birat-anupam-itahari

प्रदेश १ को सबैभन्दा धेरै पर्यटकीय प्याकेज भएको शहर हो धरान । प्रदेश १ को पहिलो व्यावसायिक गल्फ, प्याराग्लाइडिङ, र्याफ्टिङ, साइक्लिङ जस्ता सफ्ट र हार्ड एडभेन्चर प्याकेज धरानबाटै सञ्चालन भएका हुन् ।

पोखरामा व्यावसायिक रूपमा सफल भएको अल्ट्रालाइटको सम्भावना धरानमा छ । एक जना पाइलट र एक यात्रु बसेर आनन्दसँगै उड्ने सानो जहाज हो अल्ट्रालाइट । पोखरामा करिब दुइ दशकदेखि अल्ट्रालाइटको व्यावसायिक उडान सञ्चालन भएको छ । एभिया क्लब नामक रसियन नागरिक सहभागी कम्पनीले नेपालमा पहिलो अल्ट्रालाइटको व्यावसायिक उडान शुरु गरेको हो । शुरुमा विदेशी पाइलट मात्रै हुने अल्ट्रालाइटमा अहिले नेपाली पाइलटमा आत्मनिर्भरता आएको छ । पोखरामै सात लाख रकम तिरेर व्यावसायिक अल्ट्रालाइट पाइलट कोर्ष समेत उपलब्ध छ । पोखराको अल्ट्रालाइटको पायोनियर एभिया क्लब बाहेक फिसटेल अल्ट्रालाइटदेखि पोखरा अल्ट्रालाइट जस्ता कम्पनीहरूले नेपाली पाइलटबाटै उडान गर्छन् ।

पोखरा विमानस्थलको एक कुनाबाट हुने उडान विभिन्न प्याकेजका छन् । पोखरामा पन्ध्र मिनेट, आधा घण्टाका छोटा तथा मझौलादेखि एक घण्टादेखि डेढ घण्टाका लामा उडान सञ्चालनमा छन् । विदेशीलाई औसतमा दश हजार र नेपालीलाइ साढे सात हजार शुल्क लाग्ने पन्ध्र मिनेट उडानमा पोखरा परिक्रमा हुन्छ । पोखराको फेवाताल, सारांकोटा, शान्ति स्तुपा देखि आसपासका सुन्दर क्षेत्रहरू यस प्याकेजमा समेटिएका छन् । नेपालीलाई तीस हजार र विदेशीलाई चालिस हजार हाराहारी शुल्क पर्ने सबैभन्दा लामो डेढ घण्टे प्याकेजमा माछापुच्छे« हिमाल नजिक हुँदै विभिन्न हिमाली शृङ्खलासम्मको यात्रा हुन्छ ।

पर्यटनमा गण्डकी प्रदेशको राजधानी पोखरासँग तुलना हुने शहर प्रदेश १ को धरान हो । पोखराजस्तै धरान पनि प्रकृति, संस्कृतिदेखि साहसिक पर्यटनमा नेपालकै धनी शहरहरूमा पर्ने भएकाले यस्तो तुलना हुन्छ । पोखरामा शुरु भएको ¥याफ्टिङको धरानमा व्यावसायिक सञ्चालन संभव भयो । पोखराबाट शुरु भएको प्याराग्याइडिङमा धरानले पछिल्लो समयमा नेतृत्व गरिहरेको छ । स्थानीय पाइलटहरूको उत्पादनदेखि व्यावसायिकतामा केही राम्रा पहलहरू भइरहेका छन् । ठिक यसैगरी अल्ट्रालाइटमा पनि धरानले पोखराको जस्तै व्यावसायिकता विकास गर्न सक्ने देखिन्छ ।

अलपत्र विमानस्थलमा अल्ट्रालाइटको सम्भावना
अल्ट्रालाइट सञ्चालन गर्न विमानस्थल नै आवश्यक हुन्छ । तर, अन्य जहाजहरू जस्तो ठुलो विमानस्थल र लामो धावनमार्ग भने आवश्यक हुँदैन । पोखरा अल्ट्रालाइट कम्पनीका व्यवस्थापक रोजन क्षेत्रीका अनुसार ६ मिटर चौडाइ र ४ सय मिटर लम्बाइको धावनमार्गमा अल्ट्रालाइट व्यवस्थित रूपमा सञ्चालन गर्न सम्भव हुन्छ । व्यवस्थापक क्षेत्रीमात्रै हैन अल्ट्रालाइट बारेमा काम गर्ने विश्वस्तरीय एक्सपेरिमेन्टल एयरक्राफ्ट असोसिएसनका अनुसार १२ सय फुटको घाँसे मैदानबाट समेत अल्ट्रालाइट उडाउन सकिन्छ । १२ सय फिट भनेको करिब ३६६ मिटर लामो हो । सन् १९५३ मा स्थापना भएको असोसिएसनको आधिकारिक वेवपोर्टल इएए डट ओआरजीमा यस्तो उल्लेख गरिएको छ ।

अल्ट्रालाइट सञ्चालकको अभ्यास र विश्वव्यापी अल्ट्रालाइटको धावनमार्गको लम्बाइ÷चौडाइको गणित पुग्ने जमिन धरानको अलपत्र विमानस्थलमा उपलब्ध हुन सक्छ । लगभग विमानस्थल नबन्ने अवस्थामा पुगेको धरान–१७ डाँडाघोपास्थित धरान विमानस्थलको लागि व्यवस्थापन गरिएको जग्गामा अल्ट्रालाइट सञ्चालन हुनसक्छ । ठुला जहाज जस्तो धेरै जमिन, धेरै खर्च र धेरै झन्झट नहुने अल्ट्रालाइट सञ्चालन भएमा धरानको पर्यटकीय चहलपहल बढ्नसक्छ । धरानको विमानस्थलको लागि उपलब्ध भएको जग्गामा अल्ट्रालाइटसँगै हटएयर बेलुनलगायतका अन्य मनोरञ्जनात्मक उडानका कामहरू गर्न सकिन्छ । व्यावसायिक रूपमा परीक्षण भएर सञ्चालनमा नआएको इलामको विमानस्थमा सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले ‘फ्लाइङ स्कुल’ बनाउने प्रस्ताव गरेका छन् । इलाममा जस्तै धरानमा विमानस्थल नबन्ने हो भने उक्त क्षेत्रमा विभिन्न फ्लाइङ क्रियाकलापहरू सञ्चालन गरेर धरानको पर्यटकीय आम्दानी बढाउन सकिन्छ ।

यति इन्कर्पोरेटलाई धरान– १७ का स्थानीयले विमानस्थल बनाउने सर्तमा सस्तोमा बेचेको ७ बिघा ३ कठ्ठा साढे ५ धुर क्षेत्रफलमा अल्ट्रालाइटदेखि हट एयर बेलुन जस्ता विभिन्न व्यवसायिक फ्लाइङ गतिविधिहरू हुन सक्छन् । नेपाली जनशक्ति भएका र बजार पाउनसक्ने सबै गतिविधिको भेन्यु उक्त क्षेत्र हुन सक्छ । धरान स्थानीय सरकार आफैले पहल गरेर वा निजी क्षेत्रलाई लिजमा दिएर यी कामहरू गर्न सक्छ । सरकार र निजी क्षेत्र वा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रले साझेदारीमा पनि यस्ता परियोजना सञ्चालन गर्ने सम्भावना देखिन्छ । धरानबाट धरान बजार, विष्णुपादुका हुँदै भेडेटार, नाम्जे तथा राजारानी, कोशीटप्पु आदिको छोटो तथा मझौला प्याकेज सञ्चालन हुनसक्छ । यस्तै गरी तीनजुरे, मिल्के, जलजले क्षेत्र हुँदै मकालु नजिकको हिमाली क्षेत्रसम्मका लामो दूरीका अल्ट्रालाइट प्याकेज धरानले बेच्न सक्छ ।

धराने अल्ट्रालाइटको विशाल भारतीय बजार
पोखरा अल्ट्रालाइट सञ्चालकहरूका अनुसार उनीहरूको अल्ट्रालाइटका मुख्य ग्राहक भारतीय र चिनियाँहरू हुन् । भारतीयहरूलाई पोखरा ल्याउन पोखराका पर्यटन व्यवसायीदेखि गण्डकी प्रदेश सरकारले प्रदेश १ सँग सिधा हवाइ सम्पर्कको अभियान थालेका छन् । आगामी माघ २० बाट बुद्ध एयरले पहिलोपटक विराटनगरदेखि पोखरा सिधा उडान गर्दैछ । यस उडानबाट विराटनगर सीमापारिका बिहारी तथा प्रदेश १ को पूर्वी नाका काकडभिट्टा पारिका बङ्गाली पर्यटकहरू सोझै पोखरा जान सक्ने पोखरेली पर्यटन व्यवसायीहरूको तर्क छ । आफूभन्दा सयौँ किलोमिटर टाढा रहेका बिहारी र बङ्गाली पर्यटकहरूलाई पोखराले तान्दैछ । प्रदेश १ ले भने सीमामै जोडिएको यो विशाल पर्यटन बजारलाई तान्न सकेको छैन । कतिसम्म भने थुप्रै खर्चालु पश्चिम बङ्गाली पर्यटकहरूलाई धरान आफ्नै राज्य नजिकै छ भन्ने पनि जानकारी छैन ।

सन् २०१९ को जुलाई १२ देखि १४ सम्म पश्चिम बङ्गालको प्रादेशिक राजधानी कोलकाता प्रसिद्ध पर्यटन मेलामा सहभागी प्रदेश १ का पर्यटनकर्मीको अनुभवले नै यस्तो बताउँछ । पोखरा, चितवन, लुम्बिनी र काठमाण्डौ मात्रै धेरैले चिनेको मेलामा सहभागी पर्यटन व्यवसायीहरूले बताए । प्रदेश १ कै सीमावर्ती भारतीय राज्यका स्थानीयले काठमाण्डौ, पोखरा, चितवन र लुम्बिनी मात्रै चिन्नुमा दुई कारण छन् । पहिलो कारण सङ्घीय सरकार र पर्यटन बोर्डका हरेक पर्यटन ब्रोसरहरूमा उक्त क्षेत्रलाइ मात्रै प्राथामिकतामा राखिन्छ । र, सोही आधारमा नेपालको पर्यटन बारेमा विदेशीलाई सामान्य जानकारी छ । दोस्रो कारण भने प्रदेश १ का व्यवसायीहरूको आक्रामक र आकर्षक प्रदेश १ को पर्यटन प्याकेज सीमावर्ती भारतीय राज्यहरूमा विज्ञापन गर्न नसक्नु हो । स्तरीय विज्ञापन गरेको खण्डमा भने प्रदेश १ को पर्यटनमा व्यापक चहलपहल आउन सक्छ ।

भारतीयसँगै किमाथाङ्का–जोगबनी सडक र ओलाङचुङ्गोला तमोर करिडोर सञ्चालनपछि भविष्यमा चिनियाँ पर्यटकहरूको आगमन पनि अवश्यम्भावी छ । धराने अल्ट्र सञ्चालन गर्न आवश्यक जग्गा छ । अल्ट्रालाइटलाई आवश्यक पर्याप्त नेपाली जनशक्ति छन् । ६८ लाखदेखि ८० लाखका हाराहारीमा किन्न सकिने अल्ट्रालाइट जहाज सञ्चालन गर्ने हैसियतका व्यावसायिक पर्यटन उद्यमीहरू छन् । धरान, इटहरी, विराटनगर, इनरुवा जस्ता स्वदेशी बजारदेखि विहार र पश्चिम बङ्गाल जस्तो विशाल विदेशी बजार पनि छ । मात्रै यी सबैको सन्तुलनमा धराने अल्ट्रालाइटको व्यावसायिक सञ्चालन भने छैन । समयले सञ्चालनको माग गरिरहेको छ ।
[email protected]