इटहरीमा केही वर्षयता कहिले साङ्गीतिक कार्यक्रम, कहिले साहित्यिक कार्यक्रम, कहिले नाटक त कहिले मूर्तिकलाका कार्यशाला भइरहेका छन् । आर्थिक गतिविधि र बसोबासको हिसाबले पूर्वको केन्द्रका रूपमा विकास भइरहेको इटहरीले अहिले ‘कलाको शहर’ का रूपमा परिचय बनाउँदै छ ।
पूर्वका बासिन्दाका लागि एक दशकअघिसम्म पनि चारतिरको यात्रामा भेटिने एउटा चोक थियो इटहरी । विशेषगरी माओवादी द्वन्द्वका बेला पहाडबाट विस्थापित हुने र मधेस आन्दोलनका बेला तराईबाट विस्थापित हुनेहरूका कारण बाक्लिएको इटहरी विस्तारै पूर्वेलीहरूको व्यापारिक केन्द्रका रूपमा स्थापित भयो । पहाडबाट तल झरेका र तराईबाट माथि सरेकाहरूले घना भएको इटहरीमा अहिले कलाकारिता फस्टाउँदो छ ।
इटहरीको कलाकारितामा विक्रमश्रिको नाम अग्रस्थानमा आउँछ । लामो समयदेखि विशेषगरी मूर्तिकलामा सक्रिय उनका कलाकृति इटहरीमात्र होइन, पूर्वका धरान, उदयपुर, झापा, मोरङदेखि विभिन्न जिल्लासम्म फैलिएको छ । मूर्तिसँगै आकर्षक डिजाइनका भवनसमेत बनाउने उनले कतै कमिलाका ठूला मूर्ति बनाएका छन्, कतै चरा, मान्छे र अमूर्त कला । उनको पदचाप पछ्याउनेहरू इटहरीमा अरू पनि धेरै छन् ।
इटहरीको रङ्गकर्ममा सोनु जयन्तीको समूह सक्रिय छ । उनीहरूको संस्था कलालयले स्कुल थिएटर कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई नाटक सिकाउँछ भने समय–समयमा नाटक मञ्चन र मेला गरेर रङ्गकर्म जनाउने काम गरिरहेको छ । केही वर्षयता सङ्गीत साधना प्रतिष्ठानले साङ्गीतिक कार्यक्रम आयोजनासँगै साङ्गीतिक माहोल बढाउने काम गरिरहेको छ । त्यसो त इटहरीमा लोकदोहोरीदेखि आधुनिक, रक र पप गाउनेहरू पनि छन् ।

इटहरीका गायक, गायिका र ब्याण्ड पनि सक्रिय बनिरहेका छन् । कुनै समय काठमाडौंमा सङ्गीतकर्म गरिरहेका सङ्गीतकार कुन्दन राई र बलराम समाल पनि केहीवर्ष इटहरीमै बसेर काम गरे । बलराम भने अहिले काठमाडौंतिरै फर्किएका छन् भने सङ्गीतगुरु राम धामी, भोला राई इटहरीमै बसेर सङ्गीत सिकाइरहेका छन् । एक समय प्रकाश ओझाको चर्चासँगै सङ्गीत क्षेत्रमा चिनिएको थियो इटहरी तर उनको काण्डपछि अन्य सङ्गीतकर्मीले इटहरीको नाम चम्काइरहेका छन् । इटहरीमा एउटा चोकको नामै छ, सङ्गीत चोक । यसबाट पनि थाहा हुन्छ कि यहाँका बासिन्दाको सङ्गीतप्रतिको लगाव । इटहरी नृत्य क्षेत्रमा पनि अगाडि छ । साहित्य क्षेत्रमा पनि इटहरीको नाम चम्किँदो छ । मनु मञ्जिललगायतका साहित्यकारले इटहरीलाई चिनाएका छन् ।
इटहरीको कला क्षेत्र विकासमा स्थानीयको सक्रियता छ । त्यसलाई स्थानीय निकायले पनि सहयोग गर्ने गरेको छ । इटहरीकै बासिन्दासमेत रहेका पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बा आफै पनि कलाका पारखी हुन् । इटहरीमा रहेको उनको चिन्तन चौतारी रिसोर्ट हेर्ने हो भने उनी कलाका कति पारखी हुन् थाहा भइहाल्छ । रिसोर्टमा उनकै परिकल्पनाअनुसार विक्रमश्रिले विभिन्न आकृति र डिजाइन बनाएका छन् । केही समयअघिको कुराकानीमा कलाकार विक्रमश्रिले भनेका थिए, ‘कलाकर्मी, स्थानीयवासी, सङ्घ–संस्था सबैको साझा प्रयासले इटहरीमा बल्ल कलाको विकास अघि बढिरहेको छ ।’