ब्लाष्टखबर । धेरैजसो नयाँपुस्ता आधुनिक र पाश्चात्य गीत–सङ्गीततर्फ आकर्षित हुन्छन् । तेह्रथुम जलजलेकी गायिका सीता सिङ्गक भने आफ्नै लिम्बू संस्कृतिका गीतमा मग्न छिन् ।
लिम्बू भाषाका अन्य गीतहरू गाउँदै आएकी उनले लिम्बू सांस्कृतिक गीत पालामको लयमा आधा दर्जन गीतको एकल एल्बम् ‘फेदापहाङ्मा’ केही समयअघि बजारमा ल्याएकी छन् । एक दशकदेखि काठमाडौं बसेर सङ्गीतकर्म गरिरहेकी सीताले शुरुमा आधुनिक नेपाली गीत गाइन्, म्युजिक भिडियोहरूमा पनि अभिनय गरिन् । तर पछिल्लो समय उनी पूर्वेली लिम्बू संस्कृतिमा आधारित गीतहरू गाइरहेकी छन् । उनी भन्छिन्, ‘सङ्गीतको माध्यमबाट लिम्बू संस्कृतिलाई अरुमाझ चिनाउन चाहन्छु ।’
उनले आफ्नो नयाँ एल्बम्मा पनि लिम्बू भाषा, कला र मिथकका आधारमा रचिएका गीतलाई समेटेकी छन् । हालसम्म लिम्बू भाषामा चारदर्जन, नेपाली भाषामा तीन दर्जन र केही तामाङ भाषा गरी सय गीत गाइसकेकी सीताले आफ्ना केही भिडियोमा आफैले अभिनयसमेत गरेकी छन् । लिम्बू सांस्कृतिक गीतहरू गाउनुअघि उनले मुन्धुमविद् समेत रहेका कवि वैरागी काइँला, किरात याक्थुङ चुम्लुङ लिम्बू सांस्कृतिक परिषद्का अध्यक्ष गोविन्द आङ्बुङ, चुम्लुङ अध्यक्ष उत्तमसिं थाङ्देन, प्राज्ञसमेत रहेका लिम्बू संस्कृतिविद् अमर तुम्याहाङलगायतसँग सल्लाह, सुझाव लिएकी थिइन् । करिब ७ लाख खर्च गरेर सांस्कृतिक गीतको एल्बम् निकालेकी उनले भनिन्, ‘खर्च भए पनि आफ्नो संस्कृतिका लागि केही गरेँ भनेर सन्तुष्ट छु ।’
सीताले सङ्गीतको औपचारिक शिक्षा गुरुदेव कामत र श्रीराम आचार्यबाट लिएकी हुन् । २०६५ सालबाटै साङ्गीतिक यात्रा शुरु गरेकी उनी अब सङ्गीत क्षेत्र छाड्न नसक्ने अवस्थामा छिन् । ‘यो क्षेत्रमा हाम्फालियो, अब छाड्न पनि सकिन्न’ उनी भन्छिन्, ‘अब सङ्गीतमै आफ्नो भविष्य देखेकी छु र यसका लागि दिनरात मेहनत गरिरहेकी छु ।’
गायक भगत सुब्बा सिङ्गकको प्रेरणाबाट गायन क्षेत्रमा प्रवेश गरेको बताउने सीतालाई लिम्बू संस्कृतिमा आधारित गीत र म्युजिक भिडियोमा लिम्बू शैली, लवज र सङ्केतहरूमा लिम्बूपन देखाउन सक्नुपर्छ भन्ने लाग्छ । त्यसो गर्नसके कुनै दिन लिम्बू सांस्कृतिक गीतले सबैलाई आकर्षित गर्न सक्ने ठान्छिन्। उनी भन्छिन्, ‘हामीले नबुझ्ने भाषाका गीतहरू पनि लोकप्रिय भएका छन् । हामी नै त्यस्ता गीत गाउँछौं, नाच्छौं ।’
गीत हिट हुनका लागि धेरैले बोल्ने भाषा नै हुनुपर्छ जस्तो लाग्दैन उनलाई । सीमित समुदायले बोल्ने लिम्बू भाषाका गीत–सङ्गीत पनि स्तरीय बनाएमा अरूले रुचाउने उनको विचार छ । उनी आशावादी हुँदै सुनाउँछिन्, ‘म पनि एकदिन लिम्बू सांस्कृतिक गीतबाटै आम श्रोतामाझ चिनिन चाहन्छु ।’