प्रदेश १ को पर्यटकीय नगरी इलामको दक्षिणी गाउँपालिका चुलाचुलीले भने कुल बजेटको १ दशमलव ८० प्रतिशत रकम मात्रै पर्यटनमा खर्चिएको छ ।

इलाम / तीनकुने पोखरी सिमसार क्षेत्र चुलाचुली गाउँपालिकाको १२ वटा पर्यटकीय क्षेत्रमध्ये एक हो । जुन २ नम्बर वडामा अवस्थित छ । कुल ३३ बिघा क्षेत्रफल भए पनि सिमसार भने २ बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
सिमसारको पूर्व मोहडादेखि अवलोकन गर्दा अङ्ग्रेजीको ‘यु’ अल्फाबेट झै देखिन्छ । जहाँ आन्तरिक पर्यटकका लागि सयर गर्न दुई वटा डुङ्गा राखिएका छन् । त्यही डुङ्गाबाट ‘यु’ आकारको सिमसार सयर गर्छन् आन्तरिक पर्यटकहरू । पर्यटकहरूलाई बस्नका लागि केही चौतारो निर्माण गरिएका छन् ।

‘बिदाको दिन छेउछाउका शहरबाट घुम्न आइपुग्छन्’–टिकट सङ्कलनकर्ता लक्ष्मी लिम्बू भन्छिन् । तीनकुने पोखरीले सिमसारको रूप धारण गरेको चार वर्ष मात्रै पुग्दैछ । त्यसअघि सिंचाइका लागि प्रयोगमा आउँथ्यो । ५० को दशकमा गाउँका अगुवाहरू मिलेर सिंचाइका लागि ड्याम बनाएका थिए ।

पानी अभाव हुने भएकाले बर्खाका बेला गाउँलेहरूले त्यहीँबाट सिंचाइका लागि पानी प्रयोग गर्थे । ‘सिंचाइका लागि हाम्रा बाउहरूले थुनेका थिए’ सिमसार नजिकै घर भएकी स्थानीय महिला इन्द्रकुमारी लिम्बूले भनिन्, ‘सिमसार भएको त २०७२ सालमा त हो ।’ उनका अनुसार ४–५ घरपरिवारले सिंचाइका लागि ड्याम बनाएका थिए । पछि घरहरू बढ्दै गए । त्यहीअनुसार पोखरी थुन्ने काम तीव्र भयो ।
तर, अहिले यही पोखरीको गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।

५ लाख रुपैयाँमा तयार गरिएको डिपिआरअनुसार कामहरू अगाडि बढिरहेका छन् । तिनकुने पोखरी सिमसार क्षेत्र उपभोक्ता समितिका अध्यक्ष नगिन्द्र श्रेष्ठ भन्छन्, ‘डिपिआर तयार भइसकेको छ । त्यसअनुसार गाउँपालिकाले बजेट विनियोजन गरिरहेको छ । प्रदेश र सङ्घीय सरकारसँग पनि बजेटका लागि आग्रह गर्ने काम भइरहेको छ ।’ उनका अनुसार झापाको दमक, पाडाजुँगी, केर्खालगायत क्षेत्रबाट वनभोजका लागि हिउँदको समयमा आउने गरेका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब ७ किलोमिटरको दूरीमा सिमसार रहेको छ ।

सिमसार व्यवस्थित गर्नका लागि सांसद् विकास कोष, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले रकम विनियोजन गरेको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् । २०७४ चैत २५ गते चुरे संरक्षणबाट १६ लाख ९६ हजार ७ सय ५२ रुपैयाँ विनियोजित भएको थियो । जसमा जनसहभागिताबाट ४ लाख ३१ हजार १ सय ७० रुपैयाँ खर्चिएको थियो ।

‘यहाँ प्रचार प्रसारको अभावका कारण पनि पर्यटकहरू आउन सकेका छैनन्’ अध्यक्ष श्रेष्ठले भने । डिपिआर तयार भएकाले सिमसार अब व्यवस्थित हुनेमा गाउँलेहरू आशावादी छन् । डिपिआरमा चिल्ड्रेन पार्क, भ्यू टावर, वनभोज स्थल, बगैंचा, रिसोर्ट, पैदल बाटोलगायत छन् ।

tinkuneq

डिपिआरअनुसार संरचना निर्माणका लागि बिर्तामोडको प्रयास नेपालले ७ करोड ३२ लाख १३ हजार ६ सय ६४ रुपैयाँ लागत स्टिमेट निकालेको छ । ‘त्यति मात्रै होइन, गाउँपालिकाका ४ वटा पर्यटकीय क्षेत्रको डिपिआर बनाइसकेका छौं, अन्य ८ स्थानको बनाउने चरणमा छौं’ गाउँपालिकाका प्रमुख प्रदीपचन्द्र राई भन्छन्, ‘सांसद विकास कोष, राष्ट्रपति चुरेलगायत गाउँपालिकासहित गरेर चानचुन ७० लाख रुपैयाँ खर्च गरिसकेका छौं ।’

चुलाचुलीका १२ वटा पर्यटकीय क्षेत्रहरूमा अहिले वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिन्छन् । अधिकांश पर्यटकहरू झापा र मोरङका हुन् । ‘यी सबै आन्तरिक पर्यटक मात्रै हुन्’ उनले फोनसम्पर्कमा भने । उनका अनुसार डिपिआर बनिसकेकाहरूमध्ये तीनकुनेसहित चुलाचुली–५ को अन्धा राजारानी पर्यटकीय क्षेत्र, चपेटी पर्यटकीय क्षेत्र र चुलाचुली–६ को कुइनेटार रहेका छन् । चुलाचुलीको चालू आर्थिक वर्षको बजेट ३८ करोड ४५ लाख रुपैयाँ हो । जसमध्ये ७० लाख रुपैयाँ बजेट पर्यटनमा छुट्याइएको छ ।