भाइबहिनी हो, यसपटक हामीले धरान–९ का गोकुलप्रसाद श्रेष्ठको सानो छँदाको कथा उधिन्ने प्रयास गरेका छौं । झण्डै ३८ वर्ष शिक्षण पेशामा आबद्ध भएर २०६५ सालमा अवकास भएका श्रेष्ठ लामो समयसम्म प्रधानाध्यापकको रूपमा रहेर असल प्रशासकको काम पनि गरेका थिए । प्रस्तुत छ उनैको कथा :
धरानमा गोकुल सर अर्थात् गोकुलप्रसाद श्रेष्ठको नाम नै काफी छ । जो कोहीले पनि गोकुल सरलाई नामैले चिन्छन् । तर, त्यही गोकुल सरको बालकपनको कथाबारे धेरै अनभिज्ञ छन् । जो २००५ सालमा सङ्खुवासभाको खराङ गाविस १ नम्बर वडामा जन्मिए । मध्यम परिवारका उनी घरका साइँला हुन् । बुबा रामप्रसाद श्रेष्ठले कपडा पसल गर्थे । त्यस ताका गाउँमा उनको एक्लो एउटा पसल थियो । दूर–दूरसम्मका मानिसहरू कपडा र मालताल किन्न उनकै दोकान आइपुग्नुपथ्र्यो । आँखीभुइँ, तुम्लिङटार, माम्लिङ, लिङलिङ, वानासम्म एकछत्र राज थियो रामप्रसादको कपडा पसलको । त्यसैले खान–लाउनमा कुनै कमी थिएन । र, पनि बाह्रखरी चिन्ने मामलामा उनी केही ढिला भए । रामप्रसाद व्यापारी मात्रै थिएनन्, त्यो ताका राजनीतिमा पनि सक्रिय थिए । राजनीतिमा सक्रिय भएकै कारण छोराछोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान उनमा थियो । त्यही कारण पढाइले मेसो पक्डियो ।
बुबा रामप्रसादले आफ्नै अगुवाइमा खाराङमै २००८ सालमा शारदा मिडिल स्कुल खोले । बजारबाट नजिकै पर्ने भएकाले पढ्न जान उनलाई गाह्रो थिएन । थियो त, शिक्षकको अभाव । केही महिना पढ्ने, केही महिना शिक्षक नै नहुने पीडाबाट गुज्रिदै उनले कक्षा १ छिचोले । बाँसको ठुँडो बनाएर मसी चोब्दै कखरा र बाह्रखरीलाई पार लगाई छाडे । केही समयसम्म काठको कालोपाटी र बजारे कालोपाटी पनि चलाए । घरेलु कालोपाटीमा कालो रङ्ग लगाउँदै खरीले कखरा लेखेको अहिले पनि भुलेका छैनन्, गोकुल सरले । स्कुल डे«स भन्ने केही थिएन । जे छ त्यही लगायो, स्कुल गयो । परिवारमा कपडाको चिन्ता थिएन । वर्षमा दुईतीन जोर नै फेरीफेरी लाउँथे । बुबाबाट पढ्ने प्रेरणा पाए पनि उनलाई बाह्रखरीको लत देवीप्रसाद काफ्ले र डम्मरुप्रसादले लगाइदिए ।
उमेर छिप्पिएर पढेकाले चाँडै बुझ्थे ।
कक्षा १ छिचोलेपछि सारदा मिडिल स्कुलमा शिक्षक अभावमा स्कुल बन्द भयो । ‘तेह्रथुममा कान्छी फुपू बस्नुहुन्थ्यो, बुबाले त्यतै पठाइदिनुभयो’ उनी भन्छन्, ‘फुपूको छोरा वासुदेवमान श्रेष्ठ आफै मास्टर थिए सिंहवाहिनी मिडिल स्कुलको ।’ त्यहाँ कक्षा २ मा नाम लेखाए । त्यो बेला ५ वटा किताब पढ्नुपथ्र्यो । सिभिक्स भन्ने किताब थियो । त्यो किताब छिचोल्न गोकुल सरलाई त्यो बेला निकै कष्ट भएकै हो । भन्छन्,–‘निकै कष्ट गरी पढियो, त्यो बेला ।’ कक्षा २ मा एकाधमहिना मात्रै पढे, अर्धवार्षिक परीक्षा नजिकै आइरहेको थियो । परीक्षा दिए । स्कुलकै फस्ट भएपछि उनलाई सिधै शिक्षकहरूले ३ कक्षामा चढाइदिए । ‘३ कक्षामा एक महिना पढेपछि धरान आएँ, फुपू पनि धरान आउनुभयो, त्यस बाध्यताले म पनि यता आउनुप¥यो’ उनी भन्छन्, ‘धरानको पब्लिक स्कुलमा कक्षा ४ का लागि टेस्ट गराएँ, टेस्टमा राम्रै गरेँछु क्यार नाम लेखाउने अवसर प्राप्त भइहाल्यो ।’
पब्लिकबाट कक्षा ४ उत्तीर्ण गरेपछि बुबाले खराङ नै बोलाए । त्यहाँ पनि एकैपटक ६ मा भर्ना भएँ । ‘कक्षा ६ मात्रै हो, मैले वर्षभरि पढेको’ उनी विगत सम्झन्छन् । मेहनत गरी पढ्थेँ । जसको परिणाम पनि राम्रै आउँथ्यो । कक्षा ७ मा भर्ना भए । ८–१० दिन विद्यालय गएपछि के कारणले हो उनलाई खराङ पढ्ने मन भएन । चैनपुरमा सरस्वती हाइस्कुल भन्ने थियो । घरबाट करिब डेढ घण्टाको दूरीमा पर्ने उक्त स्कुल धाए । त्यहाँ धरानबाटै गएका मानिकलाल श्रेष्ठ हेडमास्टर थिए । उनले सिधै कक्षा ८ मा भर्ना हुने मनसाय राखे । तर, हेडसरले अस्वीकार गरिदिए । टेस्ट दिएर पढ्छु भन्दा पनि ठाउँ अभाव हुने भन्दै कक्षा ८ को भर्ना मरिगए दिएनन् । तर, मावलीपट्टिका काका सिंहमान श्रेष्ठ त्यही स्कुलका सेक्रेटरी थिए । उनैलाई आफ्नो कथाव्यथा सुनाए ।
उनैले हेडसरलाई भनिदिएपछि सोझै ८ मा भर्ना हुने अवसर जुट्यो । कक्षामा मेहनत गरेअनुसार उत्तीर्ण भए पनि सोचेजस्तो ‘पोजिसन’ आएन । ‘परीक्षा चित्त नबुझेपछि चैनपुर छाडेँ, धरान आएँ’ उनी भन्छन् । त्यही बेला राजनीति कारणले बुबा निर्वासित भएका थिए । भारत निर्वासित भएका कारणले पढाइका लागि खर्च जुट्ने कुरा थिएन । आफै खर्च जुटाएर पढ्नु पर्ने भएकाले उनी धरान–विराटनगरको गाडीमा कण्डक्टरसमेत काम गरे । त्यहाँबाट दुईचार पैसा हुन्थ्यो । त्यही पैसाले पब्लिक स्ुकलभित्रै त्रिभुवन रात्रिकालीन स्कुल चल्थ्यो । त्यही कक्षा ९ मा नाम लेखाए । काम गर्दै पढे पनि उनी कक्षामा फस्ट भए । १० कक्षामा पनि फस्ट नै भए । त्यो बेलासम्म उनले ३–४ सय रुपैयाँ सङ्कलन गरेर देशीलाइनमा मनिहारी दोकान थापे । त्यहीँबाट आएको खर्चले पढ्ने गर्थे । २०२१ सालमा एसएलसी दिए । रात्रिकालीन स्कुल भएकाले दिनभरि काम गर्ने र राति पढ्थे । एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण भए । ‘३ नम्बरले प्रथम श्रेणी पुगेन’–उनी भन्छन् ।
त्यही बेला भूमिसुधार ऐन लागू भएको थियो । त्यसका लागि कर्मचारी खोजेको थियो । उनी पनि खरदार पदमा भिडे । पहिलो नम्बरमा नाम निकाले । तर, फुपुको छोराले जागीर खाएपछि पढाइ बिग्रिन्छ, अगाडि बढ्न सक्दैनस् भनेपछि त्यो जागीर त्यागेर २०२२ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नाम लेखाए । लगातार नै उत्तीर्ण भए । २०२५ सालमा उनले स्नातक तह पनि पूरा गरे । त्यही बेला फुपूका छोरा जसले खरिदारको जागीर नगर्न सल्लाह दिएका थिए । उनैले उदयपुरको गाईघाटको एउटा स्कुलमा शिक्षक पद खाली छ भनी जानकारी पठाए । ‘रिजल्ट नआउँदैको कुरा हो यो, त्योबेला फुपूको छोरा उदयपुरमा प्रमुख जिल्ला अधिकारी थिए’–उनी भन्छन् । करिब ढेड वर्षजति पढाइसकेपछि धरानमा रहेको अञ्चल शिक्षा कार्यालयले शिक्षा निकेतनमा शिक्षक चाहिएको कुरा आवा ग¥यो । त्यो बेलाको सञ्चार नै ‘आवा’ थियो । २०२७ सालदेखि स्थायी नियुक्ति लिएर अध्यापनमा कस्सिएका उनी ३८ वर्षसम्म अर्थात् २०६५ सालमा सेवा निवृत्त भए । त्यही कालमा उनी विभिन्न स्कुलहरूमा हेडसरको भूमिकामा देखिए । ३५ वर्ष प्रअको रूपमा रहेर काम गरे । एउटा असल प्रशासकको भूमिका निर्वाह गरे ।
त्यसो त, उनलाई पढ्दा ताका वकालती गर्ने सपना बुनेका थिए । २०३०–३१ सालमा बिएल पनि नगरेका होइनन् । सर्वोच्च अदालतबाट अधिवक्तामा नाम पनि निकालेका थिए । तर, वकालती गर्ने सपना सपनै रह्यो । ‘त्यसको पनि कारण छ, २०३१ सालमा शिक्षा मन्त्रालयले मलाई २ महिने वर्कसपका लागि डेनमार्क पठाइदियो । युरोपका ४–५ देशमा घुम्ने अवसर पनि प्राप्त भयो’ उनी भन्छन्, ‘त्यो बेलामा माविको हेडसर पनि भइसकेको थिएँ, दोस्रो श्रेणीमा पर्थे । त्यो लोभले पनि वकालती पेशातिरको सपना सपनामै सीमित रह्यो ।’ शिक्षण मोहले उनलाई तानिरह्यो । विभिन्न स्कुलहरूमा हेडमास्टर भएर बिताउने क्रममा धरानको शिक्षा निकेतनमा पुनः २०४८ सालमा हेडमास्टर भएर आइपुगे । त्यस क्रममा २०५६ र २०६३ सालमा पूर्वाञ्चलको टप स्कुल बन्दै पुरस्कृत गराउन सफल भए । उनले पनि सेवा पदकबाट विभुषित हुने मौका पाए । पढाउने र प्रशासनमा रहँदा उनलाई जुनसुकै विचारधाराका शिक्षक सङ्गठनहरूले उनलाई माया गर्थे । बाम विचारधारा, प्रजातान्त्रिक विचारधारा होस् वा शिक्षकका हितमा खुलेको युनियन होस्, ती सबैबाट सम्मानित हुने अवसर पाए ।
यही बीचमा उनी २०५२ सालदेखि समाजसेवाका क्षेत्रमा पनि हात हालेका छन् । हाल सिद्धि नेवाः परिषद् धरानको अध्यक्ष रहेर काम गरिरहेका उनी अब समाजसेवाबाटै जीवनको इहलीला समाप्त गर्ने सोचमा अगाडि बढेका छन् । पढ्ने र पढाउने क्रममा थुप्रै आयामहरूलाई चिर्न सफल उनले एकपटक सारदामै पढ्दा शिक्षकले सिमलीको सिर्कनाले कुटेको भने अहिलेसम्म भुलेका छैनन् । ‘पढाइका कारणले त कुटाइ खाएको जस्तो लाग्दैन, केही काम बिगारे हुँला, त्यसै कारण सिर्कानाले कुटाइ खाएको चाहिँ सम्झन्छु’–उनी भन्छन् । अहिले प्रविधि, इन्टरनेटले फड्को मारेको छ । अहिलेका विद्यार्थीहरू जे चाहन्छन् त्यो सुविधा प्राप्त गर्न सक्छन् । त्यसलाई सदुपयोग गर्ने हो भने विश्वस्तरका प्रतिभाहरू जन्मन सक्ने उनको भोगाइ छ ।