनी देश विदेशका हजारौं ठाउँ पुगे । तर जति दूर पुगे पनि धरानको यादले खुब सताउँछ रे उनलाई । भन्छन्, ‘आफ्नो ठाउँको माया नै बेग्लै हुँदोरहेछ ।’
त्यसो हुनुको कारण पनि छ । उनी सात आठ कक्षामा पढ्दा नै गीत गाउँथे । सानोमा उनको स्वर केटीको जस्तो थियो, त्यसैले पर्दा पछाडि बसेर केटीकै गीत गाउथे । अलिपछि तिहार बेला धरानमा घरघर पुग्दै देउसी भैलोमा गाउथे । ‘धरानको पुतलीलाइनमा शिव जोशी, सावित्री जोशीको घरमा हरेक साल देउसी खेल्न पुग्थौं । साथी विष्णु जोशी, कैलाश जोशीहरू थिए ।
त्यस घरकी आमा दीपनारायणको गीत सुन्ने भनेर पर्खी बस्नुहुन्थ्यो ।’
दीप ती दिन सम्झिन्छन् ‘देउसी भैलोपछि उहाँहरूलाई नारायण गोपाल, प्रेमध्वज दाइका गीत सुनाउँथें । चार पाँच घरका मान्छे जम्मा भएर गीत सुन्थे । मिठो मिठो खानेकुरा दिन्थे । त्यही घरमा ३÷४ घन्टा बित्थ्यो । नारायण गोपालको गीत ‘अल्झेछ क्यारे पछ्यौरी’ गाउँदा मेरै गीत ठान्नुहुन्थ्यो ।’ यसरी देउसी भैलोमा गाउँदा गाउँदै उनी राम्रो गाउने केटोका रूपमा चिनिए ।
राजाले गीत मन पराएपछि
राजा महेन्द्र कला–साहित्यका पारखी थिए, गीत लेख्थे, साहित्य रच्थे । त्यहिबेला धरान पनि कला साहित्यमा सक्रिय थियो । धरान सांस्कृतिक संस्थान र लोकनृत्य सङ्घले गीत सङ्गीत, नाटक र साहित्यका कार्यक्रम आयोजना गर्थे । कला साहित्यकै सम्बन्धले पनि हुन सक्छ महेन्द्रले धरानलाई माया गर्थे । धरानलाई कोशी अञ्चलको सदरमुकाम बनाउन चाहेका थिए ।
२०२५ सालको पुस १ गते उनै राजा महेन्द्रको निमन्त्रणामा धरान सांस्कृतिक संस्थानबाट चन्द्रशेखर श्रेष्ठ नेतृत्वको टोली भीमनिधि तिवारीको नाटक ‘शिलान्यास’ लिएर काठमाडौं पुगेको थियो । नाटकको बीचमा सिन चेञ्ज गर्ने बेलामा खाली समय भर्न मञ्चमा बोलाइयो दीपनारायण श्रेष्ठलाई । उनले राजाका अगाडि विजय श्रेष्ठको रचनामा आफैंले तयार पारेको गीत पहिलो पटक सुनाए ‘म पत्थरको देउता होइन...’
नाटक हेरिरहेका महेन्द्रलाई दीपका गीतले छोएछन् । तुरुन्तै रेडियो नेपालका निर्देशकलाई हुकुम दिए ‘जति छन् सबै गीत भोलि नै रेकर्ड गरिदिनु ।’ दीपसँग आफ्ना भन्ने दुई गीत मात्र थिए । पुस २ गते ‘म पत्थरको देउता होइन..’ र दीपकै रचना रहेको ‘मायालु रूप छ तिम्रो...’ गीत रेकर्ड भए । त्यतिबेलाको देशव्यापी पहुँच भएको एकमात्र सञ्चार माध्यम रेडियो नेपालमा दिनदिनै बज्न थाले दीपका गीत । त्यसपछि दीप नेपाली सङ्गीतक्षेत्रमा चम्किला तारा बनेर उदाए । आजसम्म उनी नेपाली सङ्गीतको उच्च स्थानमा उभिएका छन् ।
दीपलाई खड्किने कुरा
प्रज्ञा प्रतिष्ठानमा उनले अम्बर गुरुङसँग सङ्गीत सिक्न चाहेका थिए तर गुरुङले ‘तिमी पपुलर छौ’ भनेर सिकाउन ध्यानै दिएनन् । दीपलाई उनीसँग सिक्न नपाएको कुरा अहिले पनि खड्किरहन्छ । उनी गोपाल योञ्जनसँग पनि सिक्नका लागि पटक पटक गए तर उनले पनि सिकाएनन् । त्यसपछि आफैं घुँडा धसेर अभ्यासमा लागे । एकपटक दार्जिलिङ जाँदा साथी मणीकमल क्षेत्रीले उनलाई ‘सङ्गीत बिरासत’ नामको पुस्तक दिए । त्यही पुस्तकलाई गुरु थापेर उनले अभ्यास गरिरहे । भन्छन्, ‘त्यो पुस्तक अहिले पनि मसँगै छ ।’
उनले पछि गोपालनाथ, चेतनाथ गुरुहरूसँग राग सिके । त्यसैले अहिलेसम्म उनलाई चिनाएको छ । उनले केहीसमय घरमै सङ्गीत पनि सिकाए तर चेलाहरू दुई चार दिन सिकेपछि बजारमा ‘दीप श्रेष्ठसँग सिकेको’ भन्दै बेसुरा गाउन थाले । त्यसपछि उनले सिकाउन पनि छाडे । अहिले भ्वाइस अफ नेपालका कोच बनेर नयाँपुस्ताको गायन क्षमता जाँचिरहेका दीप आशावादी छन् । ‘अहिलेको पुस्ताले मेहनत त गर्छन् तर आफ्नै टाइपको मात्र गर्छन् । मैले नेपाली शब्द गाउँदा नेपाली जसरी नै गाउ भनेर जोड गरेको त्यसैले पनि हो ।’ उनी भन्छन् ।
दीप अहिले पनि ट्र्याकमा गाउँदैनन् ।
उनलाई ट्रयाकमा गाउनु कभरसङ गाए झै लाग्छ । त्यो मौलिक सृजना जस्तो लाग्दैन । त्यसैले त उनको बेग्लै पहिचान छ । दीपजस्ता कलाकार नेपाली सङ्गीत क्षेत्रका धरोहर हुन् । धरान अनि प्रदेश १ का लागि पनि दीप गौरव हुन् । तर, स्थानीय सरकार र प्रदेश सरकारले सङ्गीत क्षेत्रलाई प्रोत्साहन गर्न सकेको छैन । दीप भन्छन्, ‘स्रोताले माया गरेका छन् । त्यसैमा सबैभन्दा खुशी छु ।’