विराटनगर/ गतवर्षको भ्यालेण्टाइन डे सप्ताह चलिरहेको बेला इटहरी उपमहानगरपालिका–४ माङ्हिममा प्रेमी–प्रेमिकालाई झस्काउने घटना भयो ।

वर्षौंदेखिको प्रेमसम्बन्ध र १० महिनादेखि इटहरी–४ मा लिभिङ टुगेदरमा बस्दै आएका थिए, खोटाङ ज्यामिरेकी ३५ वर्षीया सोनिया राई र ३६ वर्षीय प्रेमी सोलुखुम्बुका लालबहादुर राई । गतवर्षको माघ २८ गते सामान्य विवादमा राईले सोनियाको हत्या गरे । उनी अहिले थुनामा छन् ।

अर्को यस्तै घटना भयो गत १ भदौमा मोरङको ग्रामथान गाउँपालिका–३ सिद्राहमा । विराटनगर–१३ महतो टोलकी २२ वर्षीया शिखा घिमिरेलाई सोही ठाउँका उनका प्रेमी ३० वर्षीय दिनेश भट्टराईले धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेका थिए । आफूलाई धोका दिन लागेको आरोप लगाउँदै दिनेशले प्रेमिका शिखाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । दिनेशलाई मोरङ अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जीवित रहेसम्म कैदको फैसला गरेको छ । उनी अहिले मोरङ कारागारमा छन् ।

२३ माघमा विराटनगर–१२ मङ्गलवाको उखुबारीमा शव भेटिएकी सुनसरीको दुहबी नगरपालिका–६ की ३२ वर्षीया सम्झना खत्री परियारको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । सप्तरी कृष्णसरवण गाउँपालिका–३ घर भई हाल मोरङको बूढीगङ्गा गापा–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । अहिले मोरङ प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

अनैतिक सम्बन्ध रहेको खुल्ने डरले मोरङको सुनवर्षी नगरपालिका–३ खैरबारी स्थित एक महिलाले प्रेमीसँग मिलेर गतवर्षको कात्तिकमा आफ्नै श्रीमान्को हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रेमीसँगको अनैतिक सम्बन्ध श्रीमान्ले थाहा पाउने डरले सुनवर्षी नगरपालिकाकी ३५ वर्षीया फूलमुनी हेमरमले सोही ठाउँका २४ वर्षीय प्रेमी मदन मुर्मूसँग मिलेर ४२ वर्षीय पति सोई हेमरमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । हत्यामा संलग्न फूलमुनी र मदन अहिले थुनामा छन् ।

मन र मुटु नै दिएका प्रेमीबाटै हत्या भएका घटना पछिल्लो समय बढ्दै गएका छन् । १४ जिल्ला रहेको प्रदेश १ मा चार वर्षको प्रहरीको अभिलेखले हत्याको घटना कहिले घट्ने, कहिले बढ्ने गरेको देखिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कअनुसार ०७२÷७३ मा १ सय ३१ वटा हत्याको घटना भएको छ । जसमध्ये १ सय २८ जना पुरुष र २७ जना महिला पक्राउ परेका थिए ।

त्यस्तै ०७३/७४ मा हत्याको घटनामा वृद्धि आएको छ । यो आर्थिक वर्षमा १ सय ५१ वटा हत्याको घटनामा २ सय पुरुष र ३३ महिला संलग्न रहेको पाइएको छ । त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा हत्याको घटनामा कमी आएको छ । यस आर्थिक वर्षमा १ सय ८ वटा हत्याको घटनामध्ये १ सय २४ पुरुष र २६ जना महिला संलग्न छन् । त्यस्तै ०७५/७६ मा १ सय २ वटा हत्याको घटनामा १ सय १२ पुरुष र १८ जना महिला जोडिएको प्रदेश प्रहरीले जनाएको छ ।

चालू आर्थिक वर्ष ०७६/७७ को पुस महिनामा ५१ वटा हत्याको घटनामा ८७ पुरुष र ५ महिला संलग्न रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले जानकारी दिए । अशिक्षा, आर्थिक अभाव र वातावरणको प्रभावले गर्दा पनि हत्याको घटना नजिकको आफन्तबाट हुने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । विवेक र धैर्यतालाई अपनाउन नसक्दा पनि हत्याका घटना हुने गरेको उनले बताए । बेरोजगार व्यक्ति सधैँ खाली रहने र खाली समयमा अनावश्यक सोच्ने गर्दा आफू अनुकूल परिणाम नभएपछि अपराध गर्न उन्मुख हुने जानकारहरू बताउँछन् । यस्ता घटनामा लागूऔषध दुव्र्यसन, धूमपान र मध्यपान पनि कारकका रूपमा देखिएका छन् ।

वरिष्ठ मानसिक रोग विशेषयज्ञ डा. रोशन पोखरेलले अचानक स्वभाव परिवर्तन भई रिसाउने, झोक्किने, इण्टरनेटमा बढी झुम्मिने र फिल्म हेर्ने बानी देखिए चिकित्सकको सम्पर्कमा पुग्नुपर्ने बताएका छन् । ‘शान्त स्वभावका मान्छे कहिलेकाहीँ रिसाउनु स्वभाविक भए पनि पटक–पटक त्यस्तो हुन थाले चिकित्सकलाई देखाउनुपर्दछ’ उनले भने, ‘एक्लै बस्न रुचाउने, ढोका थुनेर आफ्ना नानीहरू बस्छन् भने लागूऔषधका लतमा परेका हुन सक्छन् । विस्तारै त्यस्ता मान्छे अपराधमा लाग्न पनि सक्छन् ।’ व्यवहारमा अचानक आएको परिवर्तन बुझ्नसके बढी परामर्श र थोरै औषधिबाट गलत बाटोमा जानबाट रोक्न सकिने डा. पोखरेलको सुझाव छ ।