भाइबहिनी हो, आज हामीले महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत अर्थशास्त्र विभागका विभागीय प्रमुखसमेत रहेका सहप्राध्यापक विनुमान मोतेको सानो छँदा उधिन्ने प्रयास गरेका छौं । सानो छँदा उनले कसरी अध्ययन गरे, शिक्षाप्रतिको उनको बुझाइ के थियो, यस्ता विविध विषय समेट्ने प्रयास गरेका छौं ।
प्रस्तुतिः भोजराज श्रेष्ठ


आम नेपालीझैं धरान–१० का विनुमान मोतेको जीवनको पूर्वाद्ध गुज्रियो । सायद उत्तराद्र्ध पनि । जीवनको जोडघटाउ, गुणा–भागाको बेहिसाब छ, उनीसँग ।

२०१६ चैत ४ गते धर्तीमा पाइला टेकेका विनुमानको प्रारब्ध कष्टकर नै भएर बित्यो । बुबा पृथ्वीमान मोतेको एक्लो कमाइले परिवारको गर्जो टथ्र्यो । राजनीतिमा समेत सक्रिय भएकाले छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना जागृत थियो । जसले गर्दा पाठशालाका घु¥यानहरू टेक्ने अवसर विनुमानले प्राप्त गरे । घरको जेठो विनुमानले ७ वर्षको उमेरमा पहिलो पटक पाइला हाले । कखरा, बाह्रखरीसँग नभिजेका उनलाई शुरुवाती क्षणमा निकै कष्ट भयो । पारिवारिक अवस्था कमजोर भए पनि पढाइका मामलामा विनुमानले कष्ट बेहोर्नु परेन । तर, पढाइप्रतिको लगाव भने शून्यप्रायः थियो ।

बुबाआमाको खातिर पढ्नुपर्ने । धरान–१ लक्ष्मीचोकमा जन्मिए पनि बुबा पृथ्वीमानले सपरिवारलाई नै धरान–१० (तात्कालीन ८ नम्बर) महेन्द्र क्याम्पसको अगाडि सारे । त्यहाँबाट स्कुल पुग्न ५–७ मिनेट को बजार यात्रा छिचोलेपछि भानुचौकको पञ्चायत प्रावि पुगिन्थ्यो । कखराको शुरुवात त्यहीँबाट भयो । ऊबेलाको समयमा बुबाले सामान्य रात्रिकालीन स्कुल पढेकाले कखराको जग बुबाले नै हालिदिए । बुबाको कालमा दलितलाई पढ्न छुट थिएन, अहिलेजस्तो । लुकी–लुकी स्वअध्ययन गरे । त्यही अध्ययन नै छोराछोरीका लागि मार्गदर्शक बन्यो ।

‘त्यतिबेला अहिलेजस्तो पढ्न पाइँदैनथ्यो, बुबाले लुकीलुकी पढेरै शिक्षाको जग हाल्नुभयो’ उनी भन्छन्, ‘त्यसको फाइदा हामीले पायौं ।’ पृथ्वीमानले नभ्याउँदा छोराहरूलाई टिउसन हालिदिएका थिए । ‘पढ्न मन गर्दिन थिएँ रे’–विगत सुनाउँछन् । त्यसबेला अहिलेको जस्तो कपी बोक्ने चलन थिएन । कालोपाटी हुन्थ्यो । त्यही कालोपाटीबाटै कखरा, बाह्रखरी, दुआईहरूलाई पार लगाए । कक्षा तीनसम्म उनले कालोपाटी नै चलाए । त्यसपछि मात्रै कापी बोक्ने मौका पाएँ । कक्षामा औसत विद्यार्थीमा पर्थेँ । जीवनमा प्रथम भएनन् । १० र १५ का बीचमा उत्तीर्ण हुन्थेँ ।

कक्षा ४ सम्म त ठिकै थियो । कक्षा ५ मा पुगेपछि अङ्ग्रेजी विषय उनका लागि अर्को पहाड बन्यो । संस्कृत त थियो नै । ४ कक्षामा पढ्दा ए, बी सी डी पढेका उनले औपचारिक रूपमा कक्षा ५ मा पढ्दा कठिन भएको अनुभूति उनीसँग छ । ‘केटाकेटी हुँदा अङ्ग्रेजी अप्ठ्यारो लाग्थ्यो । नपढ्नु परे पनि हुन्थ्यो नि जस्तो हुन्थ्यो । अर्को संस्कृत । त्यो त झनै कष्ट’–विगत स्मरण गर्दै उनी भन्छन् । सकसका बावजुद पनि उनले अङ्ग्रेजीलाई पार लगाइ छाडे । तर, संस्कृत उनको वशभन्दा बाहिर थियो । कहिल्यै उनको जिब्रोले संस्कृतलाई टिप्न सकेन । अङ्ग्रेजी सजिलो हुँदै गएपछि भने नेपालीले उनलाई अचेट्न थाल्यो । ‘ह्रस्व, दीर्घ ज्यादा हुने, लेख्दाखेरि मिस्टेक भइहाल्थ्यो’–उनी भन्छन् । औसत विद्यार्थी भएकाले कक्षा कोठामा पनि कुनै न कुनै शिक्षकशिक्षिकाको पिटाइ खाइनै रहन्थे । तर, केही पिटाइ उनको जीवनका लागि नमीठो क्षण बनेर बसिरहेको छ । कक्षा ६ को कुरा । अङ्ग्रेजीको हेण्डराइटिङ जोडेर लेख्ने कला उनीसँग थियो । त्यही कला नै उनका लागि कुटाइको कारण बन्यो ।

‘यो कसले लेखेको भन्दै दुई चड्कन हान्नुभयो, मैले नै लेखेको भन्दा पनि पत्याउनु भएन । पछि मैले म अहिले पनि लेखेर देखाउन सक्छु भनेर मिसलाई भने, तर पनि विश्वास गर्नुभएन, त्यो पिटाइ अहिले पनि मेरो मानसपटलमा घुमिरहन्छ’ उनी भन्छन्, ‘अकारण नै कुटाइ खाएकाले त्यो भुल्न सक्दिन । अन्य कुटाइ त कति खाइयो कति । त्यो बेलाका मास्टरहरूले नकुटी पढाउँदै पढाउँदैनथे ।’ शिक्षकहरू जति निर्दयी थिए, त्यति नै दयालु पनि थिए । त्यो बेला विद्यालयको आफ्नो पोसाक थिएन । जे अभिभावकले किनिदिन्थे, त्यही नै स्कुलको ड्रेस हुन्थ्यो । वर्षमा दुई जोर लुगा पाउन निकै हम्मे थियो । त्यसका लागि दशैं कुर्नुपथ्र्यो । विनुमानका लागि पनि त्यही दशैं नै नयाँ लुगा पाउने समय हुन्थ्यो । त्यही लुगा स्कुलका पोसाक हुन्थे । कालोपाटी प्रयोग गरिञ्जेल लुगा चकको धुलो र पाटीको कालोले पोतिन्थे । आमाले सातामा दुईतीन पटक धोइपखाली गरिदिएको स्मरण उनको मनमा ताजै छ । नुहाउनका लागि शनिबार अनिवार्य झै थियो । ‘आफूलाई इच्छा हुँदैनथ्यो, बुबाले नुहाइदिइहाल्नुहुन्थ्यो’ उनी भन्छन् ।

स्कुल छुट्टी भएको समयमा साथीहरूसँग मिलेर सेउती र सर्दु खोलामा डुबुल्की मार्न पुगिहाल्थेँ म । सेउती केही कम हुन्थ्यो भने सर्दु नियमित झै हुन्थ्यो । तर, उनलाई जीवनमा पौडी खेल्न आएन । उनी खेलहरू पनि औसतमात्रै खेल्थे । सबै खेलप्रति मोह थियो । तर, दौड भने उनको वशमा थिएन । दौडिनेमा उनलाई कहिल्यै रुचि पनि भएन । कहिलेकाहीँ गीत पनि गाउँथे । कक्षा ५ मा उत्तीर्ण भए पछि उनी पब्लिक हाइस्कुलमा भर्ना भएका थिए । पढाइप्रति उनको लगाव कहिल्यै भएन । तर, शिक्षकहरूले एकपटक भन्नेबित्तिकै कुरा बुझिहाल्थे । आन्तरिक रूपमा निपूण थिए । पढ्नुपर्छ भन्ने ज्ञान तब मात्रै आयो जब उनले स्नातक पूरा गरे । तर, उनी कहिल्यै फेल भने भएनन् । २०३३ सालमा एसएलसी दिँदा पनि उनले मन लगाएर पढेनन् । साथीभाइसँग ‘समूहगत’ पढाइ गरे । तर, त्यहाँ पढाइ कम गफगाफ ज्यादा हुन्थ्यो । त्यही पनि एसएलसीमा तृतीय श्रेणी पास भए ।

एसएलसीपछि भने महेन्द्र बहुमुखी क्याम्पसमा अर्थशास्त्र र इतिहास विषय लिएर मानविकी सङ्कायमा भर्ना भए । पहिलो वर्षमा उत्तीर्ण हुन सकेनन् । त्यो बेला विद्यार्थी राजनीति गतिविधि पनि बढ्दै थियो । पञ्चायतविरुद्धका आवाजहरू उठ्दै थिए । जसले गर्दा २०३४ सालमा भर्ना भएर पनि उनले २०३७ सालमा मात्रै आइए सिध्याए । ‘हुनलाई एक वर्ष ब्याक लाग्यो । तर, आन्दोलनले गर्दा रिजल्ट ढिला भयो’ उनी भन्छन् । आइए सके पछि बिए पनि उनले महेन्द्रमै पढे । बिए पनि एक वर्ष ब्याक लाग्यो । तर, उत्तीर्ण गरे । त्यो बेला उनले निजी स्कुलमा जागीर पनि खान थालिसकेका थिए । त्यो बेला उनको तलव थियो ४ सय ४० रुपैयाँ । विष्णुपादुकाको सुलिकोट प्राविमा पढाउने काम गरे । झण्डै दुई वर्ष पढाएपछि उनलाई पढ्नुपर्छ भन्ने ज्ञान आयो । त्यही ज्ञान नै उनको लागि वरदान सावित भयो । ‘सानैमा पढ्नुपर्छ भन्ने ज्ञान आएको भए सायद राम्रै गरिन्थ्यो होला, पढ्नुपर्छ भन्ने ज्ञान ढिला आयो, त्यो ज्ञान नै मेरो लागि वरदान सावित भयो’–उनी भन्छन् ।

२०४२ सालमा स्नातकोत्तर गर्न काठमाडौंको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पुगे । विश्वविद्यालयमा पुगेपछि भने उनले पढाइलाई तीव्र गतिमा हाँके । सपरिवार नै पुगे पनि उनले पढाइलाई बिट मारेनन् । पढ्ने समयमा पढ्थे भने अन्य बेलामा जे काम पाइन्छ त्यही गर्थे । के काम गर्नुहुन्छ र के गर्नुहुँदैन उनलाई हेक्का हुँदैनथ्यो । पढाइका निम्ति आर्थिक जोहो गर्न उनले भेटेसम्मका काम गरे । ‘त्यो बेला भेटेजति सबै काम गरे हुँला, यो वा त्यो भनिन, किनकि श्रीमती पनि साथैमा थिइन्, खर्च जुटाउनुपर्ने बाध्यता थियो’–उनी भन्छन् । उनका अनुसार त्यो बेला एकदुई घण्टा मात्रै हैन, रातभरसमेत पढाइका लागि समय दिन्थे । जसको प्रतिफल पनि राम्रै प्राप्त गरे । जीवनमा पास मात्रै हुँदै आएका उनी त्यो बेला पहिलो श्रेणीमा उत्तीर्ण बने । जसका कारण आफू प्राध्यापन पेशामा आबद्ध हुन सकेको स्मरण गर्छन् ।

‘बुबाको सानैदेखि जेठो छोरोलाई लेक्चर बनाउँछु र अरू छोरालाई प्रशासनमा पु¥याउँछु भन्ने सोच्नु भएको रहेछ’ उनले भने, ‘त्यसअनुसार मैले गरेँ, त्यो बुबाको इच्छाले मात्रै म हुन सकेको हुँ । मलाई त के बन्ने भन्ने केही थिएन ।’ पढाइ पूरा भएपछि घर फर्किए । केही वर्ष सुनसरी क्याम्पसमा अध्यापन गरे । २०४७ सालमा चितवनको वीरेन्द्र क्याम्पसमा प्राध्यापकको लागि माग भयो । उनले परीक्षा दिए । दोस्रो नम्बरमा नाम निकाले, अन्तर्वार्तामा पनि नाम निस्कियो । केही वर्षपछि त्रिवि शिक्षा सेवा आयोग भिडे । त्यहाँ पनि नाम निकाले । झण्डै ८ वर्ष वीरेन्द्र क्याम्पसमा अध्यापन गरेपछि बुबा बिरामी भएका कारणले धरान फर्किए, महेन्द्र बहुमुखी कलेजमा काज मिलाएर । उनको काज चार वर्षअघि मात्रै मिलान भएको छ । अब अवकाश हुन तीन वर्ष बाँकी छ ।