धरान/रोटरी क्लब अफ धरान घोपाको पहलमा धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ‘महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी’ सचेतना अभियान थालिएको छ ।

अभियानको शुरुवात धरानको पब्लिक माविबाट गरिएको छ । कक्षा ६ देखि माथि अध्ययरत छात्राहरूलाई मात्रै सहभागी गराएर महिनाबारी सम्बन्धी जानकारी गराइएको हो । कलेज अफ नर्सिङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरूले महिनावारीबारे जानकारी गराएका थिए । ‘उनीहरूलाई महिनावारी कसरी हुन्छ, यसको चक्र कस्तो हुन्छ, कतिखेर प्रेगनेन्सी भइन्छ भन्ने बारे जानकारी गराएका छौं’ कलेज अफ नर्सिङकी सामुदायिक स्वास्थ्य विभागकी एसिस्टेन्ट प्रोफेसर शर्मिला श्रेष्ठले भनिन् । उनका अनुसार उनीहरूलाई महिनावारी हुँदा प्रयोग गर्ने ‘रियुजेवल र डिस्पोजेवल’ सामग्री लगाउँदा के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्नेबारे पनि जानकारी गराइएको छ । ‘प्रयोगबारे प्रदर्शनी गरेर नै देखाएका थियौं’–उनले भनिन् ।

रोटरीका पूर्वअध्यक्षसमेत रहेका कार्यक्रम संयोजक बीपी प्रतिष्ठानका प्रा.डा. विक्रम श्रेष्ठले धरानका स्कुल–स्कुलमा यो अभियान थालिएको बताए । ‘महिनावारीको शुरुवाती क्षणमा कतिपयलाई यसबारे जानकारी नै हुँदैन’ उनले भने, ‘यहाँ छात्राहरूबीच छलफल गराएर त्यसबारे ज्ञान बाँड्दै छौं, यो निरन्तर चलाउने योजना छ ।’ उनका अनुसार एक पटकमा ५० जना छात्राहरूलाई सहभागी गराएर सचेतना गराइरहेका छौं । पछिल्लो समय पहिलो पटक महिनावारी ११ वर्षको उमेरदेखि नै हुने गरेको छ ।