फैलँदो नयाँ शहरको रूपमा इटहरी उदाउँदै छ तर विद्युत सर्ट भएर बर्सेनी आगलागीको चपेटामा पर्नु इटहरीका लागि दुर्भाग्य बनेको छ । इटहरीमा आगलागी हुँदा मुख्य चोक आसपासमै सबैभन्दा बढी विद्युत् सर्ट हुने गरेको वितेका पाँच वर्ष यताको आगलागी घटनाको अध्ययन गर्दा थाहा हुन्छ । शनिबार मध्यराती इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा भीषण आगलागी भयो । बिग बार रेष्टुरेण्टबाट शुरु भएको आगलागीबाट करिब ४ करोडको क्षति भएको अनुमान गरिएको छ । नेपाल प्रहरीका भूतपूर्व एसपी नरेन्द्र उप्रेतीको घरको चौथो तल्लामा आगलागी हुँदा चार करोड रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । किरण बुढाथोकीले बिग बार सञ्चालन गर्दै आएका थिए ।

एक वर्षअगाडि पनि इटहरी चौक विराटनगरलाइनमा रहेको इन्द्र फेन्सीमा ठूलो आगलागी हुँदा करोड रुपैयाँ भन्दा बढीको धनमालको क्षति भएको थियो । यस्तै धरान लाइनमा रहेको सप्तकोशी इलेक्ट्रोनिक्समा आगलागी हुँदा पसलसंगै घर पनि जलेर खरानी भयो । यसअघि ०७२ माघ २१ गते इटहरी चौकमै रहेको रामबहादुर लिम्बूको घरमा रहेको न्यू भेराइटी फेन्सीमा आगलागी हुँदा करिब १ करोड ९० लाखभन्दा माथि क्षति भएको थियो । बर्सेनी इटहरीको चोक आसपासमै बढी विद्युत् सर्ट किन हुन्छ ? र, आगलागी भएर करोडौंको धनमालको क्षति किन भइरहन्छ ? यसको जवाफ कस्ले दिनुपर्ने हो ? विद्युत् प्राधिकरणले कि उपमहानगरपालिकाले ? घर निर्माण गर्दा प्रयोग हुने विद्युतीय सामाग्री उत्पादक कम्पनीले कि जडानको ठेक्का लिने ठेकेदारले ? एउटै क्षेत्र आसपास पटक पटक विद्युत सर्ट भएर आगलागी हँुदा पनि किन विद्युत् प्राधिकरण र उपमहानगरपालिकाले खोजी नीति गर्दैन ? करोडौंका धनमाल र घर क्षति भएपछि त्यसको भर्पाइ कसले दिने ?

इटहरीमा भएको यो आगलागीको श्रृङ्खलाले प्रश्नै प्रश्नहरू मात्र छाडेर गएको छ । ती प्रश्नको उत्तर खोज्नेतिर प्राधिकरण र उपमहानगरपालिकाका प्राविधिक जनशक्ति, जनप्रतिनिधिहरू भने नलागेर अलमलिएका छन् । एकपटकमात्र विद्युत् सर्ट भएर आगलागी भए भवितव्य वा संयोग मान्न सकिन्छ तर बारम्बार दोहोरिनुलाई संयोग मान्न सकिन्न । यति प्रश्न सङ्केत आगलागीको घट्नाहरूले छाडेर जाँदा पनि किन बारम्बार दोहोरिदै छ भनेर दिमागको बत्ती नबल्नु या त लाचारीपन हो यात बेवास्ता गरिनु हो । अर्को भाषामा भन्दा ‘भाँड में जाये’ मार्काको मानसिकता बोकेर बस्नु हो । यो भनेको विद्युत् प्राधिकरणका प्राविधिक जनशक्तिहरूका लागि जागिर खाने औपचारिकता पूरा गर्नुबाहेक अर्को विवेक नहुनु बराबर हो भने इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरूका लागि विवेक प्रयोग गर्ने बौद्धिक हैसियत नहुनु बराबर हो । विद्युत् सर्ट आफंै हँुदैन । मानवीय गल्तीले नै हुन्छ । तर, बारम्बार सोही क्षेत्र आसपास विद्युत् सर्ट हुनु पक्कै पनि केही कमजोरी लुकेको हुनुपर्छ । तारको विस्तार, जडान गरिएका ट्रान्समिटर र निर्माण भएका घर तथा भवनमा प्रयोग भएका विद्युतीय उपकरण तथा स्वीच सिस्टमको अध्ययन गर्नु जरुरी देखिएको छ । नत्र, ‘यस्तै हो, कहिले काहीँ विद्युत् सर्ट भएर आगलागी हुनु सामान्य हो ।’ भन्ने मानसिकता बनाएर बसिरहे आगलागीका घट्ना बढिरहन्छन् । धनमाल र मानवीय क्षति भइरहन्छन् । यतिमै चित्त बुझाउने नै हो भने प्राविकरणको जनशक्तिको कुनै काम छैन । जागिरबाट बर्खास्त गरिदिए हुन्छ । नगरबासीको हितमा ‘सेवक’ बनेका जनप्रतिनिधिको पनि जरुरत पर्ने छैन । बारम्बार आगलागी भइरहेछ तर समाधानका लागि विवेक नचलाउने के जनप्रतिनिधि ?