उनका शिष्यहरू अहिले नेपालमा नाम चलेका गायक कलाकार भएका छन् । साङ्गीतिक क्षेत्रका ठूला–ठूला हस्तीहरू उनका समकालीन मित्र तथा सहपाठी थिए । सङ्गीतको ‘सारेगम पधनिसा’ मा जीवन व्यतित गरेका सङ्गीतका समुद्र हुन्, रामचन्द्र बनेपाली ।
१९९९ साउन २९ गते धरान–५ महेन्द्रपथमा जन्मिएका उनी ६ भाइमध्येका तेस्रा हुन् । बुबाले बाजा बजाउँदै जाँदा उनलाई पनि सङ्गीतले छोयो । त्यो जमानामा पिता धरानका नाम चलेकामध्ये पर्दथे । बुबा सिंहदेवी मन्दिरमा शास्त्रीय राग र भजन गाउँथे । बुबासँगै मन्दिर आउ–जाउ हुँदै जाँदा उनलाई पनि सङ्गीतको रागहरूले नजिक्याउँदै लग्यो । बालापनमा सुनेका सङ्गीतका रागहरू किशोर हुँदै युवामा प्रवेश गर्दा एक खालको प्रेम बस्यो । सङ्गीतमा क्षणिक आनन्द वा प्रेम होइन, सङ्गीतको समुद्रले उनलाई तान्यो । त्यही गहिराइमा उनी फसे हालसम्म । उनी आफू सङ्गीतकार बन्नुको प्रेरणा नै आफ्ना बुबालाई दिन्छन् । ‘बुबाका कारण सङ्गीतको दुनियाँलाई बुझ्ने मौका पाएँ’–उनी भन्छन् ।
उनले २०१२ सालमा धनकुटाको कार्यक्रममा सहभागी हुने मौका पाए । ८ वर्षका थिए, जहाँ उनले ढोलक बजाउने अवसर पाए । त्यो सुनेर रङ्गनाथ नामका बडाहाकिमले प्रशंसा–पत्र र २५ रुपैयाँ उपहार दिएको उनलाई स्मरण छ । त्यहाँबाट उनलाई सङ्गीतले झनै मोहनी लगायो । सङ्गीतको प्रेममा झनै डुब्दै गए । यसरी निरन्तर साधना गर्दै हार्माेनियम, बाँसुरी, युक्की, ढोलक, तबला, मुरली, मेरोडियम, पियानो, कोडियम, गितार र सितारजस्ता वाद्यवादन उनका सहयात्री बने । ‘घरको सङ्गीतको वातावरण भएर होला, हामी ६ जना दाजुभाइलाई सबै किसिमको बाजा बजाउन आउँथ्यो । मेरा माइला दाजु महेशमोहन पलिखे राम्रो कलाकारमा गनिनुहुन्थ्यो’–उनी भन्छन् ।
धरानमा गरिने हरेक कार्यक्रममा त्यसमा पनि भजनकीर्तन कार्यक्रममा अनिवार्य सहभागिता जनाउँथे । उनी नपुगेको कार्यक्रम खल्लो हुन्थ्यो रे । सङ्गीतसँगको अमूर्त प्रेमका कारण नै कलाकारको दर्जामा परे । उनले कयौं शिष्यहरू उत्पादन गरे । जसमा गायक दीप श्रेष्ठ पनि एक हुन् । रेडियो नेपालकी गायिका शकुन्तला मास्के, सुशिला सुब्बा, वेद गुरुङ, नैनकला, सीता शर्मा, देवकला, चन्द्रकलाजस्ता कलाकारहरू जन्माए । दीप अहिले पनि दीप झैं बल्नुमा रामचन्द्रको हात छ । नारायण गोपाल, नातिकाजी, पन्नालाल, शिवशङ्कर, पुष्प नेपाली, बच्चु कैलाश, फत्तेमान, नन्द हाङ्खीम, नवीनकिशोर राई, एलपी जोशीजस्ता ठूला र नाम चलेका कलाकारहरू उनका समकालीन मित्रहरू हुन् । जसमध्ये कतिपय दिवङ्गत पनि भइसकेका छन् ।
२०१८ सालमा चन्द्रशेखर श्रेष्ठ, राधाकुमार उदास र गोविन्द खनाल मिलेर सांस्कृतिक संस्थान स्थापना गरे । जसको अध्यक्ष चन्द्रशेखर थिए । अभिनय, नृत्य र व्यवस्थापनमा निर्देशन थिए । रामचन्द्र भने सङ्गीतको निर्देशक थिए । धरानबाट प्रत्येक फागुन ७ गतेका दिन सांस्कृतिक संस्थान काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा पुग्थ्यो । त्यही क्रममा एक पटक उनले नाचघरमा ‘म गीत हुँ, तिमी भावना, म सङ्गीत हुँ तिमी साधना’ बोलको गीत गाए । त्यो गीत सुनेर स्वरसम्राट नारायाण गोपालले भने, ‘रामचन्द्र भाइ तिम्रो निर्देशनमा यो गीत गाउँन चाहन्छु’ यो भनेको हिजोजस्तो मात्रै उनलाई लाग्छ ।

उक्त गीतको रचना भने चन्द्रशेखर श्रेष्ठको थियो । ‘सङ्गीत मात्रै मैले भरेको हुँ’ –उनले भने । उनले सङ्गीतको रागमै आफ्नै जीवनको महŒवपूर्ण घडीहरू सके, धनसम्पत्ति सके । २०१७ सालमा धरानको घर बेचे, त्यसको चार वर्षपछाडि २१ सालमा ६ बिघा खेत पनि बेचे, अरू भएको थोर बहुत रुपैयाँ पैसा पनि सङ्गीतमा नै समर्पण गरे । २०३३ सालमा धनकुटाकी विमला श्रेष्ठसँग विवाह भएको दुई वर्षपश्चात् सङ्गीतप्रति उनको मोह भङ्ग भयो । उनले आफ्नो प्रिय वाद्यवादन बाँसुरीसमेत जलाए । त्यसपछि सङ्गीतलाई सधैँका लागि तिलाञ्जली दिए । ‘मनले नमाने पनि बाध्यता थियो, जलाउनुपर्यो’ –उनले भने । जीवनभर साधना गरेका उनलाई किन छाडियो भन्ने जिज्ञासामा भावुक हुँदै भन्छन्, ‘के गर्नु सङ्गीतको लागि आफ्नो सम्पूर्ण जीवन होमीदिएँ, तर राज्य र समाजले मलाई के दियो, केवल उपेक्षा मात्र, म कयौं पटक बिरामी हुँदा, त्यही हिजोसम्म दिनरात मेरो अगाडि पछाडि गरिरहने भीड र आइरहने साथीभाइहरूले भेट्न आउन त परै जाओस्, फोन गरेर कस्तो छ ? भन्नसम्म भनेनन् ।’
सङ्गीतमा लामो समय व्यतित गरेका उनले २०२० सालमा प्रजातन्त्र दिवसको अवसरमा विराटनगरको गोश्वारामा राजा महेन्द्रको सवारी हुँदा उनले आफ्नै निर्देशनमा ‘शङ्करको गर्जना’ एकाङ्की मञ्चन गरे । जसमा माधव खनालले शिवको, प्रभा राईले पार्वती र कालिप्रसाद शर्माले नन्दीको भूमिका निभाएका थिए । त्यो नाटक हेरिसकेपछि राजाले खुशी हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नाटक मञ्चन गर्नका लागि राजधानी आउन निम्ता गरे ।
सङ्गीतका महारथी ७८ वर्षको उत्तराद्र्ध वृद्ध उमेरमा पनि बेजोड स्मरणशक्ति छ । सौम्य, शालिन, विनम्र र ओजपूर्ण हँसिलो व्यक्तित्वका धनी रामचन्द्र सङ्गीतका उस्ताद हुन् । तर उनलाई राज्यले चिनेन, सङ्गीतमा लाग्नेहरूले चिनेनन् । हाल वराहक्षेत्र नगरपालिका–२ मिलन चौकमा गुमनाम जीवन बिताइरहेका छन् उनी । ‘शून्यबाट शुरु भएको जीवन शून्यमा नै सकिने भयो’ अहिले जीवनको मोह भङ्ग यसरी भइरहेको छ उनलाई ।
२०२० सालमा भएको प्रजातन्त्र दिवसमा काठमाडौंमा तत्कालीन श्री ५ को सरकार पञ्चायत मन्त्रालयको प्रसार विभागबाट सङ्गीत निर्देशक भएको र अर्को एउटा प्रशंसा–पत्र मात्रै उनले आफ्नो साथमा राखेका छन् । अन्य सबैजसो फ्याँकिसकेका छन्, केही जलाइए । नजिकै रहेकी श्रीमतीले भनिन्, ‘मैले उहाँले पाएको काम तीन बाकस प्रमाण–पत्र र प्रशंसा–पत्र राखेँ, तर तिनै प्रशंसा–पत्रले सधैँ व्यङ्ग्य गरेको जस्तो लाग्दथ्यो, सबै जलाइदिएँ । धनी मान्छेको लागि मात्र अवसर र सम्मानहरू हँुदा रहेछन् । खाली पेटले कुनै आविष्कार गर्छ र ?’
२०६३ सालमा मोती संस्मरण समितिले उनलाई सम्मान ग¥यो । २०७६ सालमा, विश्व सङ्गीत दिवसको अवसरमा धरान सङ्गीत प्रतिष्ठानले उनलाई सम्मान गरेको छ । ५० वर्षपछाडि आफ्नो शिष्य दीप श्रेष्ठले, घरमा गाडी पठाएर आफूलाई लिन पठाएको र गुरु दक्षिणाको रूपमा १५ हजार नगदसहित सम्मानले आफूलाई विह्वल बनाएको थियो उनलाई । सङ्गीतमा अहोरात्र खटेका उनले ३ महिना लगाएर तयार गरेको पाण्डुलिपिसमेत एक कविले छाप्ने भन्दै लिएर गएको हालसम्म फिर्ता गरेका छैनन् ।
नयाँ पिँढीलाई उनी भन्छन्, ‘सङ्गीत भनेको अथाह सागर हो, जसको शुरु र अन्त छैन, जति गहिराइमा डुबुल्की लगाउन सकियो, त्यति मोती टिप्न सकिन्छ । सङ्गीतको चरम उचाइमा पुग्नको लागि असीमित धैर्यता, लगन, परिश्रम र समर्पण भाव चाहिन्छ । यसको अभावमा थोरै चिनिन त सकिन्छ तर सफल बन्न सकिँदैन । नाम भन्दा कामको पछाडि दौडिने हो र कठोर परिश्रम गर्ने हो भने मात्र सङ्गीतलाई वास्तविक अनुभव र व्याख्या गर्न सकिन्छ ।’
कलाकार समय र देशकालको सीमाभन्दा परका हुन्छन्, सम्मानित र आदरका पात्र हुन्छन् । उनीहरूलाई समाज र राष्ट्रको सपोर्ट अनि सहयोग अति आवश्यक हुन्छ । जसले गर्दा उनीहरूले देशविदेशमा नाम उचो गर्दछन् । कलाकार राष्ट्रका गहना हुन् भन्दा पनि समय रहँदै उनीहरूको योगदानको मूल्याङ्कन खोस्टो कागजले मात्र गर्ने होइन कि उनीहरूलाई आफ्नोपनको न्यानो अनुभूति गराउने र आत्मसम्मानका साथ बाँच्न पाउने ग्यारेन्टी समाज र राष्ट्रले दिनुपर्ने उनको तर्क छ ।