लक्ष्मीमार्ग/ पर्यटन वर्ष २०२० मुलुकमा भित्रिएसँगै मोरङको पर्यटकीय क्षेत्र बेतना सिमसारको अवलोकन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूको चहल–पहल बढेको छ । विदेशदेखि आउने विभिन्न जातका पाहुना चरा र स्थानीय विभिन्न जातका कछुवाले पर्यटकलाई लोभ्याएको छ ।

बेतना सिमसारमा विशेषगरी जैविक विविधता भएकोले प्राकृतिक कुरा हेर्न पर्यटक आउने गरेका छन् । बेतना सिमसार सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेतका अनुसार पर्यटन वर्ष २०२० को स्वागतसँगै केही नयाँ कार्यक्रमहरू ल्याइनेछ ।

‘देशैभरिका विभिन्न विमानस्थल तथा विभिन्न भन्सार क्षेत्रमा हामीले पर्यटन वर्षमा घुम्न आउने विदेशी पर्यटकलाई लक्षित गरेर बेतना सिमसारको होडिङबोर्ड राख्ने तयारी गरेका छौं’–उनले भने । उनका अनुसार यस क्षेत्रको स्थानीय संस्कृति झल्काउने किसिमका कार्यक्रम हप्ताको एक दिन सिमसारमा गर्ने योजना रहेको बताए । बेतना सिमसारमा गतवर्ष ४ देखि ५ हजार भारतीय तथा अन्य विदेशी पर्यटक आएका थिए तर यसवर्ष १० देखि १५ हजार विदेशी पर्यटक भिœयाउने लक्ष्य रहेको अध्यक्ष बस्नेतले बताए ।

उनका अनुसार दशैं–तिहारयता औसतमा दैनिक ५ सयभन्दा बढी पर्यटक आउन थालेका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको बेलबारीको बेतना सिमसार क्षेत्रको सुन्दरताले अधिकांश मानिसलाई लोभ्याउने गरेकै कारण फुर्सदको समय मिलाएर पर्यटक बेतना आउने गरेका छन् । प्रकृतिको सुन्दरतामा रम्न चाहनेको लागि बेतना उत्कृष्ट गन्तव्य हो ।

पाहुना चराको रोजाइमा बेतना सिमसार
चराचुरुङ्गी र बेतना सिमसार पर्यायवाची शब्दकै रूपमा समेत लिने गरेका छन् । भनिन्छ, चराबाहेकको बेतना कल्पना गर्न सकिँदैन । प्राध्यापक डा. दामोदर थापा क्षेत्रीका अनुसार नेपालका विभिन्न भागबाट तथा दक्षिणी भारत र साइबेरियासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ । साथै कोशी टप्पुमा आउने प्रायःजसो पाहुना चरा यहाँ पनि आइपुग्छन् ।

विशेषगरी मङ्सिर महिनादेखि फागुन महिनासम्म विदेशी चरा यहाँ बस्ने उनले बताए । प्रा.डा. थापाका अनुसार बेतना सिमसार राजमार्गसँगै जोडिएको र वनभोज स्थल पनि रहेकाले त्यहाँका पाहुना चरालाई निक्कै असर पुगेको छ । साइबेरियादेखि आउने एक प्रकारका चराहरू, कर्मोरेण्ट (लामो घाँटी भएको एक प्रकारको चरा), विभिन्न किसिमका बकुल्लाहरू र हाँसका विभिन्न जातहरू प्रशस्तै पाइने गरेको प्रा.डा. थापाले बताए । उनले रिसर्च गर्न आउने विद्यार्थीहरूले दिएको रिपोर्टअनुसार वार्षिक रूपमा बेतनामा आउने चराको सङ्ख्या घट्दो क्रममा रहेको बताए ।

कछुवाको प्रजनन् केन्द्र
बेतना सिमसार क्षेत्र कछुवाको प्रजनन् क्षेत्रका रूपमा पनि परिचित छ । कछुवाका अनुसन्धान क्षेत्रको रूपमा विकास भइरहेको बेतना सिमसारमा आठ प्रजातिका ५ सयभन्दा बढी कछुवा रहेका छन् ।

बेतनामा सिमसार १ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । मोरङसहित झापा, सुनसरी र छिमेकी राष्ट्र भारतदेखि समेत पर्यटक आउने गरेका छन् । विभिन्न जातका माछा, कमिलाको प्रतीक, अजिङ्गर, बाँदर, वन कुखुरा, बकुल्ला, हरिण, बँदेल, खरायो, निल गाई, बाँदरलगायतका पशुपक्षी तथा जनावर हेर्न पाइन्छ । सिमसारको चिसो पानीमा माछाहरूसँग रमाउँदै पर्यटकलाई बोटिङको समेत व्यवस्था भएकोले पर्यटकहरू बोटिङ गर्दै रमाइरहेका भेटिन्छन् ।