बिर्तामोड/ झापामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दो रहे पनि सेवा प्राप्त गर्न भने जटिल रहेको गुनासो सेवाग्रहीले गरेका छन् । सरकारले सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम २०७४ असोजदेखि लागू भएको हो ।

झापामा २० वटा स्वास्थ्य संस्थामार्फत् बिमितहरूलाई सेवा प्रदान गरिँदै आए पनि सरकारी तथा निजी अस्पतालहरूले दिने सेवा भने झण्झटिलो रहेको बिरामीको गुनासो रहेको छ । ८ लाख १२ हजार (२०६८ को जनगणना) जनसङ्ख्या रहेको झापामा हालसम्म २ लाख ८२ हजार ८०४ ले स्वास्थ्य बिमा गरेका छन् । यहाँ ८१ हजार परिवारले बिमा गरेको स्वास्थ्य बिमा बोर्ड झापाका कार्यालय प्रमुख लक्ष्मी कँडेलले बताइन् ।

झापामा २ वटा सरकारी अस्पताल ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, चारवटा आँखा अस्पताल र ८ वटा निजी अस्पतालले स्वास्थ्यसेवा प्रदान गर्दै आएका छन् । तर, सबै स्वास्थ्य संस्थाबाट दिइने सेवा भने खासै प्रभावकारी नभएको, १ हजार १०० प्रकारका औषधि दिने भनिएको भए पनि सो औषधि तोकिएको फार्मेसीले नदिएको बिर्तामोड–२ का बिरामी दिपा अधिकारीले गुनासो गरिन् । उनले भनिन्–‘पेटको समस्या लिएर मेची अञ्चल अस्पताल गएको थिएँ, त्यहाँ भिडियो एक्सरे त गरेँ, तर, रोग पत्ता लागेन, डाक्टरले विसेक हुन्छ भन्दै एउटा औषधि लेखिदिए ।

त्यो पनि निजी फार्मेसीबाट खरिद गर्नुप¥यो ।’ अधिकारी जस्तै बिर्तामोड १० का बिरामी दीक्षा पाठक मेची अञ्चल अस्पतालबाट रेफर लिएर बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार गर्न आइन् । लामो लाइन बसेपछि चेकजाँच त गरियो । तर, १० हजार रुपैंयाँ भन्दा बढीको औषधि निजी फार्मेसीबाट खरिद गर्नुपरेपछि मार्कामा परेको बताउँछिन् ।

अर्जुनधारा नगरपालिका–८ का धनपति गडतौलाले यस वर्ष स्वास्थ्य बिमा नवीकरण नै गरेनन् । स्वास्थ्य बिमा लागू भएको वर्ष परिवारकै बिमा गरेका उनले अनाहकमा २ हजार ५ सय खर्च भएको भन्दै यो वर्ष बिमा नगरेको बताए । बिरामी आमाका लागि औषधि लिन प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरे आएका गडतौलाले डाक्टरको प्रेसस्क्रिप्सन बमोजिमको औषधि नपाएपछि बिमा गर्नुको अर्थ नभएकाले यो वर्ष बिमामा खर्च नगरेको बताए । अहिले ५ जनाको परिवारको स्वास्थ्य बिमा शुल्क ३ हजार ५ सय रुपैंयाँ बुझाउनुपर्छ । सेवाग्राहीले १ लाख रुपैंयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ ।

उपचार गराउन ठुला अस्पतालमा दैनिक ३ सयभन्दा माथि र स्वास्थ्य केन्द्रहरूमा १ सय ५० को हाराहारीमा सेवाग्राही आउने गरेको शनिश्चरे स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी कमला राईले बताइन् । नेपाल सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बिमा लागू गर्ने घोषणा गरे पनि हालसम्म ४९ वटा जिल्लामा बिमा कार्यक्रम सञ्चालन भएको छ । झापाका १५ वटा स्थानीय तहमा १९८ जना दर्ता सहयोगीमार्फत् बीमा गराइँदै छ । तर, जति प्रचार भएको छ, त्यो बमोजिमको सेवा भने नपाएको अधिकांश बिरामीहरूको गुनासो छ ।

सेवा प्राप्त गर्न अति झण्झटिलो प्रक्रिया भएको हुनाले स्वास्थ्य बिमाप्रति सर्वसाधारण आकर्षित हुन नसकेका हुन् । एक त औषधि नै पाइँदैन, पाएको औषधि, ल्याब सुविधा र चेकजाँचमा उति नै हैरानी ब्यहोर्नुपरेपछि सर्वसाधारणले नवीकरण गर्न चासो नदेखाएको सरोकारवालाले बताएका छन् । नयाँ बिमकको सङ्ख्या बढे पनि नवीकरण गर्नेको सङ्ख्या भने घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।