व्यक्तिको विचारले मानिसलाई कामतर्फ डोर्याउँछ कामले बानी व्यहोरातर्फ लग्दछ । बारम्बार दोहो¥याएर गरिने कार्यबाट मानिसको बानी वा स्वभावको निर्धारण हुन्छ । असल बानीहरू अपनाउन कठिन हुन्छ तर खराब बानी अपनाउन सजिलो हुन्छ । यसले जीवनलाई कष्टप्रद बनाइदिन्छ र समाज पनि त्यसको शिकार हुन जान्छ । व्यक्तिको आनीवानी तथा कार्य, व्यवहारबाट नै समाजको स्वरूप निर्धारण हुन्छ । अर्को शब्दमा भन्दा समाजको रहनसहन, सामाजिक संस्कार, सामाजिक मूल्य मान्यता, प्रथा तथा प्रचलनले व्यक्तिको व्यवहार निर्धारण गर्दछ ।
व्यक्तिको सोचाइ, भोगाइ आनीबानी र व्यवहार मूलतः सामाजिक मूल्यमान्यता तथा प्रचलनबाट बढी प्रभावित हुने गर्दछ । व्यक्तिको स्वभाव भनेको समाजको प्रतिविम्ब हो । हाम्रो समाज जस्तो छ सोही अनुसार त्यस समाजमा बस्ने मानिसको व्यवहार निर्धारण हुन्छ । विश्वमा रहेका करिब २०० जति देशहरूको जनताको आआफ्नै संस्कार, प्रथा तथा प्रचलन रहेको हुन्छ । त्यसैले त ती र त्यस्ता देशहरूका मानिसहरूको बीचको व्यवहार संस्कार एकआपसमा फरक फरक रहेको हुन्छ । व्यक्तिको व्यवहारको परिवर्तन समाजले निर्धारण गरेको संस्कारले गर्ने गर्छ भने संस्कारको परिवर्तन प्रविधिको विकास र प्रयोगसँगै अलि छिटो हुने गरेको छ । सीमाविहीन अर्थतन्त्रको विकाससँगै सामाजिक तथा सांस्कृतिक संस्कारहरू पनि चाँडो चाँडो परिवर्तन हँुदै आइरहेका छन् । अझै पश्चिमा देशहरूमा यसको प्रवृत्ति अझ बढी रहेको पाइन्छ । विश्वव्यापीकरणको कारणले विश्वमा विकसित प्रविधिको प्रयोग हाम्रो जस्तो पूर्वीय दर्शनबाट प्रभावित देशको संस्कारमा पनि पर्न थालेको छ । आधुनिकताको भीडमा संस्कार र सभ्यतालाई भुलेर आफ्ना अस्मिता आफै लुटायौं भने सामाजिक लागत बढ्न जान्छ ।
नेपालको सांस्कृतिक परम्परा र समुच्च जीवन प्रणाली, धार्मिक आस्था, विश्वास र निष्ठा जस्ता कार्यहरू पूर्वीय दर्शनबाट प्रभावित हुँदै आएको छ । पूर्वीय परम्परा मूलतः धर्म, दर्शन र संस्कृतिबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । संस्कृतिले हाम्रा मौलिक, धार्मिक परम्परा, चाडपर्व, सामाजिक, सांस्कृतिक सङ्घ, सङ्गठन, भाषा, नृत्य, सङ्गीत, वाद्यवादन, कला, वास्तुकला, धामीझाँक्री परम्परा, भूतप्रेत, चिकित्सा प्रणाली, आस्था, व्यवहार, प्रचलित जनश्रुति, किम्वदन्ती, काव्य, नाट्य, कथा र इतिहासजस्ता सन्दर्भलाई बुझाउँछ । हाम्रो रहनसहन, खानपान, गरगहना, वाद्यवादन, मठमन्दिर, पाटीपौवा, गुम्बा, स्तुपा, दरबार आदि जस्ता मूर्त सांस्कृतिक सम्पदाका साथै भाषा, साहित्य, सङ्गीत, कला र सामाजिक व्यवहारहरू हाम्रा संस्कृति हुन् ।
यिनै सांस्कृतिक धरोहरबाट नै विगतदेखि नेपाली संस्कारको विकास र सोही अनुसारको व्यवहारको विकास र प्रयोग हुँदै आएको छ । तर, अहिले प्रयोगमा आएको प्रविधिको विकास र प्रयोगबाट हाम्रा सांस्कृतिक मनोविज्ञानको चिरहरण भएको छ भन्ने वर्ग पनि छन् भने कतिपयले यसको प्रयोगलाई अहोभाग्यको रूपमा लिएको छ । हुन पनि प्रविधिको प्रयोगको विकास हाम्रो जस्तो पुरातनवादी समाजमा यति चाँडो विकास भएको छ कि, आजभन्दा २० वर्ष अगाडि एउटा टेलिफोनको लाइन लिन मन्त्रीसम्मको पावर लगाउन पर्ने देशमा अहिले जनसङ्ख्या भन्दा दोब्बर सङ्ख्यामा मोबाइलका सिम बाँडिएको छ । हिजोआज त पल्लाघरका हजुर आमा घाँस, दाउरा गर्न जाँदा मोबाइलबाट अरबमा भएको नातिसँग संवाद गरिरहेकी हुन्छिन् ।
माइली काकी पँधेरामा पानीका स्रोत सुकेर गाग्री भर्न कठिन भएको कुरा अमेरिका रहेको छोरासँग मोबाइलमा भलाकुसारी गर्दै हुन्छिन् । प्रविधिको विकास र यसको प्रयोगले हाम्रा धेरै कामलाई सहज बनाइदिएको त छ तर यसको प्रयोग सही रूपमा नहुँदा हाम्रो समाजले यसको फाइदा लिनुभन्दा विकृति अँगाल्नेतर्फ बढीजाँदै छ । नेपाल प्रहरीमा दर्ता भएका साइबर क्राइमका घट्नालाई साक्षी राखेर यसको निर्मम रूपमा समीक्षा गर्ने हो भने प्रविधिको नाममा फस्टाएको सामाजिक सञ्जालले अब व्यक्तिको गोपनियता आचरण संस्कार, समाजिक मूल्य–मान्यता, सबैलाई बिर्सिन बाध्य तुल्याएको छ । समाजमा चोरी, ठगी, हत्या, हिंसा, यौनशोषण, आत्महत्या, जस्ता घट्नाहरूमा यसको प्रयोगवृद्धि दिन दुईगुना रात चौगुना छ । जसको फलस्वरूप नेपालमा अपराधका घटनहरू बढेका पाइन्छन् । सामाजिक सञ्जालको कारणले गर्दा पारिवारिक विखण्डनको साथै आत्महत्या गर्नेको सङ्ख्यामा समेत बढोत्तरी भएको छ । विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देशको सूचीमा नेपाल हाल सातौं स्थानमा रहन गएको छ । यसले नेपालमा बढ्दै गएको सामाजिक सञ्जालको प्रयोगबाट समाजमा पुगेका फाइदा र बेफाइदाको बारेमा थप अध्ययनको जरुरत परिसकेको छ ।
वैदेशिक रोजगारीको लागि नेपालबाट ५० औं लाख युवा विदेशिएका छन् भने अर्कातर्फ स्वदेशमा नै कामको सिलसिलामा घरबाट श्रीमान्हरू बाहिरिने र श्रीमतीहरू केटाकेटी पढाउने बहानामा शहरमा बस्ने र लामो समयसम्म श्रीमान्सँगको सम्बन्ध र सम्पर्क नहुँदा जैविक आवश्यकताको रूपमा रहेको यौनप्यास मेटाउन केटा साथी खोज्ने कार्यमा समाजिक सञ्जालको दुरुपयोग हुँदै आएको पनि पाइन्छ । चाहे विवाहित होस् वा अविवाहित महिलाहरू सामाजिक सञ्जालको माध्यमद्वारा सजिलै एकअर्कामा सम्बन्ध गाँस्ने गर्दछन् । यस्तो सम्बन्धको बारेमा पछि समाजलाई जानकारीमा आएपछि समाजले यसलाई सजिलै पचाउन नसक्दा डिभोर्सको दर बढेर, हिंसाको दर बढेको तथा आत्महत्यालगायतका समाजिक विकृति बढेर गएको छ । डिभोर्सको दर बढेकै कारण छोरा छोरीहरूले आमाबाबाको स्नेहबाट टाढा हुनु परेको अवस्था छ र अविभावकको संरक्षण नपाउँदा छोरा छोरी कुलतमा समेत लाग्ने गरेका छन् ।
कारागारमा भएको कैदी तथा बन्दीहरूको रेकर्डलाई नियाल्ने हो भने त्यहाँ रहेका मध्ये करिब ५० प्रतिशत लागू औषधसँग सम्बन्धित अपराधमा संलग्न रहेको देखिन्छ । अझ अनौठो कुरा के छ भने २ जना ११ वर्ष मुनिका बालक छ्न् । जो जबरजस्ती करणीको अपराधमा पूर्वपक्ष्यमा थुनामा छन् यसले के साँच्चै ती बालक करणी गर्न योग्य छन् र करणीको आसयबाट नै यो घटना भएको हो त ? कि सामाजिक परिवेश तथा सामाजिक सञ्जालको दुरुपयोगको कारण यौन उत्सुकता बढ्न जाँदा यस्तो घटना घटेको होला यो विषय अनुसन्धानको विषय बनेको छ । एकातिर समाजमा मानिसहरू सिर्फ आफ्नो व्यापार र व्यवसाय तथा पेशामा व्यस्त छन् । दैनिक हुने नाफा घाटामा व्यस्त छन् । तर, आफ्ना सन्ततिको बारेमा समय नदिँदा सामाजिक सञ्जाल जस्ता प्रविधिको प्रयोग सही रूपमा हुन नसक्दा भावी कर्णधारको रूपमा रहेका सन्तति कुलतमा फस्ने गरेका उदाहरणहरू प्रशस्त देखिन्छन् । यसले परिवारको मात्र नभई समाजमा उत्पन्न हुने विकृतिका कारण सामाजिक लागत बढ्दै आएको छ ।
सामाजिक सञ्जालको प्रयोग गरी यौनसाथी खोज्ने बेबसाइट नै बनाएर देह व्यापारको धन्दा चलाउने कार्य पनि नेपालको कतिपय शहरी क्षेत्रमा छ । यसले समाजलाई विकृत तुल्याएको छ भने अर्कातर्फ सामाजिक सञ्जालको मूल काम नै सरकारलाई कमजोर बनाएर लाने तर्फ प्रयोग हुँदै आएको छ । नकारात्मक सन्देश फैलाउन र समाजिक मनोविज्ञान नै नकारात्मक तुल्याउने कार्य तर्फ सामाजिक सञ्जालको प्रयोग हुन थालेको छ । कहिले व्यक्तिको निजात्मक विषयलाई सामाजिक सञ्जालको माध्यमले नङ्ग्याउने त कहिले समाजको सानो घटनालाई बढी मलजल गरेर समाजिक आक्रोशलाई बढावा दिने कार्यमा समेत यसको प्रयोग हँुदै आएको छ ।
समाजमा घटेका राम्रा कुराहरूको सामाजिक सञ्जालमा शेयर र कमेन्ट थोरैले गर्दछन् तर नकारात्मक कुरालाई करिब ९० प्रतिशत भन्दा बढीले तुरुन्त शेयर गरेर नकारात्मक सन्देशलाई फैलाउँदै सामाजलाई नकारात्मक दिशातर्फ धकेल्ने गरेका छन् । जनताका नाममा पस्कने जति पनि सामाजिक सञ्जालको खेती छन् त्यसको गलत प्रयोगले केही वर्गको क्षणिक स्वार्थ त पूरा होला तर आज उक्साएर मान्छे खान पल्काएको बाघले भोलिका दिनमा बाघ पल्काउने वर्गलाई पनि बाँकी राख्दैन भन्ने कुरामा त्यो वर्ग सचेत हुन आवश्यक छ । समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले अन्तत्वगोत्वा समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजिक सञ्जालहरूको प्रयोग जसरी बढ्दै छ त्यसलाई व्यवस्थापन गर्न चुनौती बनेर आएको छ ।
यसले नेपाली सामाजिक मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकाले यसको सामाजिक लागत पनि बढ्दो छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता नअपनाउने हो भन्ने यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरू उपाय नहुन सक्दछ । तसर्थ पनि दुरुपयोग कर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनुपर्छ । अन्यथा समय बितेपछि हतारमा गरेका हर कार्य सहानुभुति समान अर्थहीन रहन्छन् भन्ने कुरा सोच्न आवश्यक छ । यसको सबल पक्षको प्रयोग गर्दै सामाजिक मनोविज्ञानलाई सकारात्मक परिवर्तन र विकासको संवाहकको रूपमा प्रयोग गर्ने गराउने कार्यमा लागाँै । यसको लागि सामाजिक अभियन्ताहरूको पनि त्यतिकै ठूलो भूमिका हुन्छ । यदि यसो गर्न सकिएको खण्डमा सामाजिक सञ्जालको सही प्रयोग गरी समाजको रूपान्तरण र विकास गर्न सकिन्छ ।
(लेखकः झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् ।)