विराटनगर/ सुनसरी बर्जु गाउँपालिका–२ अमडुवाका सचिनकुमार रायले विराटनगर–१३ स्थित बागमती प्लाष्टो टेक उद्योगमा काम गरेको चार वर्ष भयो । उनी दैनिक १२ घण्टा काममा खटिँदै आएका छन् । उक्त उद्योगले उनलाई काम गरे बापत प्रतिघण्टा ४३ रूपैयाँ दिने गरेको छ ।
सरकारले लागू गरेको श्रम ऐनमा श्रमिकलाई प्रतिघण्टा काममा लगाए बापत न्यूनतम् वेतन ६४ रूपैयाँ तोकेको छ । तर रायले श्रम ऐनले तोकेअनुसारको श्रमको मूल्य नपाएको चार वर्ष भएको छ । रायजस्तै दैनिक १२ घण्टा काममा तल्लीन हुने विराटनगर–१४ जतुवाका शैलेन्द्रकुमार मण्डल पनि एक हुन् । उनीहरूको समस्या समान छ ।
उक्त उद्योगमा करिब दुई दर्जन श्रमिक कार्यरत छन् । कार्यरत सबै श्रमिकलाई नियुक्ति पत्र बेगर नै काममा लगाइएका छन् । राज्यले तोकेको श्रम ऐन लागू हुनुपर्ने र नियुक्ति पत्र दिएर काममा लगाउनुपर्ने मान्यताका विपरीत काममा लगाइरहेपछि यहाँका श्रमिक काम बन्द गरेर आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् ।
प्लाष्टिकको विभिन्न सामग्री उत्पादन हुने उद्योगको मेसिनको काम गर्र्दै आएका मण्डलले काम गरेको चार वर्ष पुगिसक्दा पनि हालसम्म नियुक्ति पत्र नदिएको बताए । ‘बागमती उद्योगमा काम गरेको चार वर्ष पूरा भएर अब पाँच वर्ष लाग्दैछ’ उद्योगपरिसर अगाडि आन्दोलनमा उत्रिएका उनले भने, ‘बारम्बार उद्योगका सञ्चालक र प्रशासनलाई राज्यले लागू गरेको न्यूनतम् वेतन लागू गर्नुहोस् भन्दा हाम्रो माग सुनुवाइ हुन सकेको छैन ।’
बाध्य भएर यहाँ कार्यरत सम्पूर्ण श्रमिकहरू आन्दोलनमा उत्रिनु परेको उनले बताए । ‘उद्योग सञ्चालकले हामीलाई दिन गन्तीमा काममा लागाउने गरेको छ । ज्यालादारीमा काममा लगाए पनि हामीलाई श्रम ऐनले तोकेअनुसार वेतन दिए त भयो नि ?’ उनले गुनासो पोख्दै भने, ‘सामाजिक सुरक्षा कोषको कुरा त परको कुरा, अहिलेसम्म दशैंमा बोनस पनि दिएको छैन ।’ श्रम ऐन लागू गरिनुपर्ने माग राख्दै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय जाँदा पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको उनले बताए । ‘वार्ताको माध्यमबाट राज्यले तोकिएको श्रम ऐन लागू हुन्छ होला भनेर श्रम कार्यालय पनि पुग्यौं’ उनले भने, ‘कुनै सुनुवाइ हुन नसकेपछि बाध्य भएर आन्दोलनमा होमिएका हौं ।’
श्रमिकहरूले उठाएको १३ बुँदे माग उद्योगले लागू गरे मात्र आन्दोलन रोकिने उनले बताए । चाँडै वार्ताको माध्यमबाट श्रमिकले उठाएको माग सुनुवाइ नभए दोस्रो चरणको थप सशक्त रूपमा आन्दोलनमा उत्रिने उनीहरूको भनाइ छ । यसअघि पनि यहाँका श्रमिकहरूले उद्योग विरुद्ध आन्दोलनमा उत्रिएका थिए ।
श्रमिकले राखेको गुनासोको विषयमा उद्योगका सञ्चालक अमित राठीसँग बारम्बार सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले श्रम ऐन लागू नगरेको उद्योगलाई एक पटक लागू गर्न पत्राचार गरिने र दोस्रो पटक पनि लागू नगरे कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए ।
श्रम ऐन २०७४ को दफा १६७ को उपदफा २ बमोजिम श्रमिकले पाउनुपर्ने रकम नपाए उद्योगको बैङ्क खातादेखि चल–अचल सम्पत्ति रोक्का गर्ने अधिकार दिएकोले त्यहीअनुसार अगाडि बढ्ने उनले बताए । बागमती उद्योगका विरुद्ध श्रमिकहरूले यसअघि पनि तीनपटक उजुरी दिएका थिए ।